फूलझैँ जीवन : प्रतिकूलतामाथि विजयको कथा

फूलझैँ जीवन : प्रतिकूलतामाथि विजयको कथा

143
SHARES

जीवन बाँच्दाबाँच्दै पनि थाहा छैन, जीवन के हो? कति कठिन प्रश्न, जसको उत्तर कहिल्यै निश्चित छैन। एकछिनअघि एकदमै ठीक लागेको, उत्साहित जीवन फेरि उत्तिखेरै किन हो बेठीक लाग्न थाल्छ। साँच्चै, कति अमूर्त छ जीवन!

यसैबेला मैले होलोकास्टबाट बचेका एक मनोविज्ञ भिक्टर फ्र्याङ्कललाई सम्झिएँ। उनको ‘मानिसको अर्थ खोजी’ पढेपछि लाग्यो- जीवन आफ्नै सोचाइको परिणाम हो। जस्तो सोच्यो, जीवन त्यस्तै लाग्छ र त्यस्तै बन्छ पनि। परिस्थिति कदापि उसको वशमा हुँदैन, ठीक छ; तर त्यसप्रतिको दृष्टिकोण त उसकै हो नि, होइन र? परिस्थिति जस्तोसुकै होस्, जीवनप्रति सकारात्मक सोच राख्न त सकिन्छ नि! सकारात्मक हुन सक्दा ऊ कदापि टुट्ने छैन, हार स्वीकार्ने छैन। त्यतिखेर उसले बल्ल जीवन बाँच्नुको कारण देख्न थाल्नेछ। प्रतिकूलताबीच पनि त्यस कारणले उसलाई निरन्तर बाँच्ने प्रेरणा दिइरहनेछ।

बेलायती नेपाली स्रष्टा डा. सुमाया राईकृत ‘जिन्दगी फूल सम्झे फूलै हो’ जीवनीपरक कृति पढ्दा मैले यसरी भिक्टर फ्र्याङ्कललाई सम्झिन पुगेँ। छ खण्डमा विभक्त यस कृतिमा लेखकले आजसम्म बाँचेको छ दशक लामो एक सिङ्गो जीवन प्रस्तुत गरेकी छन्; जसमा भारत, नेपाल हुँदै बेलायतसम्मको जीवनयात्रा र अनुभूति समेटिएको छ। जसमा जीवनसँग दुखेसो नगर्ने तथा नहार्ने प्रेरणा छ।

यसैक्रममा लेखक राईले भनेकी छन्- शरीरका तन्तुहरूले साथ दिएसम्म जिन्दगीलाई फूल सम्झिएर अगाडि बढ्ने प्रण गर्नुपर्छ। हो, त्यही प्रणका साथ उनी नित्य ऊर्जाशील छिन्। उनलाई पढ्दा लाग्छ, मानिस कसरी यति धेरै सकारात्मक र धैर्यशील हुन सक्छ? उनीसँग गुनासो छैन, त्यसैले त जटिलतालाई सामान्यीकरण गर्न उनी सबल छिन्।

मेकानिकल इन्जिनियरकी छोरी डा. राईको प्रारम्भिक जीवन भारतमै बित्छ। शिक्षादीक्षा पनि उतै हुन्छ। बिहेपछि उनी नेपाल आउँछिन्, तर पढाइ भने निरन्तर चलिरहन्छ। नेपाल र भारत उनलाई घरआँगनजत्तिकै लाग्छ। पछि त्यसैगरी बेलायत पनि जोडिन्छ। उनी अहिले उतै छिन्, स्थायी रूपमा उतै बसोबास गरेकी छन्।

यसै सिलसिलामा उनले धेरै उबडखाबड भोग्नुपर्छ। जीवनले सोच्दै नसोचेका विचलित गराउने परिस्थितिहरू भोगाउँदै लैजान्छ, तर पनि उनी विचलित हुँदिनन्। त्यसो त सोचेजस्तो जीवन कसको पो हुन्छ र? किन्तु सोचेजस्तो हुँदैन, ठीक छ; तथापि नियतिले यति धेरै विचलन किन घटाउने गर्छ?

जीवन भन्नु त त्यही अतीतको स्मृति रहेछ। वर्तमान त केवल एक निमेष न हो, जुन अनुभूति गर्न नभ्याउँदै बितिसक्छ। सँगै, एक निमेष आयुको अन्त्य हुन्छ। जीवन त्यही अन्त्य भएको आयुको स्मृति रहेछ। वर्तमान भोग्दै मरिसकेको (अतीत) आफूलाई स्मरण गर्ने एक सिलसिला नै जीवन रहेछ। लेखकले त्यही सिलसिला अर्थात् बितेको जीवनमा एक सुन्दर प्राण भरेकी छन्, अर्थात् जीवितता दिएकी छन्।

उनको छोटो, छरितो र संक्षिप्त लेखनकला प्रभावकारी छ। आलेखहरू क्रमिकताहीन क्रमिकतामा प्रस्तुत भएका छन् र ती सबै जीवनसँग जोडिएका छन्। किन्तु स्वयं जीवनको डोरी अमूर्त भई ती घटनाका रूपमा अभिव्यक्त छन्। एक आलेखमा एक घटनाको दरले ती अभिव्यक्त भएका छन्।

उनको लेखनमा मनोविज्ञान तथा समाज विज्ञानको सूक्ष्म तर गहिरो प्रभाव छ। कति प्रसङ्गहरू बडो क्रूर, घृणित र उतिकै निन्दनीय छन्। जस्तै- आफ्नै बाबुले छोरी मारेको प्रसङ्ग कति धिक्कारलाग्दो छ। समाज मनोविज्ञानकै कारण उसले त्यसरी छोरीको हत्या गर्न सकेको छ। हरेक समाजमा आस्था, विश्वास, अन्धविश्वास र जातिवादले त्यसरी अप्रत्याशित घटनाहरू घटाउने गर्छन्।

कुनै पनि व्यक्तिको जीवन विशुद्ध रूपमा उसैसँग मात्र सीमित हुँदैन रहेछ। यी कुनै पनि तत्त्वबाट उसलाई अलग गर्न नसकिने रहेछ। त्यसो हुँदा उसको अध्ययन भन्नु नै ऊ बाँचेको समाजको सिङ्गो अध्ययन हो। वास्तवमा भन्ने हो भने उसले आफ्नो जीवन मात्र बाँचेको हुँदैन, उसले त समय र त्यससँग जोडिएको परिस्थिति बाँचेको हुन्छ। यस अर्थमा उसको जीवन ती सबै तत्त्वहरूको संयोजित रूप हो, र ऊ स्वयं समाजको एक अंश हो।

मनोविज्ञानकी विद्यार्थी भएर होला, स्रष्टा राईको कृतिमा कुनै पनि घटना किन घट्दैछ भन्ने प्रश्न उनले उठाएकी छन् र त्यसको कारण खोज्ने प्रयास गरेकी छन्। कृतिले भावना, विचार र अनुभूतिभन्दा घटनालाई बढी प्राथमिकता दिएको छ। ती प्रत्येक शीर्षक आफैँमा पूर्ण छन्। त्यसो हुँदा पुस्तकको बीचबाट कुनै एक रचना पढियो भने पनि त्यसले अर्को क्रमिकता खोज्दैन, त्यो त्यतिमै पूर्ण हुन्छ र अन्त्य पनि हुन्छ।

तर फेरि समग्र रूपमा हेर्दा त्यो क्रमिकतामै आधारित छ। छोटो–छोटो कथा पढेजस्तो आभास दिने प्रत्येक रचनामा केही न केही घटना समावेश छन्। त्यस्तै घटनाले उब्जाएको विचार र त्यसले पारेको प्रभावको ऊहापोह भने यसमा छैन। त्यसकारण लेखनशिल्प संक्षिप्त छ, जसलाई कुनै विचार वा अनुभूतिले अनावश्यक रूपमा लम्ब्याएको छैन। खारिएको, परिष्कृत गद्य शैली भए पनि वर्णविन्यासका त्रुटिहरू कहीँ कतै भेटिन्छन्, विशेषतः क्रियापदमा। प्रथम पुरुष क्रियापदमा चन्द्रबिन्दुको अभावले प्रायः यस्तो भएको छ- जस्तै “मैले भात खाएँ” हुनु पर्नेमा “खाए” भएको छ। उनको सिर्जनामा हिन्दी र अङ्ग्रेजीको प्रभाव पनि उत्तिकै देखिन्छ।

पुस्तकको आरम्भिक चरणमै एउटा नमिठो अनुभूति हुन्छ। असमयमै अनाथ बनाएर जानु भएकी आमाको स्मृतिबाट लेख सुरु हुन्छ। सानै उमेरका कति घटनाहरू त्यतिखेर केवल घटना मात्रै थिए, तर हुर्किँदै जाँदा लेखकले ती घटनामा अनेक अर्थहरू भेट्दै जान्छिन्। तिनै अर्थलाई लिएर ती घटना उनले पुनः सम्झिएकी छन्। त्यसरी अतीतमा पसेर उनले अर्थान्वेषण गरेकी छन्, जुन अहिले सम्झिँदा कतिपय प्रसङ्ग बडो क्षुब्ध पार्ने खालका छन्, भयानक लाग्छन्। ‘पढाउने आडमा बालहिंसा’ले त्यही देखाउँछ।

घरमा पढाउन राखिएका गुरुबाट समेत बालिकाहरू सुरक्षित छैनन् भने अरूबाट सुरक्षा हुने अपेक्षा कसरी गर्न सकिन्छ? अहिले पनि अवस्था त्यस्तै छ र भोलि पनि यस्तै भएर आउनेछ, किनकि यस्तो घटना घटाउने चरित्रको कहिल्यै अन्त्य छैन। त्यो पशुत्व प्रवृत्ति हरेकमा कतै न कतै हुन्छ; त्यो जन्मसँगै लिएर आएको जस्तो देखिन्छ। जन्मिँदै ऊ पूर्ण मानिस हुँदैन, पछि उसको संस्कार, पारिवारिक तथा सामाजिक संरचना र विवेकले बिस्तारै उसलाई मानिस बनाउँदै लैजान्छ। यही क्रममा कति मानिस हुन सक्दैनन् र बने पनि हर क्षण मानिस भइरहन सक्दैनन्। त्यसरी नसकेको क्षण पशुत्वभाव प्रबल हुन्छ र ऊ नीच बन्न पुग्छ। त्यस नीचतामा कुनै आश्चर्य मान्नु पर्दैन, त्यो एउटा सामाजिक यथार्थ हो। आश्चर्य त केमा छ भने त्यो पशुतालाई मानवत्वले अधीन गर्न नसक्नुमा छ।

कृतिभित्रकी स्रष्टा राईलाई पढ्दा उनी मात्र पढिँदैनन्, उनीसँगै तत्कालीन परिवेशको सामाजिक, आर्थिक, राजनीतिक तथा ऐतिहासिक सन्दर्भ पनि पढिन्छ। कुनै पनि व्यक्तिको जीवन विशुद्ध रूपमा उसैसँग मात्र सीमित हुँदैन रहेछ। यी कुनै पनि तत्त्वबाट उसलाई अलग गर्न नसकिने रहेछ। त्यसो हुँदा उसको अध्ययन भन्नु नै ऊ बाँचेको समाजको सिङ्गो अध्ययन हो। वास्तवमा भन्ने हो भने उसले आफ्नो जीवन मात्र बाँचेको हुँदैन, उसले त समय र त्यससँग जोडिएको परिस्थिति बाँचेको हुन्छ। यस अर्थमा उसको जीवन ती सबै तत्त्वहरूको संयोजित रूप हो, र ऊ स्वयं समाजको एक अंश हो। ऊभित्र समाज, त्यसले निर्माण गरेको मनोविज्ञान, सामूहिक चेतना तथा अवधारणा र समयका पदचापहरू समावेश हुन्छन्। तिनै कुराले उसको विचार तथा भावनाहरू निर्माण गर्छन्। बाँकी कुरा उसको आनुवांशिकताले निर्धारण गर्छ। यसरी उसले एकसाथ समाज र आनुवांशिकता दुवै बाँचेको हुन्छ। यस हिसाबले हेर्दा राईको जीवनमा भारत, नेपाल र बेलायतको तत्कालीन समय र समाज मिसिएको पाइन्छ।

नारी जीवनको मार्मिकता यस्ता प्रसङ्गमा बारम्बार देखिन्छ। एउटा नारी विवाहपछि माइती फर्किने परिस्थिति नजुट्नु, माइती जाने रहर पूरा नभई सदाको लागि बिदा (मृत्यु) हुनु कति पीडादायी घटना हो। साना केटाकेटीले “मामाघर कहाँ पर्छ?” भनेर सोध्दा आमाले “उः हेर आकाशमा बादल देख्दैछौ? त्यही बादल पार गरेर जानुपर्छ” भनेर दिएको उत्तर बडो हृदयस्पर्शी लाग्छ।

लेखकका बाबुको भारतमा राम्रो जागिर हुँदा उनको परिवार सबै उतै बस्थ्यो। सुख–सन्तोषका साथ जीवन चलिरहेको थियो। त्यस्तैमा एक बज्रपात खस्छ- लेखककी आमाको असामयिक निधन हुन्छ। त्यसपछि अनेक उतारचढावहरू घट्छन्। दुःख, कष्ट तथा चुनौतीहरू उमेरसँगै हुर्किँदै जान्छन्।

कृतिका प्रायः रचनाले पाठकमा केही न केही प्रभाव छोड्न सकेका छन्। प्रेरक प्रसङ्ग तथा सन्देशहरू छन्। किन्तु सन्देश दिने उद्देश्यले लेखिएको भने होइन, तर पनि त्यसो हुन सकेको छ। ‘आमालाई अक्षरको खाँचो’ त्यस्तै एउटा उत्प्रेरक आलेख हो। मान्छेले चाह्यो भने आखिर नहुने नै के रहेछ र? जे हुँदैन त्यो उसले नचाहेको कारण हुँदैन, बस् उसले चाहनु पर्छ।

लाग्छ जीवनको आधाउधी भाग जन्मसँगै निर्धारण भएको हुन्छ र बाँकी आधा चाहिँ चेतनाले निर्धारण गर्छ। ऊ कुन परिवेशमा हुर्किएको छ, त्यसैअनुसार उसको दृष्टिकोण निर्माण हुँदै जान्छ। त्यसैले पछिल्लो जीवन तयार गर्ने काम पनि त्यही परिवेशले गर्छ। लाग्छ, डा. राई अहिले जस्तो जीवन बाँचिरहेकी छन्, त्यसको जरामा उनका बाबु–आमाको सचेतता, निर्भीकता र इमानदारीपूर्ण चरित्रले महत्त्वपूर्ण भूमिका खेलेको छ। गौरव गर्न लायक चेतना बोकेका बाबु–आमा उनले पाएकी थिइन्, तर पनि आमा किशोरकालमै गुमाउनुपर्‍यो। लेखकको जीवनमा यस्ता प्रायः घटनाले परिस्थितिलाई नै बदल्ने गरी नयाँ मोड ल्याएका छन्, जसले धेरै कुरा सोच्न बाध्य बनाउँछन्। पाठक त्यसको अनुमानित उत्तरमा पुग्न सक्छ, तर सत्यमा होइन। ‘आमा गुमाएको त्यस कारुणिक क्षण’ शीर्षकमा पनि त्यस्तै अनुभूति भेटिन्छ, जसले एउटा दुःखान्त चलचित्र हेरेजस्तो भान दिन्छ।

साहित्यकार राईको व्यक्तित्वबाट प्रभावित हुने धेरै कुरा छन्। इमानदारी र हार्दिकताको दृष्टिले उनीजस्तो व्यक्ति बिरलै भेटिन्छन्। साथी–भाइबीच सहयोग र सद्भाव राख्ने उनको मित्रवत् चरित्र उदाहरणीय लाग्छ। घर–परिवार तथा साथीभाइबीच आवश्यक पर्दा जुनसुकै चुनौती स्वीकार्न तयार हुने र उनीहरूको लागि आफ्नै इच्छा पनि त्याग्न सक्ने उनको त्यागी चरित्र अनुकरणीय लाग्छ।

मानिसको बुझाइ र यथार्थ कति भिन्न कुरा रहेछन्। प्राचीन कालदेखि पुरुषले महिलालाई सधैँ उपेक्षा गर्दै आए, सधैँ निरीह र दुर्बल चरित्रको रूपमा पछि पार्दै आए। अहिले परिस्थिति फेरिएको छ। तर महिला र पुरुष समान भनिए पनि प्राकृतिक रूपमा समानता कहीँ पूर्ण रूपमा भेटिँदैन। कति जटिल र संवेदनशील छ नारीको दायित्व। त्यसैले ऊ कतै लाचार, कतै विवश देखिन्छे। ‘मामाघरको सम्झना’ शीर्षकमा त्यो कुरा अनुभूत हुन्छ। नारी जीवनको मार्मिकता यस्ता प्रसङ्गमा बारम्बार देखिन्छ। एउटा नारी विवाहपछि माइती फर्किने परिस्थिति नजुट्नु, माइती जाने रहर पूरा नभई सदाको लागि बिदा (मृत्यु) हुनु कति पीडादायी घटना हो। साना केटाकेटीले “मामाघर कहाँ पर्छ?” भनेर सोध्दा आमाले “उः हेर आकाशमा बादल देख्दैछौ? त्यही बादल पार गरेर जानुपर्छ” भनेर दिएको उत्तर बडो हृदयस्पर्शी लाग्छ। लेखककी आमाले छोराछोरीलाई मामाघर देखाउने इच्छा कहिल्यै पूरा गर्न सकिनन्। बालबच्चाको मामाघर जाने उत्कट आशा त्यसै हराउँछ। धेरैपछि, २०६४ सालमा बल्ल डा. राई पहिलोपटक मामाघर पुगेकी छन्- खोटाङमा।

जीवनमा अब अर्कै अध्याय सुरु भएको छ। पहिलो खण्डमा बाल्यकालदेखि बिरामी आमाको अवस्था र दुखद अन्त्य तथा ब्रिटिस लाहुरे हिमालय राईसँग इन्गेजमेन्ट हुँदाका बीचमा घटेका सुख, दुःख, आशा र निराशाका अनेक परिस्थिति समेटिएका छन्।

फेरि पनि प्रश्न उठ्छ— जीवन के हो र कोबाट निर्देशित छ? आफूबाट वा अरू कोहीबाट? यदि यो आफूबाट निर्देशित हुन्थ्यो भने आफूले चाहेअनुसार किन हुँदैन? त्यसो भए यसलाई निर्देशित गर्ने को हो? अनि ऊ कसको लागि बाँच्दै आएको हो— आफ्नो लागि? यदि आफ्नो लागि हो भने आफूले अपेक्षा गरेअनुसार बाँच्न किन पाउँदैन? आखिर पाउनुपर्ने होइन? तथापि पाउँदैन।

त्यसो त ऊ अरूको लागि बाँच्यो पनि कसरी भन्नु? जब कि ऊ अरूको लागि बाँचेको हुन्थ्यो भने बाँच्नै छोडिदिने थियो। हरेक नयाँ पाइला र अप्रत्याशित क्षण उसलाई स्वीकार्य हुने थिएनन्। लेखक सुमायालाई पढ्दै गर्दा यस्ता अनेक तर्कनाहरू आउँछन्। जीवन किन यति धेरै कठिनताले भरिएको मार्गमा हिँड्न बाध्य हुन्छ? साँच्चै डा. राई एक आदर्श पात्र लाग्छिन्— आफूले दिएको वचन पूरा गर्न जस्तोसुकै व्यवधान पनि स्वीकार्न तयार रहने नारी। अरूको भावना र संवेदना महसुस गर्न सक्ने, अरूको लागि बाँच्न जान्ने, दायित्वबोध भएकी एक कर्तव्यपरायण नारी, जसलाई जुन रूपमा पनि बुझ्न सकिन्छ।

आफ्नो घरपरिवारमा मात्र नभई कुल वा वंशमा लेखक तथा कवि–कलाकार हुनु आफैँमा एउटा गौरवको कुरा रहेछ, जसले आफ्नो वंशलाई शब्द, रङ, रेखा र सङ्गीतमार्फत अनन्तकालसम्म जीवित राख्न सक्छ। जस्तै, स्रष्टा सुमायाले अक्षरद्वारा भौतिक रूपमा नरहेका आफन्तलाई पुनः अक्षरमा जीवन्तता दिएकी छन्। त्यसरी जीवन्तता दिएका आलेखहरू बीचबीचमा आइरहन्छन्।

आजकल लाखौँ प्रयास गरे पनि यस्ता बुहारी विरलै पाइन्छन्। त्यसो त आफ्नै सन्तान पनि सायद सुमायाजस्तै चरित्र बन्न सक्दैनन्। अनेक असहजतासँग जुध्दै घरपरिवार, जागिर, पढाइ, मुद्दा–मामिला सबैलाई उनले आफ्नै अनुकूल बनाउँदै लगेकी छन्। आखिर चाह्यो भने नसक्ने, नहुने केही पनि हुँदैन भन्ने कुरा यो कृति पढ्दा अनुभूत हुन्छ।

आजकल मान्छेका सम्बन्धहरू प्रतिदिन चिसिँदै गएका छन्, शुष्क र नीरस बन्दै गएका छन्। सम्बन्धमा दायित्वबोध र आत्मीयता हराउँदै गएपछि के हुन्छ? उपभोक्तावादी समाज अचेल अत्यधिक व्यक्तिवादी बन्दै गएको छ। लाभअनुकूल सम्बन्ध फेर्ने र थन्क्याउने प्रवृत्ति ह्याङ्गरको लुगाजस्तै सामान्य बनेको छ। त्यसैले ऊ कुनै संवेदनाले वा करुणाले छोइने अवस्थामा छैन। ऊ प्रेम गर्छ तर प्रेमिल छैन। यस्तो बेला डा. सुमायाको कृति आफैँमा एउटा आश्चर्यजस्तो लाग्छ। उनको कृतिले प्रेम के हो? सम्बन्ध कस्तो हुनुपर्छ? भन्ने कुरा स्पष्ट रूपमा देखाएको छ। प्रस्तुत कृति आफैँमा एउटा अद्भुत दृष्टान्त बनेको छ— त्याग र समर्पणको दृष्टान्त।

सुमायाले सोचेकी थिइनन् यस्तो पनि होला? कल्पनामै नभएको कठोर सत्य उनले कसरी सामना गरिन्? कसरी स्वीकारिन्? डा. रणशेर राईका सुपुत्र हिमालय राईसँग उनको पहिल्यै इन्गेजमेन्ट भइसकेको थियो। ब्रिटिस सेनाका व्यक्ति हिमालय बिहेको लागि नेपाल आउँदै गर्दा अचानक स्ट्रोकले थलिन्छन्। तब उनलाई लाग्यो— बिहे गरेर सुमायालाई अप्ठ्यारो पार्नु हुँदैन। गतिहीन (प्यारालाइज्ड) अवस्थामा उनी टाढिन खोज्छन्। त्यसपछि के भयो? के तपाईँ प्रश्न गर्न चाहनुहुन्छ?

हिमालय राईको असक्ततामा सुमायाले अझ बढी प्रेम खन्याइन्। एक आदर्श प्रेम। हुन सक्छ, त्यस प्रेमले नै उनलाई रोगसँग लड्ने शक्ति दिएको थियो र उनले बाँच्नुको अर्थ भेटिन्। उनी बिस्तारै ठीक हुँदै गए र अन्ततः विवाह पनि भयो।

भारतमा हुर्केकी सुमाया नेपाल आएपछि केही समय असुविधाको अनुभूतिले अप्ठ्यारो पार्छ। उनका श्रीमान् अब पूर्ण रूपमा स्वस्थ भइसकेका छन्। तथापि उनी पल्टन फर्किँदैनन्। आमा बिरामी छिन्, उनलाई छोडेर जान सक्दैनन्। श्रीमती सुमायाको अपेक्षा छ— उनी जागिर नछोडुन्। उनी भन्छिन्— आमाको हेरचाह हामी गर्छौँ, तपाईँले चिन्ता लिनु पर्दैन।

समयसँगै मानिसको कोमलता, हार्दिकता र सद्भाव हराउँदै गएको छ। संवेदना मर्दै गएपछि मान्छे कठोर हुन थाल्छ। अन्ततः नाता–सम्बन्ध सबै भुलिँदै जान्छ। यस्तो बेला स्रष्टा राई र उनका श्रीमान् आफैँमा एक विचित्र प्राणीझैँ लाग्छन्। हिमालय राई आधुनिक युगका श्रवणकुमार भएर बाँच्छन्।

अन्योल र अनिश्चितताबीच सुमायाको जीवन अब दुईतिर बाँडिएको छ। उता भारतमा एमएको पढाइ चलिरहेछ, यता शाखा अधिकृतको जागिर सुरु हुन्छ। यसबीच अनेक व्यवधान र झमेला आइपर्छन्। त्यस समयको जीवन पढ्दा नेपाल र भारतबीचको जीवनस्तरमा कति ठूलो अन्तर रहेछ भन्ने अनुभूति हुन्छ। भारत निकै अगाडि, नेपाल भने तुलनात्मक रूपमा पछाडि। अहिले पनि त्यो अन्तर कायम नै छ।

लक्ष्य प्राप्तिको लागि निरन्तर लागिरहने, चुनौतीबाट किञ्चित विचलित नहुने डा. राईको स्वभाव सामान्य मानिसभन्दा फरक लाग्छ। कसरी सम्हालिन् होला चारैतिर फैलिएको जिम्मेवारी? जागिर धान्दै उनी हप्तैपिच्छे परीक्षा दिन भारत जान्छिन्, फेरि फर्केर नेपालमा हाजिर हुन्छिन्। दुई किनारमा तन्किएको जीवनजस्तो उनले यसलाई कसरी व्यवस्थित गरिन्? वर्षौँअघि ससुराको पालादेखिको जग्गासम्बन्धी मुद्दा पनि उनी नै सम्हालिरहेकी छन्। घरपरिवारप्रतिको गहिरो दायित्वबोध देखिन्छ। आजकल लाखौँ प्रयास गरे पनि यस्ता बुहारी विरलै पाइन्छन्। त्यसो त आफ्नै सन्तान पनि सायद सुमायाजस्तै चरित्र बन्न सक्दैनन्। अनेक असहजतासँग जुध्दै घरपरिवार, जागिर, पढाइ, मुद्दा–मामिला सबैलाई उनले आफ्नै अनुकूल बनाउँदै लगेकी छन्। आखिर चाह्यो भने नसक्ने, नहुने केही पनि हुँदैन भन्ने कुरा यो कृति पढ्दा अनुभूत हुन्छ।

कृतिमा जीवनको विविध रङ मिसिएको छ, साथै देशकाल–परिस्थितिको रङ पनि समेटिएको छ। जस्तो पञ्चायतकालको परतन्त्रता, २०४५ सालको भूकम्प, २०४६ सालको जनआन्दोलन, २०५८ सालको दरबार हत्याकाण्ड, माओवादी जनयुद्ध र त्यसले सर्वसाधारणमा पारेका असर तथा कठिनाइहरू, फेरि २०७२ सालको महाभूकम्प, विश्वव्यापी रूपमा फैलिएको कोभिड महामारी, जेन–जी आन्दोलनलगायत अनेक प्रसङ्गहरू उल्लेख छन्। त्यस्तै वैश्विक परिवेशका राजनीतिक सन्दर्भहरू पनि छिटपुट रूपमा आइरहन्छन्।

जीवन हो, नित्य एउटै लयमा कहाँ चल्छ र? एउटै लयमा चल्यो भने त परम शान्ति र आनन्द पनि कहिलेकाहीँ दिक्कलाग्दो हुन सक्छ, शायद। किनकि मानिससँग अनेक संवेदना छन्- हर्ष, बिस्मात, आक्रोश, तृप्ति, अतृप्ति। यदि ती अनुभूतिहरूको अस्तित्व नै नहुने हो भने जीवन अधुरो रहन्छ। त्यसको समग्रतामा मात्रै जीवनले पूर्णता पाउँछ।

सधैँ एकै खालको अवस्था कहाँ रहन्छ र? पञ्चायतकालको समाप्तिसँगै स्रष्टा राईको शाखा अधिकृत जागिरको अन्त्य हुन्छ। बहुदलीय व्यवस्थासँगै वन सुदृढीकरण उच्चस्तरीय आयोग पनि टुङ्गिन्छ। त्यसपछि उनी जे.एस. मुरारका क्याम्पस, लहानमा सहायक प्राध्यापकमा नियुक्त हुन्छिन्। लाग्छ, उनको जीवनमा यति धेरै मोडहरू आएका नभएको भए उनी आजकी डा. सुमाया बन्न सक्दिनथिन्। वास्तवमा ती मोड र विषमताहरू नै उनलाई सुमाया बनाउने क्रममा एकपछि अर्को गरी आएका थिए। आखिर जीवनसँग दुखेसो गर्नु पर्ने केही रहेनछ। जीवन हाम्रो विरुद्ध कहिल्यै जाँदैन, तर साना–साना कष्टलाई हामीले नै ठूलो रूपमा बुझ्ने गर्छौँ।

उनी शिक्षिका भएपछि थाहा हुन्छ— त्यस समय नेपालमा पठन–पाठनको अवस्था कस्तो थियो। शिक्षण तथा अध्ययन सामग्रीको अभाव, भारतीय तथा विदेशी लेखकका पाठ्य सामग्रीमा निर्भर हुनुपर्ने विकट परिस्थितिले त्यो समयको यथार्थ बोल्छ। “त्यतिखेर नेपाली लेखकका पनि पुस्तक हुन्छन् र?” भन्ने जस्तो अवस्था थियो, तर अहिले यहाँसम्म आइपुग्दा कत्रो परिवर्तन भएको छ भन्ने अनुभूति हुन्छ।

जीवन आफैँमा एउटा इतिहास रहेछ, इतिहास बोकेर बाँचेको हुने रहेछ। डा. राईको जीवनीले यही देखाउँछ। कृतिमा लेखनको कुरा गर्दा इमानदार प्रस्तुति यसको बलियो पक्ष लाग्छ। राईलाई आफ्नो सत्यताप्रति किञ्चित सङ्कोच छैन। त्यसो त सङ्कोच मान्नुपर्ने नै के छ र? आखिर जीवनले भोगेकै कुरा हुन् ती। आफूलाई नढाँट्ने उनी स्पष्टवादी छिन्। सन्तान प्राप्ति नहुँदाको बेचैनीमा एक ठाउँ उनी भन्छिन्- “विगतमा सँगै हुँदा पनि प्रयास त गरेको हो र गर्भधारण पनि गरेकै हो। तर केही हप्तापछि त्यो गर्भ तुहिएर गयो अर्थात् मिसक्यारिज भयो। त्यसपछि लहान बसाइमा पनि पुनः गर्भधारण गर्ने प्रक्रियामा पनि हामी असफल रह्यौँ। केही हप्तापछि पुनः त्यही घटना दोहोरियो (पृ–१७४)।”

कुरा के भने हाम्रो बुझाइमा माता–पिता ईश्वर समान हुन्छन्। हो, वास्तवमै उनीहरू ईश्वर समान नै हुन्छन्, यसमा सन्देह छैन। किन्तु सन्तान नै नभएपछि कसरी आमा–बुबा हुने? आखिर सन्तानले नै आमा–बुबा हुने अवसर दिने रहेछन्। सन्तानकै कारण कोही आमा र कोही बुबा बन्न पाउँछन्। नत्र कसरी सम्भव हुन्थ्यो र? त्यसैले आमा–बुबा हुनु र आमा–बुबा बन्ने अवसर दिनु दुवै महान् घटना रहेछन्।

राईलाई पढ्दै गर्दा मैले एउटा सत्य महसुस गरेँ- मेरो स्वभाव केही रुखो खालको रहेछ। ममा त्यस्तो विनयशीलता छैन, ठाडो स्वभावको रहेछु। मसँग प्रभाव पार्ने स्वभाव छैन र प्रभावित हुन मन लाग्दैन। एकदम नीरस मान्छे। सबै म जस्तो हुने हो भने के हुन्थ्यो होला?

वास्तवमा कठिनता आफैँमा कठिन हुँदैन, हाम्रो बुझाइले मात्र त्यसलाई कठिन बनाउँछ। यदि त्यो बुझाइ अलग गरिदिने हो भने त्यो केवल एउटा घटना वा परिस्थिति मात्र रहन्छ। त्यससँग जोडिने संवेदना त विचारले निर्माण गरेको प्रतिरूप मात्र रहेछ। लेखक राईलाई यो कुरा थाहा छ, त्यसैले भन्छिन्- अस्वीकृतिले झन् ठूलो दुर्घटना निम्त्याउन सक्छ।

उनी बडो दयालु छिन्। उनको पशुप्रेम देख्दा उनीप्रति मेरो सद्भाव दोब्बर भयो। अबोध प्राणीलाई प्रेम गर्ने मान्छे मलाई एकदम प्रिय लाग्छ। जसले अबोधताको भाषा र भावना बुझ्ने प्रयास गर्छ, त्यो कहिल्यै कठोर हुन सक्दैन।

उनी अब आमा भइसकेकी छन्- पुत्र प्रणय र पुत्री ज्योत्स्नाकी आमा। श्रीमान् हिमालय राई विदेशबाट फर्किएर नेपालमै जागिर गर्न थालेका छन्- एकदम इमानदार मानिस। सुमायाजस्ती नारी पाउनु उनी आफैँमा एक भाग्यमानी पुरुष लाग्छन्। त्यसो त सुमाया पनि कम भाग्यमानी होइनन्। त्यति धेरै पतिप्रेम र सद्भाव कसले पाउँला र? हिमालय राईजस्ता केही मानिस हुने हो भने देशमा द्रुत गतिमा ठूलो उन्नति हुने थियो। नेपालको परिवेशमा इमानदार भएर काम गर्नु आफैँमा चुनौतीपूर्ण कदम रहेछ। देश हरेक क्षण–क्षणमा अधोगतितर्फ गइरहेको छ। बिचौलिया, माफिया, घुसखोरीतन्त्र र दलीयकरणले देश उठ्न नसक्ने गरी थलिँदै गएको छ। अनि त राम्रो गर्छु भन्नेहरूको जीवनमा साढेसाती दशा सुरु हुने रहेछ। वास्तवमा विकास गर्न नसकेर मुलुक पछि परेको होइन, विकास गर्न नचाहेर यस्तो भएको हो। यति कुरा बुझ्दा मुलुक बन्न नदिने कर्मचारीतन्त्र र बिचौलियाप्रति क्रोध उठ्छ।

नेपालजस्तो गरिब मुलुकमा इमानदारीका साथ बाँच्नु अत्यन्तै कठिन कुरा रहेछ। यस अनुभवसँगै हिमालय राई पुनः विदेश जाने निर्णय गर्न बाध्य हुन्छन् र युकेको जार्डेन कम्पनीमार्फत हङकङ पुग्छन्। यता अनेक दुरूहताबीच सुमायाको जीवनले एकपछि अर्को खुड्किला चढ्दै जान्छ। त्यसैक्रममा उनी त्रिवि आयोगमा उत्तीर्ण भई मनोविज्ञान केन्द्रीय विभाग, कीर्तिपुरमा नियुक्त हुन्छिन्।

जीवन भन्नु त अन्ततः अस्तित्वको लडाइँ रहेछ। लेखक राईको कृतिमा हरेक शब्द अस्तित्वको लडाइँमा सामेल भएझैँ लाग्छ। जसमा लेखक स्वयंको अस्तित्वगत समर छ, अनि घरपरिवारको पनि। त्यसदेखि पनि पर अर्को समर छ- जातीय चेतको। उनी अब घरपरिवारभन्दा माथि उठेर जातीय पहिचानका लागि पनि उत्तिकै सक्रिय भएर लागेकी छन्। उनको त्यो सक्रियतामा किनारीकृत आवाज स्वपहिचानका लागि गहिरो निद्राबाट ब्युँझिएर जुरमुराएको छ। ती जुरमुराएका समवेत आवाजहरू संस्थागत भई अस्तित्व निर्माणमा जुटेका छन्।

हाम्रो समाजले आज पनि नारीलाई निरीह नै देख्ने गर्छ। उस समय झन् कस्तो देख्थ्यो होला? तर जस्तो देखे पनि नारी निरीह कदापि छैनन्। डा. सुमायाको कर्मठ व्यक्तित्व पढ्दा यही अनुभूति हुन्छ- एउटा गौरवपूर्ण अनुभूति। उनको विद्यावारिधिको शोधकार्य पनि अब सकिएको छ। हुर्किएका छोरा–छोरी आवासीय भिसामा लन्डन जाने तयारी गर्दैछन्। बाबु–आमाको इच्छा उनीहरू आफ्नै देशमा बसुन्, यहीँको सेवा गरून् भन्ने थियो। तथापि विदेश जाने संस्कारजस्तै बनिसकेको हुँदा स्वदेशमा मन थामिन नसक्दो रहेछ। संस्कार बनिसकेको कुराले मानिसलाई यसरी नै अभिप्रेरित गर्दो रहेछ। तब लाग्छ- घरपरिवार तथा देशलाई सही दिशा दिनु छ भने सुन्दर संस्कारको निर्माण गर्दै जानुपर्छ। जस्तो संस्कार बस्यो, मान्छे त्यही गतिमा चल्दो रहेछ। मानिसलाई निर्माण गर्ने नै उसको संस्कार रहेछ। किन्तु हामीलाई लाग्छ शिक्षादीक्षा र समृद्धिले नै मानिस निर्माण गर्छ। तर त्यसो होइन। मानिसको स्वभाव र चरित्र निर्माण गर्ने संस्कार हो। संस्कार नै उसको रक्तसञ्चार हो भने अन्य सबै आवरणका कुरा हुन्- हाड, छाला, मासुजस्ता।

भिसा लागेको त्यस दिन एउटी आमाको मनमा खुसीसँगै दुःखको विरोधाभासी भाव कसरी एकसाथ उब्जिन्छ। आफ्नो देश आफ्नै हो, तर अब त्यसो भनेर मात्र नपुग्दो रहेछ। “भिसा लागेको खबर पाएपछि छोरी साँच्चै खुसी भइन्। छोरी हाँसेको देखेर म पनि हाँसेँ। तर मनभित्र एक प्रकारको काँडाले घोचेजस्तो पीडा महसुस भयो। शायद त्यो पीडा नानीहरू आफ्नो मातृभूमिबाट, घरआँगनको न्यानोपनबाट धेरै टाढा जाने भए भन्ने सोचले उब्जेको थियो होला (पृ–३४१)!”

सन्तानको खुसीका लागि छोरीलाई लण्डनको बासिन्दा बनाइयो भन्ने अनुभूतिले आमाको मनलाई त्यसरी नै सताइरह्यो। मानिसलाई कठिनताभन्दा पनि कठिनता स्वीकार्न नसक्दाको क्षणले बढी आघात दिँदो रहेछ। सहजै कठिनता स्वीकार्दा त्यहाँ कठिनता भन्ने नै हुँदैन। वास्तवमा कठिनता आफैँमा कठिन हुँदैन, हाम्रो बुझाइले मात्र त्यसलाई कठिन बनाउँछ। यदि त्यो बुझाइ अलग गरिदिने हो भने त्यो केवल एउटा घटना वा परिस्थिति मात्र रहन्छ। त्यससँग जोडिने संवेदना त विचारले निर्माण गरेको प्रतिरूप मात्र रहेछ। लेखक राईलाई यो कुरा थाहा छ, त्यसैले भन्छिन्- अस्वीकृतिले झन् ठूलो दुर्घटना निम्त्याउन सक्छ।

हो, जीवन आफैँमा एउटा फूल रहेछ। बोटमा फुल्ने फूल मात्र होइन, सृष्टिका सम्पूर्ण जीव–जीवात्मा पनि फूलै हुन्। ती हुर्किन्छन्, बढ्छन्, फक्रिन्छन् र अन्ततः ओइलिन्छन्। त्यसबीचमा झरी, बादल, असिना र खडेरी सबै सहनुपर्छ, कुनै निश्चितता हुँदैन। फूल कति कोमल र सुन्दर छ, तर त्यही कोमलताभित्र अनन्त शक्ति छ। त्यसैले त प्रतिकूल मौसममा पनि फुलिरहन्छ।

माया र भावनात्मक सम्बन्धले मानिसलाई कस्तो पनि अवस्थामा विचलित हुन दिँदैन रहेछ। त्यसैले लेखक भन्छिन्- प्रेमले निष्क्रिय वस्तुमाथि पनि प्राण सञ्चार गर्ने क्षमता राख्दछ।

अपेक्षा एउटा हुन्छ, विवशता अर्कै। तब नचाहँदा नचाहँदै ऊ लाचार भइदिनु पर्छ। लेखक त्यस्तै मोडमा पुग्छिन्। एक सम्मानित पेसा छोडेर युके जान विवश हुन्छिन्। श्रीमान् पुनः स्ट्रोकबाट ग्रस्त हुन्छन्। बेलायतको अत्याधुनिक उपचार प्रणालीले उनलाई निको पार्ला कि भन्ने आशा हुन्छ। त्यसरी गइसकेपछि नेपाल फर्किने परिस्थिति सहज रहँदैन। विगत एक दशकदेखि उनी बेलायतमै रहँदै आएकी छन्।

समयले कहाँदेखि कहाँ पुर्‍याउँछ, थाहै नहुँदो रहेछ। जीवनको अनिश्चित गोरेटो सम्झिँदै उनी भन्छिन्- “अबको बाटो उति सरल रहेन।”

यस्तो अनुभूतिसँगै गीतमा उनी यसरी पोखिन्छिन्-
उर्लिँदो भेल हो जीवन
मनको बाँधले बाँध्नु छ
बाध्यताको खेल हो जीवन
जीत र हार खेप्नु छ
शीतको थोपा हो जीवन
हृदय सागर भर्नु छ … (पृ–३६२)।

कला–साहित्य आफैँमा एक मानसिक उपचार विधि रहेछ। मन शान्त पार्नकै लागि भए पनि आजकल डा. सुमाया शब्दसँग खेल्ने गर्छिन्। मनको अन्तस्करणबाट निस्किएका ती भाव र शब्दहरू स्वयं थेरापिस्ट बनेका छन्।

पुस्तक पनि अन्ततः जीवनजस्तै रहेछ- सुरु भएपछि कहीँ न कहीँ टुङ्गिनु नै छ। तर हामीलाई त्यसरी टुङ्गिएको मन पर्दैन, किनकि त्यो क्षण मृत्युको अनुभूति जस्तो लाग्छ। तर मृत्यु नआउने हो भने जीवनले कसरी पूर्णता पाउँछ? त्यसकै लागि भए पनि ऊ आउनै पर्छ। ऊ आएपछि मात्र आफूले हिँडेको बाटो सकिएको थाहा हुन्छ। कहीँ नपुगी हिँडिरहने हो भने त्यो हिँडाइको अर्थ के? कहीँ पुगिन्छ कि भनेर नै त हिँडिन्छ। पुग्नु नै छैन भने किन हिँड्ने?

जे छ, त्यो ठीक छ- किनकि त्यो हुनु नै थियो। लेखक नित्य आशावादी छिन्। देशको पछिल्लो अवस्थाप्रति पनि उत्तिकै आशावादी छिन्। उनलाई लाग्छ अब पराई (डायास्पोरिक मुलुक) को समृद्धिले मन नकुँडिएला। देशले एउटा गति लिनेछ, समृद्धिको मार्ग निर्माण गर्नेछ। तब अरूको उन्नतिमा हीनताबोध हुने छैन। हामी सबैको कामना छ- अब त्यसो नहोस्। अतीत स्मरण गर्दै उनी भन्छिन्- “आशा गरौँ–अब देशले साँच्चैको परिवर्तन हेर्न पाउनेछ। तलदेखि माथिसम्म गाँजिएको भ्रष्टाचारको जालो तहसनहस हुनेछ। सम्पूर्ण राजनीतिक दलहरूले उक्त जेन्जी आन्दोलनको मर्मलाई बुझेर आफूभित्र आमूल परिवर्तन ल्याउनेछन्। पुराना नेताहरूले विश्राम लिनेछन्। नयाँ युवाहरूले देश हाँक्नेछन् … (पृ–३८६)।”

पुस्तकको अन्त्यमा पुग्दा मलाई अर्को जीवन बाँचेर नदी किनारको छालबाट पाखा निस्किएझैँ अनुभूति भयो। तब राईको ‘जिन्दगी फूल सम्झे फूलै हो’सँग सहमत हुन पुग्छु। हो, जीवन आफैँमा एउटा फूल रहेछ। बोटमा फुल्ने फूल मात्र होइन, सृष्टिका सम्पूर्ण जीव–जीवात्मा पनि फूलै हुन्। ती हुर्किन्छन्, बढ्छन्, फक्रिन्छन् र अन्ततः ओइलिन्छन्। त्यसबीचमा झरी, बादल, असिना र खडेरी सबै सहनुपर्छ, कुनै निश्चितता हुँदैन। फूल कति कोमल र सुन्दर छ, तर त्यही कोमलताभित्र अनन्त शक्ति छ। त्यसैले त प्रतिकूल मौसममा पनि फुलिरहन्छ। यदि उसले प्रतिकूलता सहन सक्दैनथ्यो भने यस सृष्टिमा एउटै फूल पनि रहने थिएन।

त्यसैले फूललाई, अर्थात् जीवनलाई बडो प्रेम गर्नुपर्छ। उसप्रति भरोसा राख्नुपर्छ, आशावादी हुनुपर्छ। तब ऊ त्यही शक्तिमा जुरमुराएर फुल्नेछ। त्यतिखेर उसको फुल्ने शक्तिलाई कुनै पनि प्रतिकूलताले रोक्न सक्नेछैन। यसै बेला लाग्यो- प्रत्येक वर्ष जीवनलाई फूलको प्रतीक मानेर फूल दिवस मनाउने संस्कार बसाउन पाए जीवन अझ कति सशक्त, अझ कति सुन्दर हुन्थ्यो होला।

समाचार शेयर गर्नुहोस्
143
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.