कक्षा १२ को परीक्षा सुरु : ‘अन्य’ लैङ्गिक पहिचानका २९ विद्यार्थी सहभागी

कक्षा १२ को परीक्षा सुरु : ‘अन्य’ लैङ्गिक पहिचानका २९ विद्यार्थी सहभागी

98
SHARES
तस्बिर : गोरखापत्र अनलाइन

काठमाडौं – माध्यमिक शिक्षा उत्तीर्ण कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ। परीक्षामा नियमिततर्फ ५ हजार ३३९ विद्यालयका ३ लाख ३२ हजार १७८ विद्यार्थी सहभागी छन्। नियमिततर्फ १ लाख ७२ हजार १२ छात्र, १ लाख ६० हजार १३७ छात्रा तथा अन्य लैङ्गिक पहिचानका २९ जना परीक्षार्थी रहेका छन्।

कक्षा १२ को परीक्षामा आंशिकतर्फ ८५ हजार ८३० जना सहभागी हुनेछन्। यससँगै नियमित र आंशिकतर्फ गरी कुल ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी भएका छन्। यो जानकारी राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरले दिएको हो।

नेपालमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका विद्यार्थीहरू अब आफ्नो पहिचान खुलाएर नै परीक्षामा सहभागी हुन थालेका छन्। पुरुष र महिला भन्दा भिन्न लैङ्गिक पहिचानलाई राज्यबाट औपचारिक मान्यता दिलाउने आन्दोलनमा सुनिल बाबु पन्तले खेलेको भूमिका ऐतिहासिक मानिन्छ।

लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूले पन्तको योगदानलाई आफ्नो पहिचान, सम्मान र अधिकार स्थापनाको आधारस्तम्भका रूपमा लिने गरेका छन्। पन्तविरुद्ध नेपाल सरकार रहेको रिटमा सर्वोच्च अदालतले २०६४ साल पुस ६ गते दिएको निर्देशनात्मक आदेश पुरुष र महिला भन्दा भिन्न पहिचान भएका व्यक्तिहरूका लागि ऐतिहासिक टर्निङ प्वाइन्ट बनेको थियो। उक्त आदेशले नेपालमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको संवैधानिक, कानुनी र सामाजिक मान्यता स्थापित गर्ने मार्ग प्रशस्त गरेको थियो।

सर्वोच्च अदालतको आदेशपछि २०६९ साल पुसमा गृह मन्त्रालयले जारी गरेको परिपत्रमार्फत नागरिकता, राहदानी, मतदाता नामावलीलगायत सरकारी अभिलेखमा ‘अन्य’ लैङ्गिक पहिचान समावेश गर्ने बाटो खुलेको थियो।

नेपालको संविधानको धारा १२ ले लैङ्गिक पहिचानका आधारमा नागरिकता प्राप्त गर्ने मौलिक अधिकार सुनिश्चित गरेको छ। लैङ्गिक तथा यौनिक अल्पसंख्यक (समलिङ्गी, तेस्रोलिङ्गी, अन्तरलिङ्गी) व्यक्तिहरूको पहिचानसहित समान अधिकारको माग उठाउने पन्त संविधानसभामा निर्वाचित हुने पहिलो खुला समलिङ्गी सभासद् हुन्।

यो पनि : १६३५ जनाले लिए ‘अन्य’ पहिचानमा नागरिकता

संवैधानिक व्यवस्थाअनुसार नागरिकता ऐन तथा नियमावलीमा संशोधन गरी ‘पुरुष’, ‘महिला’ र ‘अन्य’ लैङ्गिक पहिचानका आधारमा नागरिकता प्रदान गर्ने व्यवस्था कार्यान्वयनमा आएको छ। यही कानुनी मान्यताका कारण अन्य लैङ्गिक पहिचान भएका विद्यार्थीहरू पनि आफ्नो वास्तविक पहिचानसहित राष्ट्रिय परीक्षामा सहभागी हुन सकिरहेका छन्। यसलाई समुदायले दशकौँ लामो अधिकार आन्दोलनको मूर्त उपलब्धिका रूपमा लिएको छ।

कक्षा १२ को परीक्षामा परीक्षार्थी सङ्ख्याका आधारमा सबैभन्दा कम मनाङ जिल्ला मा ३१ जना र सबैभन्दा बढी काठमाडौं जिल्लाबाट ६४ हजार ३३८ जना परीक्षार्थी रहेका छन्।

नेपालभर १ हजार ४२० र जापानमा १ गरी कुल १ हजार ४२१ परीक्षा केन्द्र निर्धारण गरिएको छ। काठमाडौँमा सबैभन्दा बढी १६१ वटा परीक्षा केन्द्र तोकिएका छन् भने मनाङ जिल्ला र मुस्ताङ जिल्ला मा एक–एक वटा केन्द्र निर्धारण गरिएको छ। जापानस्थित परीक्षा केन्द्रमा ३९ जना परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ।

परीक्षा बोर्डले शान्त, मर्यादित र व्यवस्थित वातावरणमा परीक्षा सञ्चालन गर्न शिक्षक, कर्मचारी, अभिभावक, जनप्रतिनिधि, राजनीतिक दल, सेवा प्रदायक सङ्घ–संस्था, विभिन्न जनवर्गीय संस्था, पत्रकार तथा सबै सरोकारवालासँग सहयोगका लागि अनुरोध गरेको छ।

परीक्षा सञ्चालन अवधिभर केन्द्राध्यक्षबाहेक अन्य कसैले पनि परीक्षा केन्द्रमा मोबाइल फोन लैजान पूर्णतः निषेध गरिएको बोर्डले स्पष्ट पारेको छ। परीक्षार्थीलाई परीक्षा हलभित्र मोबाइल फोन, स्मार्ट घडी तथा लोडेड डकुमेन्ट नभएको क्यालकुलेटरबाहेक अन्य कुनै पनि इलेकट्रोनिक उपकरण लैजान निषेध गरिएको छ।

मोबाइल फोन प्रयोग गरेको पाइएमा सम्बन्धित परीक्षार्थीको सम्पूर्ण विषयको परीक्षा रद्द गरिने व्यवस्था गरिएको छ। यसबारे केन्द्राध्यक्षमार्फत अभिभावक र परीक्षार्थीलाई पूर्वजानकारी गराइसकिएको बोर्डले जनाएको छ।

कक्षा १२ को परीक्षामा कम श्रवणशक्ति भएका, दृष्टिविहीन, सुस्त मनस्थिति भएका वा अन्य प्रकारका अपाङ्गता भएका परीक्षार्थीका लागि विशेष व्यवस्था गरिएको छ। साथै, कारागार वा बालसुधार गृहमा रहेका परीक्षार्थीलाई समेत परीक्षा दिने व्यवस्था मिलाइएको परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले जानकारी दिए। परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ। वैशाख २७ गते परीक्षा सकिनेछ।

समाचार शेयर गर्नुहोस्
98
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.