जङ्गलको एक कुनामा, अरू रूखहरूजस्तै साधारण देखिने एउटा सानो बिरुवा उम्रिएको थियो। तर समयसँगै, माटोको उर्वरता, प्रकृतिको साथ र आफ्नै जरा टाढाटाढासम्म फैलाउने सामर्थ्यका कारण, त्यो बिरुवा छिट्टै एक विशाल रूखमा परिणत भयो।
उसका हाँगाहरू आकाशतिर फैलिँदै गए, बिँगा चारैतिर पसारिए। चराचुरुङ्गी आए, गुँड बनाए, बच्चा हुर्काए र उडे। ऋतु फेरिएसँगै, उसका हाँगामा मीठा फलहरू लहलहाए।
तर उचाइसँगै उसमा एउटा अदृश्य बीउ पनि पलायो; अहङ्कारको।
उसले सोच्न थाल्यो, “म सबैभन्दा ठूलो छु। मेरा फलहरू सबैभन्दा रसिला छन्। सबै मप्रति आकर्षित छन्। मलाई कसैले केही गर्न सक्दैन।”
उसको यो मौन घमन्ड हावामा मिसिन थाल्यो।
एक दिन, त्यहाँ एउटा बिँडबिनाको बन्चरो आयो। धारिलो फलाम भए पनि, समात्ने बिँड नभएकाले ऊ असहाय थियो।
रूखले हाँस्तै भन्यो-
“तँले मलाई के नै गर्न सक्छस्?”
त्यस क्षण बन्चरो केही नबोली फर्कियो।
दिनहरू बिते।
फेरि एक दिन, उही बन्चरो त्यही बाटो हुँदै आयो। तर यसपटक उसको स्वरूप बदलिएको थियो। अब उसमा काठको बिँड थियो। र त्यो बिँड, विडम्बना, त्यही रूखको भाँचिएको हाँगाबाट बनेको थियो।
रूखले फेरि खिसीट्युरी गर्यो।
तर यसपटक बन्चरो दृढ थियो।
एक प्रहार।
अनि अर्को।
अनि फेरि अर्को गर्दै रुखलाई काट्न थाल्यो ।
रूखले महसुस गर्न थाल्यो; उसको बल बाहिर होइन, भित्रैबाट खस्किँदैछ।
जति काटिँदै गयो, त्यति ऊ आफ्नै भित्रबाट खाली हुँदै गयो।
ढल्नुअघि, गहिरो पीडामा डुबेर रूखले बन्चरोलाई भन्यो
“आज मलाई तँ फलामले होइन… मेरै अंशले हरायो।”
********
त्यही जङ्गलको एकान्तमा बस्ने एक साधुले यो सम्पूर्ण दृश्य मौन साक्षी बनेर हेरिरहेका थिए।
उनको मनमा सकल मानिसका लागि उपयोगी एउटा सत्य झल्कियो:
“मानिसलाई हराउने सबैभन्दा ठूलो शक्ति बाहिर हुँदैन, भित्र लुकेको हुन्छ।
बन्चरोको फलाम बाहिरी संसार हो; आलोचना, विरोध र सङ्घर्ष।
तर बिँड हाम्रो आफ्नै मन हो; अहङ्कार, लोभ, डर र अज्ञानता।
जबसम्म मन दृढ हुन्छ, संसारका कुनै पनि प्रहारहरूले हामीलाई ढाल्न सक्दैनन्।
तर जब मनमै कमजोरी पलाउँछ, त्यही कमजोरीले बाहिरी शक्तिलाई आमन्त्रण गर्छ।”
साधु केही बेर मौन रहे, अनि फेरि सोच्न थाले:
“इतिहासले पनि यही भन्छ।
रावण शक्तिशाली थियो, तर उसको पतन बाहिरी शक्तिले होइन, आफ्नै अहङ्कारले निम्त्यायो। विभीषण त केवल निमित्त बने।”
उनले त्यही नजिकै बगिरहेको खोलामा हेरिरहेका थिए;
“डुङ्गा पानीमा तैरिन्छ। डुङ्गालाई पानीले तब सम्म डुबाउन सक्दैन जबसम्म पानी भित्र पस्दैन।
डुबाउने बाहिरी लहर होइन, भित्र छिरेको थोपा थोपा गरी भरिएको पानी हो।”
साधु उठे। वरपरका रूखहरूलाई हेरेर बिस्तारै बोले,
जब हामी आफ्नै मान्छे, आफ्नै समाज, आफ्नै मूल्यको विरुद्ध जान्छौँ, तब हामी आफैँ आफ्नै खुट्टामा बन्चरो हानिरहेका हुन्छौँ। अहङ्कारले आँखालाई अन्धो बनाउँछ।
विवेक बिना शक्ति विनाश बन्छ।
त्यसैले हरेक मानिसले आफैलाई सोध्नु पर्छ कि म भित्र कुन कमजोरीले बिँडको काम गरिरहेको छ?
धन आर्जन वा प्रगति मार्फत एक मानिस जति अग्लो बन्छ, उसले त्यति नै विनम्र भएर जरा गाड्न सिक्नु र सक्नु पर्दछ ।
किनकि आँधीले उचाइ होइन, जरा खोज्छ।
बाहिरी आक्रमणबाट जोगिन खोज्नु भन्दा, भित्रको चरित्र बलियो बनाउनु नै साँचो सुरक्षा हो।
(लेखक रूप नारायण पोखरेल लामो समय नेपालमा बसेर हाल अमेरिकामा बसोबास गर्ने समाजसेवी हुन्)
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.