काठमाडौं – नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त पहलमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) अन्तर्गत नेपालमा दिगो पर्यटनको अन्तर्राष्ट्रिय प्रवर्द्धनलाई प्रभावकारी बनाउने उद्देश्यसहित ‘इन्टरनेशनल मार्केटिङ स्ट्राटेजी एन्ड फाइभ इयर एक्सन प्लान’ सम्बन्धी अन्तिम प्रमाणीकरण प्रस्तुति तथा कार्यशाला सम्पन्न भएको छ।
नेपाल पर्यटन बोर्डको सभाहलमा सोमबार आयोजित कार्यक्रममा नेपाललाई विश्व पर्यटन बजारमा प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न प्रभावकारी बजारीकरण रणनीति अपरिहार्य रहेकोमा जोड दिइयो।
कार्यक्रममा अन्तर्राष्ट्रिय पर्यटकसँगै नेपाली आन्तरिक पर्यटन बजार पनि पर्यटन उद्योगको महत्त्वपूर्ण आधार बन्दै गएको उल्लेख गरिएको थियो। पर्यटन व्यवसायलाई वर्षभरि चलायमान बनाउन विदेशी पर्यटकसँगै आन्तरिक पर्यटकको योगदान महत्त्वपूर्ण रहेको धारणा सहभागीहरूले राखे।
एसटीपीका राष्ट्रिय परियोजना संयोजक खड्गविक्रम शाहले पर्यटन प्रवर्द्धनका लागि स्पष्ट रणनीति र समन्वित प्रचार आवश्यक रहेको उल्लेख गर्दै कार्यक्रमका उद्देश्यबारे प्रकाश पारे।
कार्यशालामा विश्वव्यापी परामर्शदाता संस्था ‘बीड’ले तयार पारेको रणनीति र पाँचवर्षीय कार्ययोजना प्रस्तुत गरिएको थियो। बीडका प्रमुख कार्यकारी अधिकृत सुजिव शाक्यले सन् २०२६ देखि २०३० सम्म कार्यान्वयन हुने उक्त रणनीतिले पर्यटनलाई संख्यामा आधारित मोडलबाट मूल्यआधारित पर्यटनतर्फ रूपान्तरण गर्ने लक्ष्य राखेको जानकारी दिए।
रणनीतिमा बजार विश्लेषण, उपभोक्ता व्यवहार विश्लेषण, प्रतिस्पर्धात्मक विश्लेषण तथा वितरण प्रणाली गरी चार मुख्य पक्ष समेटिएका छन्। योजना निर्माण प्रक्रियामा १३५ जना सरोकारवालासँग परामर्श गरिएको तथा ६ वटा लक्षित समूह छलफल सञ्चालन गरिएको जनाइएको छ।
रणनीतिले विश्व पर्यटनका नयाँ प्रवृत्ति, नेपालको पर्यटन अवस्था तथा पर्यटन निर्भरताका छ वटा आधारस्तम्भको विश्लेषण गरेको छ। साथै नेपाललाई साहसिक पर्यटन गन्तव्यका रूपमा मात्र नभई संस्कृति, अध्यात्म, आरोग्य, प्रकृति र दिगो पर्यटन अनुभवको केन्द्रका रूपमा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्नुपर्नेमा जोड दिएको छ।
कार्यक्रममा सहभागीहरूले नेपालको अन्तर्राष्ट्रिय ब्रान्डिङ सुदृढ गर्न, डिजिटल मार्केटिङलाई प्रभावकारी बनाउन, नयाँ गन्तव्यको प्रवर्द्धन गर्न तथा सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्य विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए। दिगो तथा समुदायमा आधारित पर्यटन नीतिलाई प्राथमिकता दिनुपर्ने विषय पनि छलफलमा उठाइएको थियो।
नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरले नेपालका सीमावर्ती सहरहरूमा पर्यटन क्षेत्रमा ठूलो लगानी भइरहेको भए पनि समन्वित मार्केटिङ रणनीतिको अभाव रहेको बताए। उनले काठमाडौं बाहिरका सहरहरूलाई पर्यटन सञ्जालमा जोड्न बोर्डले विभिन्न पर्यटन मार्ट आयोजना गर्दै आएको जानकारी दिए।
यूएनडीपीका सहायक आवासीय प्रतिनिधि धर्म स्वर्णकारले नेपालको समृद्धिको आधार नै पर्यटन भएको उल्लेख गर्दै यसलाई पूँजीमा रूपान्तरण गर्न अझै चुकिरहेको टिप्पणी गरे। उनले भने, “नेपालको पर्यटनका विविध आयाम भएका कारण संख्या पनि उत्तिकै महत्त्वपूर्ण छ। तर अझै मूल्यमा आधारित पर्यटन रणनीति नै आजको आवश्यकता हो।”
कार्यक्रममा बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, नेपाल पर्वतारोहण सङ्घ, नाटा, होटल व्यवसायी सङ्घ, इसिमोड, नारा, मायाको पहिचान नेपाललगायत विभिन्न पर्यटन क्षेत्रका सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
एसटीपीका परियोजना प्रबन्धक धर्मराज दवाडीले कार्यशालाबाट प्राप्त सुझावसमेत समेटेर रणनीतिलाई अन्तिम रूप दिइने जानकारी गराए। उनले नेपाल पर्यटन बोर्डको भावी अन्तर्राष्ट्रिय मार्केटिङ रणनीति परिमार्जन गर्न तथा नेपाललाई दिगो पर्यटन गन्तव्यका रूपमा विश्व बजारमा थप प्रभावकारी ढङ्गले स्थापित गर्न यो रणनीतिले सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.