कब्जियत अथवा कन्स्टीपेसन आम मानिसमा हुने समस्या हो। के बच्चा के युवा युवती के बुढाबुढी सबैमा देखा पर्ने समस्या हो कब्जियत। विशेष गरेर नेपालीहरूमा देखा पर्ने कब्जियत पेट रोगको मुख्य कारण मानिन्छ। दिनमा धेरै पटक तर थोरै थोरै र असन्तुष्ट रूपमा या दुई या तिन दिनको फरकमा या सो भन्दा पनि धेरै दिनमा मात्र दिशा लाग्नु कब्जियत हो। जसरी हामी कम्तीमा दिनमा दुई पटक खान्छौ त्यसरी नै बिहान बेलुका गरेर दुई पटक सन्तुष्ट पूर्वक दिशा लाग्नु या दिशा बस्नु स्वास्थ्यका लागी सबै भन्दा उत्तम मानिन्छ।
हाम्रो पाचन तन्त्रमा विशेष प्रकारको बनावट हुन्छ र सोही अनुसार सञ्चालित हुन्छ। एउटा जवान मानिसमा ८ मिटर लामो पाचननली अथवा आन्द्रा हुन्छ। मुखबाट सुरु भएर मलाशय (गुद्धार) सम्मको लामो यात्राबाट हामीले खाएको खानेकुरा पचेर मलको रूपमा बाहिर निस्किन्छ। आन्द्रा अथवा पाचन नलीको माथिबाट तल खुम्चिँदै जाने (पेरिस्टाल्टिक मोभमेन्ट) प्रक्रिया अनुसार नै मुखबाट खाएको खानेकुरा आन्द्रामा शोषण हुँदै मलाशयसम्म पुग्दछ।
खानामा भएको आवश्यक तत्त्व सानो आन्द्रामा शोषण भए पनि धेरैजसो पानीको मात्रा भने ठूलो आन्द्रामा पुगेर शोषण हुने हुँदा आन्द्राका सबै भागको आ–आफ्नै महत्त्व हुन्छ। यसको अर्थ यो पनि हुन आउँछ की ठूलो आन्द्राको काम पानी र केही खनिजको शोषण हुनका लागी हो। त्यसैले पनि त्यहाँसम्म पुग्ने गरी पानी पिउनु पर्ने हुन्छ। यदि हामीले खेत रोपेर पानी लगाएनौ भने खेत सुख्खा हुन्छ, फुट्छ, बाली राम्रो हुँदैन। त्यसरी नै ठुलो आन्द्रासम्म पुग्ने गरी पानी नपिएमा ठुलो आन्द्रा सुख्खा भएर मल पनि सुख्खा हुन पुग्छ। कारण ठूलो आन्द्राले निकाल्नु पर्ने चिप्लो पदार्थ निकाल्न नसकेर दिसा अथवा मल सजिलै मलाशयसम्म ल्याउन सक्दैन र मलाशय पनि सुख्खा भएका कारण मल बाहिर आउन सक्दैन। मलाशय र केही माथि मल जम्मा भएर बस्छ। यसका कारण बिरामीले अनेक खाले समस्या भोग्नु पर्छ।
हामी मानिस स्वभावले नै शाकाहारी प्राणी हौँ। हाम्रो आन्द्राको बनोट पनि त्यही किसिमको र लामो हुन्छ। तर, पशुप्राणीको आन्द्रा छोटो हुन्छ। उनीहरूले खाएको खानेकुरा १२ घण्टामै पचेर गोबरको रूपमा बाहिर निस्किन्छ। तर, हामी मानिसको भने कम्तीमा १४ देखि ३० घण्टा लाग्छ। यता कुनै पनि वस्तु या मासु जन्य वस्तु कुहिन या सड्न १२ देखि २० घण्टा काफी हुन्छ। अझ गर्मीमा त ६ घण्टा नै काफी हुन्छ। यस्तो अवस्थामा हाम्रो शरीरमा रहेको तापक्रम पनि गर्मी बराबरकै हुने हुँदा खाएको खानेकुरा सड्न धेरै समय लाग्दैन। परिणाम शरीरभित्र नै दुर्गन्ध फैलिन थाल्छ। यस्तो वस्तुलाई चाँडो बाहिर फ्याँक्नु पर्नेमा यदि आन्द्रामा नै रहिरहेमा के हुन सक्छ हामी आफै अनुमान लगाउन सक्छौ। त्यही ढिलो र लामो समयसम्म आन्द्रामा रहने हुँदा मल धेरै गनाउने भएको हो पशुको भन्दा।
कारणहरू : कब्जियत हुने धेरै कारणहरू हुन्छन्। मुख्य कारणहरूमा पहिलो त आफूले खाएको अनावश्यक खाना नै हो। अर्को कारण भनेको खानामा रहने या पाइने रेसा (फाइबर) को मात्रमा कमी। यसरी नै शारीरिक व्यायामको कमी, अनावश्यक चिन्ता, निद्राको कमी, विभिन्न औषधीको सेवन। अर्को महत्त्वपूर्ण कारण भनेको पानीको कमी अथवा थोरै पानी या झोल पदार्थको सेवन। दिनभर चिया पिउँदै या चिसो पेय पदार्थ पिउँदै एकै ठाउँमा बसेर काम गर्नु। यी लगायतका अन्य कारणहरू जस्तै समयमा चर्पी नजाने, लामो समयसम्म थामेर बस्ने, जति बेला पनि जाने तर बिहान बेलुका या घरमा हुने समयमा नजाने, धेरै समय यात्रामा बिताउने, बजारमा बनेका (फास्ट फुड) को सेवनमा रमाउने जस्ता कारणबाट पनि कब्जियतको समस्या हुने गर्छ। यसरी नै खानामा माछा मासुको ज्यादा सेवन, सागपातको कमी, खुर्सानी, तेल र मसला या धेरै चिसो या तातो पेय पदार्थ अनि लामो समयसम्म उपवास जस्ता कारणबाट कब्जियत हुने गर्छ।
कब्जियतबाट हुनसक्ने रोगहरू : मुख्य रोगमा पायल्स या हर्सा र पेटका रोगहरू जसलाई हामी ग्यास्ट्रिक भनेर जान्ने गर्छौ। यसको अलावा हातखुट्टा पोल्ने झमझम गर्ने, निद्रा नलाग्ने, भोक नलाग्ने अनि जिउ पोल्ने र टाउको दुख्ने समस्या देखा पर्न सक्छन्। यसका साथै अन्य रोग बढाउन पनि भूमिका खेलिरहेको हुन्छ। दम रोगलाई बढाउन पनि यसले भूमिका खेल्छ।
उपचार : कब्जियत कुनै ठूलो रोग होइन। यसको आफैले पनि घरमै उपचार गर्न सकिन्छ। यसका लागी हामीमा उच्च मनोबल, व्यायाम, सादा खानेकुरा र अलिक बढी पानीको आवश्यकता पर्छ। हरेक दिन बिहान आधा देखि एक लिटरसम्म मनतातो पानी पिउने बानी बसाउनु पर्छ। घर वरिपरि नै भए पनि केहीबेर हिँड्ने बानी बसाउनु पर्छ। शौच अनिवार्य जाने बानी बसाउनै पर्छ। लाग्दैन भनेर नजाने गर्दा समस्या बढेर जाने हो। पानी पिएको आधा घण्टामा थोरै खाजा खाने बानी भए उत्तम यदि छैन भने पनि कालो चिया या ग्रिन टि पिउनु उत्तम हुन्छ। धेरै कब्जियत हुनेले बिहान खाली पेटमा एउटा स्याउ खानु उत्तम हुन्छ। काम र व्यस्तता अनुसार खानाको समय एकै नहुन सक्छ। चाहे जे होस बिहानको खाना ११ बजे सम्ममा खाइसक्नु राम्रो हो। बिहान खाली पेटमा दूध चिया हानिकारक हुन्छ। दिउसो हल्का नास्ता र बेलुका सके सुख्खा रोटी खानु अत्यन्तै राम्रो हो। त्यसमा पनि पेटका बिरामी, कब्जियत हुने र पायल्सका बिरामीलाई त धेरै राम्रो हो। दिनमा सकेको फलफूल, खानासँग सागपात, सलाद उचित हुन्छ। माछा मासु सकेसम्म बेलुकाको खानामा नखाएर बिहानको खानामा राम्रो हुन्छ। चिल्लो, पिरो या माछा मासु खाएको केही घण्टापछि फलफूल खानु कब्जियत हुनबाट बच्ने उपाय हो। यसरी नै राती सुत्नुअघि, दूध या पानी पिउनु हृदयाघात र कब्जियतबाट बच्ने उत्तम उपाय हो। यदि माथिका उपायहरूबाट पनि समस्या रही रहेमा होमियोप्याथिक या आयूवैदिक चिकित्साबाट समस्याको समाधान खोज्न सकिन्छ।
(डा. नेउपाने रीता होमियो क्लिनिक दमकका सञ्चालक हुन्।)
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.