१३ औँ शताब्दीको महागौरी/पार्वतीको प्रस्तर मूर्ति आफ्नै आसनमा फिर्ता

१३ औँ शताब्दीको महागौरी/पार्वतीको प्रस्तर मूर्ति आफ्नै आसनमा फिर्ता

112
SHARES

काठमाडौँ – विभिन्न समयमा चोरी भएर विदेशका सङ्ग्रहालयमा पुगेका प्राचीन मूर्ति फिर्ता गर्ने र सङ्ग्रहालयमा राखिएका मूर्तिलाई आफ्नै आसनमा फिर्ता गराउने कामलाई काठमाडौँ महानगरपालिकाले प्राथमिकता साथ अगाडि बढाएको जनाएको छ।

विश्व सम्पदा दिवसको अवसर पारेर शनिवार राष्ट्रिय सङ्ग्रहालय, छाउनीमा राखिएको १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति वडा नं. २० मरुस्थित गःगुठि सूर्यमुखी महादेव मन्दिर परिसरको आफ्नै आसनमा पुनस्थापित गरिएको छ।

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धर, सम्पदा अभियानकर्ता द्वय गणपतिलाल श्रेष्ठ र अधिवक्ता सञ्जय अधिकारीले सङ्ग्रहालयको जुद्धजातीय कलाशालामा राखिएको यो मूर्ति बुझेर ल्याएका हुन्।

सङ्ग्रहालयका प्रमुख अरुणा नकर्मी, हनुमानढोका हेरचाह अड्डाका प्रमुख काजीमान प्याकुरेल, राष्ट्रिय सङ्ग्रहालयका सङ्ग्रहालय अधिकृत सुवासकृष्ण डङ्गोल र पुरातत्त्व विभागका पुरातत्त्व अधिकृत अमृता महर्जनको रोहवरमा सङ्ग्रहालयका भण्डारे विन्दा श्रेष्ठ र सहायक पथ प्रदर्शक उषाकुमारी सिंहले मूर्ति बुझाए। मूर्तिको नाप ६८.५ सेन्टिमिटर उचाइ र ३०.५ सेन्टिमिटर चौडाइको छ।

कार्यवाहक प्रमुख डङ्गोलले ‘काठमाडौँ खुला सङ्ग्रहालय हो। यहाँ कला कौशल मात्र होइन। साङ्केतिक रूपमा ज्ञान, विज्ञान र जीवनसँग सम्बन्धित शिक्षा अध्ययन पाइन्छ। यस्ता महत्वका आकृति तथा कलाकृति समाजमै राख्नुपर्छ। समुदायमै सुरक्षित हुने वातावरण बनाउनुपर्छ भनेर पुनःस्थापित गर्ने निर्णय गरेका हौँ ’ भनिन्।

महानगरपालिकाको प्रतिष्ठा र पहिचानमा एउटा इँटा थपिएको छ। सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत भन्छन्, ‘काठमाडौँको पहिचान जोगाउनु हाम्रो मुख्य दायित्वमध्येको एउटा दायित्व हो। यसप्रति हामी प्रतिबद्ध छौँ। नियमित काम गरिरहन्छौँ।’ वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धरले मूर्तिको सुरक्षा र संरक्षणका लागि स्थानीय समुदाय प्रतिबद्ध रहेको बताए।

चोरिएर लन्डन पुगेको यो मूर्ति, नेपाली दूतावास बेलायतबाट फिर्ता भएपछि पुरातत्त्व विभागले २०५२ साल चैत २९ गते राष्ट्रिय सङ्ग्रहालयमा सुरक्षित राख्न पठाएको थियो।

हनुमानढोका दरबार क्षेत्रमा भएका सम्पदाहरूको संरक्षण र व्यवस्थापनका लागि २०८३ वैशाख २ गते महानगरपालिकाका कार्यवाहक प्रमुखको अध्यक्षतामा बसेको बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वडा नं. १९ का अध्यक्ष राजेशकुमार श्रेष्ठ, २० का अध्यक्ष राजेन्द्र मानन्धर, पुरातत्त्व अधिकृत देवेन्द्र भट्टराई, हनुमानढोका हेरचाह अड्डाका प्रमुख काजीमान प्याकुरेल, गुठी संस्थानका सिनियर डिभिजनल इन्जिनियर शालिक सुवेदी, कार्यालय प्रमुख हरिप्रसाद सुवेदी, शार्दुलजंग गुल्मका सेनानी सुमितराज मल्ल, प्रहरी वृत्त, जनसेवाका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर थापासहित अधिकारीहरू सहभागी थिए।

बैठकले महानगरपालिकाका प्रमुखको अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत, सम्पदा तथा पर्यटन समितिका संयोजक, वडा नंं १९, २०, २३ र २४ का अध्यक्ष, पुरातत्त्व विभागका महानिर्देशक, गुठी संस्थानका प्रमुख र स्थानीय सुरक्षा निकायका कार्यालय प्रमुखहरू सदस्य रहने समिति गठन गरेको छ। यस्तै हनुमानढोका हेरचाह अड्डाका प्रमुखको संयोजकत्वमा विभिन्न कार्यालयका प्रतिनिधि, गुठियार र स्थानीय सहितको १८ सदस्यीय अध्ययन समिति गठन गरेको छ। यसमा वडा नं. १९, २०, २३ र २४ का अध्यक्षहरूलाई सल्लाहकार राखिएको छ।

बैठकले हनुमानढोका सम्पदा क्षेत्रको गरिमा बढाउन तत्काल, अल्पकालीन र दीर्घकालीन योजनाका साथ गर्नु पर्ने काम, उपयोग र संरक्षणमा स्थानीयको सहभागिता, आगन्तुकहरूले पालना गर्नु पर्ने मर्यादा लगायत विषयमा छलफल भएको थियो। यही बैठकले महागौरी/पार्वतीको मूर्ति फिर्ता ल्याउन वडा नं. २० का अध्यक्ष मानन्धरको संयोजकत्वमा समिति गठन गरिएको थियो।

विश्वभरि हरेक दिन मानिसहरू कुनै न कुनै संस्कार र संस्कृति चलिरहेका हुन्छन्। फरक ठाउँका प्रत्येक मानिससँग सम्बन्ध राख्ने संस्कृतिलाई साझा रूपमा मनाउन हरेक वर्ष अंग्रेजी महिनाको अप्रिल १८ तारिख इन्टरनेशनल डे फर मोनुमेन्ट्स एन्ड साइट्स अर्थात् विश्व सम्पदा दिवसका रूपमा मनाउने गरिन्छ। इन्टरनेशनल काउन्सिल अन मोनुमेन्ट्स एन्ड साइट्स (स्मारक क्षेत्रहरूको अन्तर्राष्ट्रिय परिषद्) ले दिवस मनाउन सुरु गरेको हो।

यो सन् १९६५ मा स्थापना भएको हो। परिषद्ले सन् १९८२ मा दिवस मनाउन राखेको प्रस्ताव त्यसको १ वर्षपछि युनेस्कोले पारित गरेपछि अन्तर्राष्ट्रिय रूपमा दिवस मनाउन थालिएको हो। नेपालमा भने सन् २०१० बाट दिवसलाई औपचारिक रूपमा मनाइन्छ।

समाचार शेयर गर्नुहोस्
112
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.