काठमाडौँ – काठमाडौँ महानगरपालिका सहकारी विभागको रोहबरमा बुद्ध दर्शन सेभिङ् एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले ३४ जना बचतकर्ताको बचत रकम फिर्ता दिएको छ।
महानगरपालिकाको वडा नम्बर ६ मा सञ्चालित सहकारी संस्थाले १ लाख ५० हजार रुपैयाँसम्म बचत गर्ने ७० जना बचतकर्तालाई बोलाएको थियो। सहकारी संस्थाका उपाध्यक्ष रविन लामाका अनुसार बाँकी बचतकर्ताहरूले बुधवार रकम फिर्ता लिन पाउनेछन्।
सहकारीले आगामी १ महिनाभित्र ५ लाख रुपैयाँसम्म बचत गर्ने बचतकर्ताको रकम फिर्ता दिने योजना बनाएको छ। ठुला बचतकर्ताका हकमा सहकारी विभागसँग समन्वय गरेर ऋणीहरूलाई पनि ताकेता गर्ने र बचतकर्ताको पनि बचत रकम फिर्ता गर्दै जाने तयारीमा छौँ, उपाध्यक्ष लामाले भने।
सहकारीमा कम बचत गर्नेले १ हजार ११५ रुपैयाँ र धेरै बचत गर्नेले ८० लाख रुपैयाँसम्म रकम जम्मा गरेको लामाको भनाइ छ।
सहकारी विभागले बचत फिर्ता र ऋण असुली दुवै प्रक्रियामा सहजीकरण गरिरहेको जनाएको छ। विभागका प्रमुख ध्रुवकुमार काफ्लेले बचत रकम फिर्ताका लागि गरिने सहजीकरण प्रक्रियाबारे जानकारी दिँदै भने, ‘माग दाबी सहितको निवेदन लिन्छौँ। संस्थाका सञ्चालक र बचत फिर्ता माग गर्नेकाबीच छलफल तथा मिलापत्र गराउने प्रयास गर्छौँ। संस्थाको सञ्चालक समितिको निर्णय अनुरोध अनुसार ऋणीलाई एसएमएस, रजिष्ट्री पत्र र सार्वजनिक सूचनाबाट ऋण चुक्ता गर्न सन्देश र अनुरोध पठाउँछौँ।’
यो प्रक्रिया वडाबाट प्रारम्भ हुन्छ। वडा अध्यक्षलाई सम्बोधन गरेर निवेदन दिएपछि वडा महिला सञ्जालबाट छलफल र मेलमिलापको प्रक्रिया थालनी हुन्छ। सहकारीको चेक बाउन्स वा ऋणीको चेक बाउन्सका हकमा म्याद भित्र निवेदन प्राप्त हुन आए कारबाहीका लागि विभागले सिफारिस गर्ने, काफ्लेले जानकारी दिए।
वडा स्तरको मेलमिलापबाट नटुङ्गिएमा विभागले मिलाउन प्रयास गर्छ। यस क्रममा संस्थाका सञ्चालक सम्पर्कमा आउन अटेर गरेमा कारबाहीको सिफारिस गरिन्छ। ऋणीले ऋण भुक्तानी नगरे कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस पठाइन्छ।
यस प्रक्रियाबाट एकमुष्ट वा किस्तामा बचत रकम र ऋण फिर्ता हुने गरेको छ। संस्था बन्द गरेकाको हकमा सम्पर्कमा नआउनेका हकमा एसएमएस र पत्रमार्फत सूचना दिने तथा कारबाहीका लागि पठाउने गरिएको छ।
काठमाडौँ महानगरपालिकाभित्रका ७२६ वटा सहकारी संस्था सम्पर्कमा छन्। १ हजार १८६ वटा संस्था सम्पर्कमा छैनन्।
महानगरपालिकाको सहकारी विभागले वडा महिला सञ्जाललाई पत्र पठाएर सहकारीका सिद्धान्त, व्यवसाय प्रवर्धन तथा सुशासन कायम राख्न सहयोग तथा समन्वयको भूमिका निर्वाह गर्न जिम्मेवारी दिएको छ। सामूहिक हित, समन्वय तथा मेलमिलापमार्फत समस्या समाधान गर्ने उद्देश्यले यस सञ्जाललाई सहकारी सम्बन्धी कार्य विवरण थप गरिएको विभागका प्रमुख काफ्लेको भनाइ छ।
यस कामका लागि वडा महिला सञ्जालका संयोजक र सदस्यहरूको संलग्नता रहनेछ। मेलमिलाप तथा छलफलका लागि सहकारी संस्थाको तर्फबाट सहकारी संस्थाका प्रतिनिधि, ऋणीका हकमा स्वयं ऋणी तथा बचतकर्ताका हकमा स्वयं बचतकर्ता सहभागी हुनेछन्।
यसका लागि काठमाडौँ महानगरपालिका क्षेत्राधिकार भई सम्बन्धित वडा क्षेत्रमा पर्ने सहकारी संस्था सम्बन्धी बचतकर्ताको बचत रकम फिर्ताको एकल वा संयुक्त निवेदन लिनेछ। सहकारी संस्था वा ऋणीलाई एसएमएस पोर्टलबाट वा पत्राचारका माध्यमबाट सम्पर्क गरेर बोलाउनेछ।
मेलमिलापका लागि संस्थाको नाम, ठेगाना, दाबी गरिएको रकम सम्बन्धी विवरण, सम्पर्क नम्बर, तमसुक सहितको अभिलेख लिनेछ। छलफल र मेलमिलापसँगै सहकारी संस्थाबाट ऋण लिएर ऋण नतिर्ने ऋणीहरूबाट ऋण उठाउन सहजीकरण गर्नेछ।
वडाबाट सूचना गएपछि पनि ऋणीहरूले ऋण तिर्न कुनै चासो नदेखाएमा वा सम्पर्कमा नआएमा त्यस्ता ऋणीहरूको सार्वजनिक आधारभूत सेवामा के कस्ता प्रतिबन्ध लगाउन सकिन्छ भन्ने विषयमा वडा अध्यक्ष र विभागलाई सुझाव दिनेछ। यस्तो कारबाही हुन सक्ने प्रावधानबारे सम्बन्धित ऋणीहरूलाई जानकारी गराउनेछ।
सहकारी विभागलाई वडाभित्रका सहकारी संस्थाको वित्तीय अवस्था, बचत फिर्ता, ऋण असुली तथा सदस्य हित सम्बन्धी समस्याको जानकारी गराउनेछ। सहकारी संस्थामा सुशासन, पारदर्शिता तथा उत्तरदायित्व कायम गराउनेछ।
सहकारी सम्बन्धी समस्या समाधानका लागि निकायगत समन्वय गर्नेछ। सहकारी संस्थाको वित्तीय सुशासन अन्तर्गत साधारण सभामा वित्तीय प्रस्ताव सम्बन्धी व्यवस्था, लेखा परीक्षण, कर कार्यालयमा सालबसाली कर दाखिलाको नियमितता जस्ता विषयमा जानकारी राख्नेछ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.