काठमाडौं – संसदमा सत्ता पक्ष र प्रतिपक्षी आमनेसामने भएका छन्। प्रधानमन्त्री वालेन्द्र शाहको अनुपस्थितिलाई लिएर सत्तापक्षका सांसदहरू बचाउमा उत्रिएका छन् भने प्रतिपक्षी दलका सांसदहरूले संसदीय उत्तरदायित्वमाथि प्रश्न उठाउँदै आक्रोश पोखेका छन्।
प्रधानमन्त्री संसदमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने संसदीय मूल्य र मान्यतालाई नकुल्चन विपक्षी दलले खबरदारी गरेका छन्। विपक्षीको विरोधमा सत्तापक्षका सांसदहरू प्रतिवादमा उत्रिएका छन्।
जेनजी आन्दोलनको बलमा बनेको सरकारमा सञ्चारमन्त्री पड्काएका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले चिच्याएरै तमासा नदेखाउन प्रतिपक्षी दलहरूलाई घोचपेच शैलीमा जवाफ दिए।
सञ्चारमन्त्री हुँदा भएको निर्णयको जिम्मेवारी नलिने अभिव्यक्ति दिएको आरोप खेपेका तथा संसदमा समय लिएर पत्रकारिताको ग्रेड निर्धारण गरिदिएका खरेलको ‘तमासा’ शब्द असंसदीय भएको आरोप लाग्यो। नेकपाका सांसद रमेश मल्लले खरेलले प्रयोग गरेको ‘तमासा’ शब्द संसद्को रेकर्डबाट हटाउन माग गरे।
सांसद खरेल प्रतिवादमा उत्रिनै हाले। उनले ‘तमासा’ शब्द असंसदीय नभएको जिकिर गरे। नेपाली शब्दकोशमा हल्लाखल्ला वा कोलाहल भन्ने अर्थमा प्रयोग हुने भाषा नै आफूले प्रयोग गरेको दाबी गरे।
सभामुख डोलप्रसाद अर्यालले ‘तमासा’ शब्दलाई पेन्डिङमा राखे। रेकर्डबाट हटाउन भनेनन्। प्रधानमन्त्री वालेन संसदमा उपस्थित हुनुपर्ने माग गर्दै विरोध गरिरहेका बेला मर्यादापालकहरूले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद गीताकुमारी सेन्दाङलाई बैठक कक्ष बाहिर निकाले।
मोबाइलबाट बैठकको फोटो/भिडियो खिचिरहेकी सेन्दाङलाई सभामुखको कानेखुसीमा बाहिर निकालेको आरोप लागेको छ। नेपाली कांग्रेसका सचेतक निष्कल राईले सभामुखको स्पष्ट आदेशबिना मर्यादापालकहरूले सांसद सेन्दाङलाई घेरेर बाहिर निकालेको बताए।
संसदीय प्रक्रियाभन्दा कानेखुसीका आधारमा सदन सञ्चालन हुन नसक्ने बताउँदै संसद्को गरिमा जोगाउन सभामुखले निष्पक्ष भूमिका खेल्नुपर्ने उनले बताए।
प्रतिपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहसँगै सभामुख डोलप्रसाद अर्यालमाथि पनि प्रश्न उठाएका छन्। सभामुख निरीह बनेको र प्रतिपक्षी सांसदहरूलाई पेलेर सदन सञ्चालन गर्न खोजिएको आरोप विपक्षी सांसदहरूले लगाएका हुन्।
संसदमा प्रधानमन्त्रीको उपस्थितिको सुनिश्चितता गराउन सभामुखले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन्।
सत्तापक्षका सांसद कबिन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीको सचिवालयमा कुरा भएको भन्दै प्रधानमन्त्री एक हप्ताभित्र संसदमा उपस्थित हुने आश्वासन दिए।
प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न सभामुखलाई निरन्तर दबाब दिँदै आएका छन्। संसदीय अभ्यासअनुसार प्रधानमन्त्रीले हरेक महिनाको एक घण्टा संसदमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था संसद् नियमावलीमा राखिएको छ।
अघिल्ला संसदमा रास्वपाका सांसदहरूले मन्त्री तथा प्रधानमन्त्री उपस्थित नभएसम्म संसद् चल्न नसक्ने चेतावनी दिने गर्थे। रोष्ट्रम अगाडि पलेँटी कसेर बस्थे। तर अहिले उनीहरू सत्तापक्ष भएका छन्। संख्याका आधारमा कमजोर प्रतिपक्षी पाएको सरकार पेलेरै गइरहेको छ।
प्रधानमन्त्री वालेन सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएदेखि यता संसदमा पाइला टेक्न पनि गएका छैनन्। प्रधानमन्त्री संसदमा आउने भनिए पनि मिति भने अझै टुङ्गो लागेको छैन। विपक्षी सांसदहरूले प्रधानमन्त्री संसदमा उपस्थित हुने निश्चित मिति तोकेर रुलिङ गर्न सभामुख अर्याललाई आग्रह गरेका छन्।
सभामुख अर्यालले प्रधानमन्त्री वालेन छिट्टै संसदमा आउने र सांसदहरूको प्रश्नको जवाफ दिने तयारी भइरहेको जानकारी पटक–पटक गराए। प्रधानमन्त्रीलाई संसदमा उपस्थित हुन औपचारिक रुलिङ भने गरेनन्, न त निश्चित मिति नै तोके। सभामुख अर्यालले ‘छिट्टै आउनुहुन्छ’ भन्ने जवाफ मात्रै दिइरहे। उनले ‘रुलिङ पनि यही त भन्ने होला नि’ भने।
श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रधानमन्त्री वालेन्द्र शाहलाई पैसा तिरेर भए पनि संसदमा ल्याउनुपर्ने टिप्पणी गरे। प्रधानमन्त्री लगातार अनुपस्थित रहँदा संसद्को प्रभावकारिता र जनप्रतिनिधिको भूमिकामाथि नै प्रश्न उठ्न थालेको उनले बताए।
सभामुख अर्यालले फेरि पनि प्रधानमन्त्री संसदमा आउने बताउँदै सदनको कारबाही अगाडि बढाउन विपक्षी दलहरूसँग अनुरोध गरे। संसद् अवरुद्ध हुँदा कानुन निर्माणमा बाधा पुग्ने बताए।
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन उपस्थित नभएपछि प्रतिपक्षी दलहरूले लगातार विरोध जनाउँदै आएका छन्। सभामुख अर्यालको अनुरोधमा संसद्को बाँकी कारबाही अगाडि बढेको छ। संसद् बैठक बुधवार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.