काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष तथा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन्। धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा उनी पक्राउ परेका हुन्।
धितोपत्र बजारसँग सम्बन्धित अनियमितताको प्रारम्भिक लहरो तान्दै जाँदा पहरो नै गर्जिएको सङ्केत देखिएको छ, जहाँ प्रारम्भिक अनुसन्धानले केवल एक व्यक्तिमात्र नभई संस्थागत तहसम्मको मिलेमतोको आशङ्का औँल्याएको छ।
धितोपत्र बजारमा देखिएको अनियमित कारोबार, कृत्रिम माग सिर्जना, उधारो सेयर किनबेच र प्रभावशाली व्यावसायिक समूहसम्म पुगेको अनुसन्धानले हलचल उत्पन्न भएको देखिएको छ। शेयर बजारसँग जोडिएको यो प्रकरणले वित्तीय क्षेत्र, व्यावसायिक वृत्त र नियामक निकायभित्र व्यापक तरङ्ग सिर्जना गरेको छ।
नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा काठमाडौं जिल्ला नागार्जुन नगरपालिका वडा नं. ८ बस्ने हुलासचन्द्र गोल्छाका छोरा, ५९ वर्षीय शेखर गोल्छालाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जनाएको छ।
बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन, २०८३ अनुसार गोल्छा लगायतको संलग्नतामा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिम कसूर भएको आरोप लगाइएको छ। प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा उनीसहित अन्य व्यक्तिहरूको मिलेमतोमा धितोपत्र बजारमा गैरकानुनी गतिविधि, सेयर मूल्यमा अस्वाभाविक चलखेल तथा दोस्रो बजार प्रणालीलाई प्रभावित पार्ने गरी कारोबार गरिएको छ।
अनुसन्धानको दायरा विस्तार हुँदै जाँदा यस प्रकरणमा अन्य प्रभावशाली व्यक्ति र संस्थाको भूमिका समेत खोतलिने सङ्केत देखिएको छ, जसले धितोपत्र बजारको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ। सिआइबीका अनुसार गोल्छा समेतको मिलेमतोमा धितोपत्र बजारको स्वच्छता र पारदर्शितामाथि गम्भीर असर पर्ने प्रकृतिको कसूर भएको देखिएको छ।
धितोपत्रको लहरो तान्दै जाँदा आर्थिक प्रभाव र पहुँचको बलमा संस्थागत निर्णयहरू प्रभावित पारिएको आशङ्का बलियो बन्दै गएको छ। यसले धितोपत्र बजारभित्रको शक्ति संरचना र पहुँचका तहहरूमा गहिरो प्रश्न उठाएको छ।
धितोपत्र ऐनको दफा १०३ को उपदफा (३) बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि ब्युरोमा प्राप्त हुन आएकोमा जाँचबुझ प्रतिवेदन अनुसार काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमति लिई गोल्छालाई काठमाडौँको नक्सालबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको सिआइबीले विज्ञप्ति निकालेर जानकारी दिएको छ।
धितोपत्र बजारमा देखिएको अनियमितताको जरो माथिल्लो तहसम्म फैलिएको सङ्केत दिएको छ। सतहमा देखिएको सामान्य कारोबारको विषय जस्तो लागे पनि, अनुसन्धानको दायरा फराकिलो बन्दै जाँदा धितोपत्रको लहरो तान्दा पहरो नै गर्जिएको अवस्था देखिएको छ।
धितोपत्र बजारमा सुरु भएको यो अनुसन्धानको लहरो अहिले प्रभावशाली व्यावसायिक घरानासम्म पुगेसँगै प्रकरणले थप गम्भीर मोड लिएको छ। नियामक निकायको निगरानी, संस्थागत जबाफदेहिता र बजार अनुशासनमाथि गम्भीर बहस सिर्जना गरेको छ। अबको अनुसन्धानले यस प्रकरणमा संलग्न भनिएका अन्य तह र पात्रहरूको भूमिका उजागर गर्ने अपेक्षा गरिएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.