आर्य मौन: मौनको गहिराइमा फुल्ने स्व–बोध!!

आर्य मौन: मौनको गहिराइमा फुल्ने स्व–बोध!!

184
SHARES

आर्य मौन: मौनको गहिराइमा फुल्ने स्व–बोध!!

ओशो आश्रम सौराहा नगएको एक वर्ष बितिसकेछ। कार्यक्रमहरू सञ्चालन भइरहन्छन् तर समयको व्यस्तता भनूँ कि ..? घरायसी समस्या के भनूँ..? जान पाएकी थिइन। मन हुँदाहुँदै पनि जान सकेकी थिइन। कार्यक्रमहरू भइरहन्थे । मित्रहरू”जाने होइन?” भनेर सोधिरहनुहुन्थ्यो। परमात्माले कहिले पठाउनुहुन्छ ? त्यो पनि परमात्मालाई छोडिदिएकी थिएँ। मेरो आफ्नो हातमा के थियो र..? सबै माथिकै हातमा त छ- विश्वास लिएकी थिएँ र छु पनि।

नभन्दै यही चैत्र १३ गतेदेखि १९ गतेसम्म “आर्य मौन”को सूचना ह्वाटसएप आयो। क्यालेन्डर पल्टाए, आफ्नो अनुकूल हेरे। सबै मिल्यो। लाग्यो, परमात्माले मेरै लागि यो आर्य मौनको कार्यक्रम बनाएको हो। मेरो मनस्थिति र परिस्थिति मिले पनि घरको परिवारसँग पनि अवश्य सोध्नु पर्ने हुन्छ। सबैलाई सोधे। सबैले स्वीकृति जनाउनु भयो। गत चैत्र १३ गतेको लागि बसको टिकट बुक गराए।

आज १२ गते। ह्वाटसएप हेर्दै थिएँ। ह्वाटसएपको ग्रुपमा यशोदा माजीले- “म राति १०-११ बजेतिर सौराहा आश्रम आइपुग्छु” भनेर मेसेज लेख्नुभएको रहेछ। मैले पढेँ। यसो घडी हेर्छु-दिउँसोको ३ बजिसकेको हुन्छ। उहाँ केमा जाने हुनुहुँदो रहेछ, सोध्न मन लाग्छ अनि उहाँलाई फोन गर्छु।

“तपाईँ केमा जाँदै हुनुहुन्छ माजी”-म सोध्छु।

उहाँले-“म गाडीमा जाँदैछु” भन्नुभयो।

“तपाईँ पनि जाने हो”- भनेर सोध्नुभयो।

मैले “भोलिको बसको टिकट बुक गराएकी छु” भने।

उहाँले “किन बसमा जाने? गाडी खाली छ, आउनुहोस् सँगै जाऊँ” भन्नुभयो।

म बानेश्वर, उहाँ भीमसेन गोला हामी नजिकै बस्छौँ। मैले यसो घडी हेरेँ। दिनको साढे तीन बजिसकेको थियो। घरमा नातिनी र म सिवाय कोही थिएन। छोरा-बुहारी आउन समय लाग्थ्यो। छोरालाई फोन गरे। उसले “हुन्छ मम्मी जानुस् म आउँछु”भन्यो।

तुरुन्तै लुगा लगाए। उहाँहरू ४ बजे आउनुभयो। छोरा पनि आयो। यसरी हामी सँगै गयौँ। रातको १० बजे सौराहा पुगियो। भोलिपल्टदेखि आर्य मौन थियो। यसरी परमात्माले-“त चिता म पुर्‍याउँछु”भन्छ।“ हामीले कुशल भावनाले,मङ्गल भावनाले चिताउनुपर्छ पुर्‍याउने सबै उही हो।

गुरुङ दाइले कोठामा पानी ल्याएर राखिदिनुभयो। भोलिदेखिको समय तालिका पनि दिनुभयो। बिहान ४ बजे देखि बेलुका ८ बजे सम्मको समय तालिका रहेछ। सधैँ झैँ बिहान ४ बजे उठियो। आफ्नो दैनिक क्रिया सकेर सवा पाँच बजे धम्महलमा उपस्थित हुनुपर्थ्यो। उपस्थित भए। मैत्रेय स्वामीजीले पहिला अनापान गराउनु भयो। मैले अनापानसँगै अनुपस्यनाहरु पनि गर्दै गए। कतिबेला साढे छ बज्यो थाहा भएन। साढे छ बजे बिहानको नास्ताको समय दिइएको थियो। नास्ता र भोजनको समयबाहेक र केही क्षण भोजनपछि विश्राम बाहेक बेलुका ८ बजेसम्म मौन ध्यानमा बस्नुपर्थ्यो। सात दिनसम्म कसैसँग बोल्न तथा हेर्न पाइँदैनथ्यो। सात दिन पूरा गरे। रमाइलो भयो। आउँदा यशोदा माजीकै गाडीमा हामी आयौँ।

अब प्रश्न आउन सक्छ।

आनापान के हो ?

अनुपस्यनाहरु के हुन?

आर्य मौन के हो? किन गरिन्छ ?

विज्ञान भैरव तन्त्रमा ११२ विधिहरू वर्णित छन्। यी मध्ये आनापान पहिलो विधि हो। आनापान भन्नाले “श्वास-प्रश्वासमा ध्यान केन्द्रित गर्ने ध्यान विधि” हो।

“अन”भन्नाले श्वास भित्र लिनु, “अपान”भन्नाले श्वास बाहिर फ्याँक्नु हो। श्वास लिनु र फ्याँक्नुको प्रक्रिया साक्षी भएर हेर्नु, त्यसमा सजग भएर रहनु नै “आनापान” हो।”

भगवान् शिव र देवी पार्वतीबीचको संवाद हो-विज्ञान भैरव तन्त्र। यो ग्रन्थको सुरुवात देवीको जिज्ञासाबाट हुन्छ। देवीका प्रश्नहरू दार्शनिक प्रकृतिका भए पनि भगवान् शिवले ती प्रश्नहरूको उत्तर दार्शनिक ढङ्गले होइन, तरअस्तित्वगत रूपमै दिनुभएको छ।

यसमा भगवान् शिव पार्वतीलाई भन्नुहुन्छ-“आउने–जाने श्वासको प्रति सजग बन्। जब श्वास भित्रिन्छ, तिमी त्यसलाई केवल हेरिरहूँ। जब श्वास बाहिरिन्छ, त्यसलाई पनि हेरिरहूँ। यही साधना गर, यही पर्याप्त छ।

धेरै बौद्धहरूले “विज्ञान भैरव तन्त्र”लाई बौद्ध ग्रन्थ भएको दाबी गर्छन् यद्यपि शिवनै पहिलो व्यक्ति हुन् जसले यो विधि बताउनु भयो ।बुद्धले यसको प्रयोग गर्नुभयो। बुद्ध त्यसै विधिको कारण बुद्ध हुनुभयो। तर विधि त बुद्धभन्दा पहिले नै थियो।

तर सत्य के हो भने,ध्यान न त हिन्दु हो, न बौद्ध। ध्यान त मानव चेतनाको गहिरो विज्ञान हो। श्वास सजगताको यो विधि सम्पूर्ण मानवताका लागि साझा उपहार हो।

अहिले यो बौद्ध विधिको रूपमा प्रसिद्ध छ। हामीले यसलाई बौद्ध ध्यान-विधि भनेर चिन्दछौँ किनकि बुद्धले यही विधिबाट निर्वाण प्राप्त गरेका थिए। यो विधि सबैभन्दा सरल, स्पष्ट र प्रभावकारी ध्यान–मार्ग मानिन्छ।

अतः यो अति प्राचीन र वैज्ञानिक ध्यान विधि हो, जसको दैनिक अभ्यासले आउने-जाने श्वासको अवलोकन पछि मन स्वतः शान्त हुन्छ।मानसिक तनाव हराउँदै जान्छ, मन बारम्बार भाग्ने बानी कम हुँदै, सजगताको विकास हुन्छ। श्वासप्रति सजग हुँदै हामी वर्तमान क्षणमा बस्न सिक्छौँ। आन्तरिक शान्तिको अनुभव हुन्छ। कुनै बाह्य साधन चाहिँदैन, केवल आफ्नो श्वाससँग मित्रता गरेर शान्ति अनुभूति हुन्छ।निन्द्रा राम्रो लाग्छ। नियमित अभ्यासले अनिद्रा वा बेचैनी घटाउँछ। शरीरको प्रणालीहरू सन्तुलनमा रहन्छन् तथा रोग प्रतिरोधक शक्ति बलियो हुन्छ।

अनापानले मनलाई स्थिर गर्छ। अनापान पछि अनुपस्यना गरिन्छ। अनुपस्यना संस्कृत शब्द हो। अनुपस्यना दुई शब्द मिलेर बनेको छ।

“अनु”भनेको अनुसरण गर्ने, पछि-पछि हेर्ने हो भने“पस्यना”भनेको अवलोकन गर्ने हो। अतः“अनुपस्यना”भन्नाले “गहिरो तरिकाले हेर्ने”, “पुनः पुनः अवलोकन गर्ने”, वा “ध्यानपूर्वक निरीक्षण गर्ने”भन्ने अर्थ दिन्छ। अनुपस्यना चार प्रकारको हुन्छ-कायनुपश्यना, चित्तानुपश्यना धम्मानुपश्यना र वेदनानुपश्यना। शरीर, चित्त, धम्म र वेदनाहरूलाई गहिरो रूपमा अवलोकन गर्नु नै अनुपश्यनाको परिभाषा हो।

किनकि, मानव शरीरका ज्ञानेन्द्रियहरू (जस्तै आँखा, कान, नाक, जिब्रो, छाला) जब कुनै बाह्य दृश्य, आवाज, गन्ध, स्वाद वा विचारसँग सम्पर्कमा आउँछन्, तब शरीरमा कुनै न कुनै प्रतिक्रिया अवश्य हुन्छ। त्यो प्रतिक्रिया सुखद, दुःखद, तटस्थ जस्तोसुकै भए पनि हुन्छ नै। यो प्रक्रिया कसरी हुन्छ भन्ने कुरा उदाहरण मार्फत बुझौँ।

मानौँ, कानले कुनै शब्द सुनिएपछि मनले त्यस शब्दलाई मूल्याङ्कन गर्छ। यो सम्मानको शब्द हो अथवा अपमानजनक शब्द हो। यो बुझेपछि ‘वेदना’ वा ‘संवेदना’ उत्पन्न हुन्छ। त्यो संवेदनाले मनमा असर पार्छ, र मनले शरीरभित्रका अन्तःस्रावी ग्रन्थिहरूमा प्रभाव पार्छ। त्यसको परिणामस्वरूप ती ग्रन्थिहरूबाट विशेष प्रकारका रस निस्कन थाल्छन्। त्यसकै प्रभावले मुटुको धड्कन बढ्छ, अनुहार रातो र तमतमिएको हुन्छ। मुखबाट अपशब्दहरू पनि निस्कन थाल्छन्। यसरी, केवल एक शब्द सुनेर सुरु भएको प्रक्रिया अन्ततः क्रोधमा परिणत हुन्छ। एउटा मानसिक विकारले शरीरमा पूर्णरूपमा कब्जा गर्छ।

विपश्यना ध्यानमा यिनै सूक्ष्म संवेदनाहरूको निरीक्षण र अवलोकन गरिन्छ, ताकि मनले स्वचालित प्रतिक्रिया जनाउने पुरानो आदतलाई तोड्न सकियोस्। यही नै ‘वेदना बुझेर विमुक्त हुने’ मार्ग हो। यो ध्यान अभ्यासले मानसिक स्थिरता, आत्म-निरीक्षण, र गहिरो शान्ति प्रदान गर्छ।

आनापान र विपश्यना अवधिभर हामी मौन हुनुपर्छ। मन, वचन र विचार सबैलाई शान्त राख्ने अवस्था हो-यो। यो समष्ट प्रक्रियालाई“आर्य मौन” भनिन्छ। भित्र र बाहिर दुवै रूपमा पूर्ण शान्त र सचेत भएर बस्नु नै “आर्यमौन”हो।

“आर्य मौन”शब्द दुई भागबाट बनेको छ-“आर्य”-श्रेष्ठ, पवित्र, उच्च चेतनाको व्यक्ति हो भने “मौन”- शान्ति, नबोल्ने अवस्था हो। यसैले “आर्यमौन”भन्नाले श्रेष्ठ चेतनाबाट उत्पन्न भएको गहिरो मौनता जनाउँछ।

“आर्य मौन”को अवधारणा प्राचीन दर्शन र साधनामा भेटिन्छ। यो अवधारणा विशेषगरी हिन्दु, बौद्ध र योग परम्परामा विकसित भएको हो। प्राचीन ऋषि-मुनिहरूले बाह्य शब्दभन्दा अन्तर्मनको शान्तिलाई महत्त्व दिएका थिए।

उपनिषदहरूमा भनिएको छ कि-परम सत्य (ब्रह्म) शब्दभन्दा पर हुन्छ,त्यसलाई बुझ्न मौन र ध्यान आवश्यक हुन्छ। यसैले, मौनता केवल नबोल्ने होइन, आत्मज्ञान प्राप्त गर्ने माध्यम मानिएको थियो।

भगवान् बुद्धले पनि “आर्यमौन”को अभ्यास गर्न सिकाउनु भएको थियो। उहाँले कहिलेकाहीँ गहिरा प्रश्नहरूको उत्तर मौनमै दिनुहुन्थ्यो, किनकि केही सत्यहरू शब्दले होइन, अनुभवले मात्र बुझ्न सकिन्छ। विपश्यनामा “आर्य मौन”को अभ्यास गरिन्छ,जहाँ साधकले बोल्नमा, हेर्नमा, प्रतिक्रिया दिनमा सजग मौनता अपनाइन्छ।

पतञ्जलि योग सूत्रमा चित्तवृत्ति निरोध (मनको तरङ्ग शान्त गर्नु)लाई नै योग भनिएको छ-यही अवस्थासँग “आर्यमौन”सम्बन्धित छ।

“आर्य मौन”को उद्देश्य मनको द्वन्द्व समाप्त गर्नु, आत्मालाई अनुभव गर्नु, भित्री शान्ति प्राप्त गर्नु, अहङ्कार र अनावश्यक विचारबाट मुक्त हुनु हो। यो अवस्थामा मानिस बोल्दा पनि मौन हुन्छ,र मौन हुँदा पनि पूर्ण रूपमा जागरूक हुन्छ।

सामान्य जीवनमा मानिसको मन सधैँ विचार, चिन्ता, डर र इच्छाले भरिएको हुन्छ, जसले अशान्ति र तनाव सिर्जना गर्छ। यदि बाहिर मौन छ तर मनभित्र निरन्तर सोच र द्वन्द्व चलिरहेको छ भने त्यो साँचो मौन होइन। साँचो “आर्य मौन” त्यतिबेला हुन्छ जब मन स्थिर हुन्छ, विचारहरू शान्त हुन्छन्, र व्यक्ति पूर्ण रूपमा वर्तमान क्षणमा उपस्थित हुन्छ।

आर्य मौनको अभ्यासले यी सबै मानसिक हलचललाई शान्त पार्दै व्यक्तिलाई आफ्नै चेतनासँग जोड्छ। यसले स्व-बोध बढाउँछ र मानिसलाई आफ्नो वास्तविक स्वभाव चिन्ने अवसर दिन्छ। यसले मानसिक शान्ति ल्याउँछ, तनाव घटाउँछ, भावनात्मक सन्तुलन कायम गर्छ र ध्यानलाई अझ गहिरो बनाउँछ। साथै, मानिसको बोलीमा सुधार आउँछ, किनकि ऊ कम बोल्छ तर अर्थपूर्ण बोल्छ। ऊर्जा पनि बचत हुन्छ र जीवनप्रति सकारात्मक दृष्टिकोण विकास हुन्छ।

आफ्नो भित्रको सत्यलाई अनुभव गर्न र साँचो आनन्द पाउन आर्य मौनको अभ्यास गरिन्छ। बाहिरी संसारमा खुसी खोज्दा त्यो क्षणिक मात्र हुन्छ, तर आर्य मौनले भित्री शान्ति र स्थायी आनन्द दिन्छ। यसले मानिसलाई वर्तमानमा बाँच्न सिकाउँछ, विगतको पछुतो र भविष्यको चिन्ता कम गर्छ।

आधुनिक जीवनमा, जहाँ मानिसहरू धेरै तनाव, दौडधुप र मानसिक दबाबमा छन्, आर्य मौन अझ महत्त्वपूर्ण भएको छ। ध्यान, योग, प्राणायाम जस्ता अभ्यासहरूसँग मिलाएर आर्य मौन अपनाउँदा मानिसले आफ्नो जीवनलाई सन्तुलित, शान्त र अर्थपूर्ण बनाउन सक्छ।आर्य मौन कुनै साधारण मौनता होइन, यो एक गहिरो आत्मिक यात्रा हो। यसले मानिसलाई बाहिरी कोलाहलबाट टाढा लैजाँदै आफ्नो भित्री शान्ति, सत्य र आनन्दसँग जोड्छ।

यसरी हामीले आनापान, विपश्यना गर्दै आर्य मौनको अवधि पूरा गर्‍यौ जसले हामीलाई झन् ताजगी र सजगता दिएको छ। अतः आर्य मौन शब्दभन्दा परको शान्ति र स्व-बोधको गहिरो अनुभव हो।

समाचार शेयर गर्नुहोस्
184
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.