काठमाडौं – सरकारले समस्याग्रस्त सहकारीका १० हजार रुपैयाँभन्दा कम बचत गरेका थप ३ सय ४ जना साना बचतकर्ताको रकम फिर्ता गरेको जनाएको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बुधवार कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत रकम फिर्ता गरिएको जनाएको हो।
कृषि सहकारीका ८८ जना र शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २ सय १६ जना बचतकर्ताले रकम फिर्ता पाएका हुन्।
यसअघि समितिले कान्तिपुर सहकारीका २ सय १५ जना, शिव शिखर बहुउद्देश्यीय सहकारीका १ सय ५६ जना र पशुपति सहकारीका ७ जना गरी ३ सय ७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको थियो।
समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई प्राथमिकताका आधारमा रकम फिर्ता गरिएको हो। क्रमशः बचत रकमका आधारमा वर्गीकरण गर्दै अन्य बचतकर्ताको रकम पनि फिर्ता गरिने समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयका सदस्य सचिव रबिन ढकालले जानकारी दिए।
समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताको करिब ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्न बाँकी छ। तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन्।
पाँच लाख रुपैयाँभन्दा कम बचत गर्नेहरूलाई साना बचतकर्ता र पाँच लाख रुपैयाँभन्दा बढी बचत गर्नेहरूलाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको समितिले जनाएको छ। कुल ७६ हजार बचतकर्तामध्ये पाँच लाखभन्दा बढी बचत गर्ने करिब १८ हजार जना रहेका छन्।
सहकारीका ऋणीबाट ऋण असुली गरिएको रकम र सरकारद्वारा स्थापना गरिएको चक्रीय कोषमार्फत बचतकर्तालाई रकम फिर्ता गरिएको सदस्य सचिव ढकालले बताए। उनका अनुसार समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता गर्न स्थापना गरिएको चक्रीय कोष नै अहिले रकम फिर्ताको मुख्य आधार बनेको छ।
समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता गर्ने चक्रीय कोषमा सरकारले थप २५ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ। चालु आर्थिक वर्षको बजेटमा व्यवस्था भएअनुसार सरकारले यसअघि २५ करोड रुपैयाँ विनियोजन गरिसकेको छ भने थप २५ करोड रुपैयाँ उपलब्ध गराउने तयारी गरेको हो। यससँगै चक्रीय कोषमा सरकारको कुल योगदान ५० करोड रुपैयाँ पुग्नेछ।
सरकारले समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता गर्न ‘चक्रीय कोष स्थापना तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०८३’ लागू गरिरहेको छ। उक्त चक्रीय कोषमा सरकारले उपलब्ध गराएको रकम तथा समस्याग्रस्त सहकारीका ऋणीको सम्पत्ति बिक्रीबाट प्राप्त रकम जम्मा गरिन्छ। सोही कोषबाट पीडित बचतकर्तालाई चरणबद्ध रूपमा रकम फिर्ता गरिँदै आएको छ।
बचतकर्तालाई रकम फिर्ता गर्ने प्रक्रिया सोमबारदेखि सुरु भएको हो। सहकारीका ठूला बचतकर्ताको रकम पनि फिर्ता गर्ने तयारी गरिएको सदस्य सचिव ढकालले बताए।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.