काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहलाई संसदमा उपस्थित भई जवाफ दिने रुलिङ गर्न प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल डराएको आरोप सांसदहरूले लगाएका छन्। प्रधानमन्त्री संसद्मा आउन अटेर गरिरहेका बेला सभामुख अर्यालमाथि निरीह बनेको आरोप लागेको छ।
प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउन सभामुख अर्याललाई विपक्षी सांसदहरूले निरन्तर रुलिङ गर्न आग्रह गरिरहेका छन्। तर, सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेर प्रधानमन्त्री वालेन्द्र शाहलाई भेट्न पुगे रुलिङ गरेनन्। संसद् बैठकमा जारी अवरोध अन्त्य गर्न उपस्थित भइदिन उनले प्रधानमन्त्रीसँग आग्रह गरेका थिए।
तर, प्रधानमन्त्री वालेन्द्र शाहले व्यस्तताका कारण तत्काल समय दिन नसक्ने र पछि कुनै ‘उपयुक्त समय’ मा मात्रै संसदमा आएर जवाफ दिने अडान लिए। प्रधानमन्त्रीसँगको भेटपछि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री तत्काल संसद्को सामना गर्न तयार नरहेको जानकारी दलका प्रमुख सचेतक र सचेतकहरूलाई गराएका थिए।
प्रधानमन्त्रीको यस्तो जवाफपछि विपक्षी सांसदहरू थप आक्रोशित बने। दोस्रो बैठक सुरु हुनासाथ विपक्षी सांसदहरूले संसद्को वेल घेरेर नाराबाजी गरे।
तनावपूर्ण अवस्थाबीच सभामुख अर्यालले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक, २०८३’ र ‘मतदाता नामावली पहिलो संशोधन विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेका थिए।
प्रतिनिधिसभा नियमावलीको बाध्यात्मक व्यवस्थाअनुसार संसद्मा उपस्थित भएर सांसदहरूले सोधेका प्रश्नको जवाफ दिनुपर्ने भए पनि प्रधानमन्त्री वालेन्द्र शाहले त्यसलाई अस्वीकार गरेको भन्दै विपक्षी दलहरू औधी रिसाएको देखिएका छन्। प्रधानमन्त्रीको खोजी गर्दै निरन्तर विरोधमा उत्रिएका विपक्षी सांसदहरूले सरकारविरुद्ध संसदमै ‘मुर्दावाद’ को नारा लगाउँदै वेल घेराउ गरेका थिए।
विपक्षी दलहरूको लगातारको अवरोधका कारण प्रतिनिधिसभाको पहिलो बैठक स्थगित भएपछि सभामुख अर्याल आफैँ प्रधानमन्त्री कार्यालय पुगेर प्रधानमन्त्री शाहलाई संसद्मा उपस्थित भइदिन आग्रह गर्न बाध्य भएका थिए।
प्रधानमन्त्री शाह भने सिंहदरबारभित्रै रहेर पनि संसद् बैठकमा उपस्थित नभई आफ्नो तर्फबाट गर्नुपर्ने काम मन्त्रीहरूलाई जिम्मा लगाइरहेका छन्। प्रधानमन्त्री शाहको तर्फबाट कानुन मन्त्री साेबिता गौतमले संसदमा विधेयक पेस गरेकी थिइन।
प्रतिनिधिसभा नियमावलीमा प्रत्येक महिनाको पहिलो साता कुनै एक दिन एक घण्टा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम रहने व्यवस्था छ।वर्कलोडको कारण देखाउँदै प्रधानमन्त्री वालेन्द्र शाहले सरकार गठनको सय दिन पुगेपछि मात्रै संसदमा उपस्थित भएर जवाफ दिने तयारी गरेको सङ्केत सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिएका छन्।
पत्रकारहरूको प्रश्नमा रवि लामिछानेले “आउनुहुन्छ, थाहा पाइहाल्नुहुन्छ” भन्दै प्रतिक्रिया दिएका थिए। उनले सरकारको भन्दा प्रतिपक्षीलाई नै प्रश्न गर्न आग्रह गर्दै सरकारले काम गरिरहेको र सय दिन पुग्न बाँकी रहेको बताएका थिए।
संसदमा विपक्षी दलहरूले प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने माग गरिरहेका छन्। विपक्षीको दबाबपछि १५ मिनेट बैठक स्थगित गरेर प्रधानमन्त्रीलाई भेट्न पुगेका सभामुख अर्याल प्रधानमन्त्रीबाट निराश बनेर फर्किएका थिए।
संसदमा उपस्थित हुन अटेर गरेका प्रधानमन्त्री वालेन्द्र शाह भने सामाजिक सञ्जालमा केही शब्द लेख्ने, तस्बिर पोस्ट गर्छन्। संसदमा जानु परे एलर्जी भएजस्तो व्यवहार गर्ने आरोपसमेत उनीमाथि लागेको छ।
संसदमा प्रत्यक्ष जवाफ दिन नआउने तर सामाजिक सञ्जालमार्फत सन्देश दिने शैलीप्रति सांसदहरूले प्रश्न उठाइरहेका छन्। केही दिनअघि प्रधानमन्त्री वालेन्द्र शाहले दुग्ध विकास संस्थानको चिज खाएको तस्बिर सार्वजनिक गरेपछि त्यसको पनि संसदमा चर्चा भएको थियो।
किसानले भुक्तानी नपाउने तर प्रधानमन्त्रीले चिज खाएको तस्बिर भाइरल हुने अवस्था रहेको भन्दै संसद् बैठकमा राप्रपा सांसद खुश्बु ओलीले प्रधानमन्त्रीको सुन्दर तस्बिर देखिएको तर किसानले भुक्तानी नपाएको टिप्पणी गरिन।
संसदमा विरोध गर्ने नयाँ शैली अपनाएको श्रम संस्कृति पार्टीले प्रधानमन्त्री वालेन्द्र शाह संसद्को सदस्य हो कि होइन भन्ने प्रश्न गरेको छ। झापा निर्वाचन क्षेत्र नं ५ मा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका वालेन्द्र शाह संसद् सदस्य हो, होइन भन्ने प्रश्न संसदमा आउँदै नआएपछि गर्नु परेको संसदीय दलका नेता हर्क साम्पाङले बताए।
उनले संसद्प्रति उत्तरदायी र जिम्मेवार नहुने हो भने मार्ग प्रशस्त अर्थात् राजीनामा दिन प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।
प्रधानमन्त्रीको निरन्तर अनुपस्थितिले संसद्को गरिमा कमजोर बनेको र जनप्रतिनिधिमाथिको जबाफदेहितामै प्रश्न उठेको विपक्षी दलहरूको आरोप छ। विपक्षी दलको नाराबाजी र होहल्ला हुँदासमेत सभामुख डोलप्रसाद अर्याल प्रधानमन्त्री वालेन्द्र शाहलाई रुलिङ गर्न नसकी निरीह बनेको आरोप सांसदहरूले लगाएका छन्।
सरकारको ध्यानाकर्षण मात्रै गराएका सभामुखले सदनको मर्यादा कायम गर्न प्रभावकारी भूमिका खेल्न नसकेको टिप्पणी भइरहेको छ। प्रधानमन्त्री वालेन्द्र शाहलाई संसद् भन्ने बित्तिकै ‘एलर्जी’ हुन थालेको आरोप सांसदहरूले लगाएका छन् भने सभामुख अर्यालको भूमिकामाथि पनि प्रश्न उठाइएको छ।
प्लेकार्ड बोकेर प्रधानमन्त्रीलाई संसदमा बोलाउन माग गरिरहेका हर्क राईलाई सभामुखले पटकपटक अमर्यादित नहुन चेतावनी दिएका थिए। हर्कलाई चेतावनी दिने सभामुख अर्याललाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद निष्कल राईले आफ्नो विगत सम्झिन सुझाव दिएका छन्।
प्रतिपक्षी दलका सांसदहरूको निरन्तर दबाब र संसद् अवरोधले सत्तारुढ दलकै सांसदहरूलाई समेत दिक्क बनाएको छ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री वालेन्द्र शाहलाई संसदमा आएर सम्बोधन गरिदिन सार्वजनिक आग्रह गरेकी छन्।
“कतिदिनसम्म सांसदहरूले घण्टौँसम्म अवरोध खेपिरहनु पर्ने हो?” भन्ने प्रश्न उनले उठाएकी छन्। दुईतिहाइ नजिकको सरकार संसद्प्रति उत्तरदायी र जबाफदेही नहुँदा चौतर्फी प्रश्न उठिरहेको छ।
प्रधानमन्त्रीको अनुपस्थिति, ‘मुर्दावाद’ का नाराबीच जबरजस्ती बैठक सञ्चालन गरिएको अवस्था र प्रधानमन्त्रीसँग सभामुखको भूमिका निरीह देखिएको टिप्पणी भएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.