नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

144
SHARES

काठमाडौं – नागरिक लगानी कोष र नबिल बैङ्क लिमिटेडबीच बैङ्कका कर्मचारीहरूको अवकाश कोषको व्यवस्थापन गर्ने सम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौतामा कोषका निर्देशक छबिरमण अधिकारी र बैङ्कका मानव संसाधन विभाग प्रमुख दिवस कार्कीले हस्ताक्षर गरेका छन्।

सम्झौतामा योगदानमा आधारित भए-नभएको उपदान कोष तथा अतिरिक्त अवकाश कोषको व्यवस्थापन गर्ने, गराउने व्यवस्था रहेको छ। बैङ्कका कर्मचारीहरूले मासिक वार्षिक रूपमा कोष कट्टी गरी नियमित रूपले लगानी कोषमा रकम जम्मा गर्नुपर्ने छ।

कोषले बैङ्कका कर्मचारीहरूको व्यक्तिगत खाता तयार गरी अभिलेख राख्ने छ। बैङ्कको सिफारिसमा सेवा निवृत्त कर्मचारीलाई अवकाश रकम भुक्तानी गर्ने व्यवस्था कोषले गर्नेछ।

त्यसैगरी, बैङ्कका कर्मचारीहरूले कोषमा जम्मा भएको रकममा नागरिक लगानी कोष ऐन, नियम, विनियम, निर्देशिका एवम् कार्यविधिमा उल्लेख भए अनुसार ब्याज, प्रतिफल तथा अन्य सेवा–सुविधा प्राप्त गर्नेछन्।

बैङ्कको अवकाश कोष योजनाको व्यक्तिगत खातामा रहेको रकम, ऋण रकम तथा लगानी सहितको विवरण कोषलाई बुझाउनुपर्ने व्यवस्था पनि रहेको छ।

कोषले अवकाश वा सेवा निवृत्त भएका कर्मचारीलाई नियमानुसार कर कट्टा गरी भुक्तानी उपलब्ध गराउनेछ। त्यसको लागि बैङ्कले आफ्ना कर्मचारीहरूको विवरण कोषलाई उपलब्ध गराउने, मासिक तथा वार्षिक रूपमा कट्टा गरिएको रकम सम्बन्धित कोषमा जम्मा गर्ने तथा सेवा निवृत्त कर्मचारीहरूको अवकाश रकम भुक्तानीका लागि सिफारिस गर्नुपर्ने छ।

योसँगै आयकर ऐन २०५८ बमोजिम स्वीकृत अवकाश कोषका रूपमा सञ्चालित साबिकका अवकाश कोषहरूमा रहेको बैङ्कको कर्मचारीहरूका अवकाश, उपदान र अतिरिक्त अवकाश कोषको रकम कोषमा रकमान्तरण गरिने पनि सम्झौतामा उल्लेख छ।

समाचार शेयर गर्नुहोस्
144
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.