काठमाडौँ – बाहिरबाट हेर्दा काठमाडौँ सहरको बसाई लोभलाग्दो देखिन्छ। बाहिरबाट हेर्दा जति लोभलाग्दो छ, सहरभित्रको सामाजिक अन्तरघुलन त्यत्तिकै उकुसमुकुस पनि छ। जेठ १५ गते काभ्रेपलान्चोक जिल्लाको पलान्चोक विजेश्वरी भवानीको दर्शन गर्न पुगेका वडा नं. ११ क्षेत्रका ज्येष्ठ नागरिकहरूको अभिव्यक्ति र खुला ठाउँमा पुग्दाको खुसीले यस्तै बताइरहेको थियो।
सहर र घरमा एक्लिँदै गएका ७० वर्ष उमेर पुगेका १२५ जना ज्येष्ठ नागरिकलाई वडा नं. ११ कार्यालयले तीर्थाटन गराउन पलान्चोक लगेको थियो। गाडीमा आफूजस्तै पाका उमेरका व्यक्तिहरू देख्दा, समूहमा देवीको दर्शन गर्न पाउँदा, आफ्नै उमेरकासँग सामूहिक खाना र खाजा खाँदा उनीहरूको अनुहारमा उज्यालो देखिँदै थियो।
तीर्थाटनमा सहोदर दाजुभाइ ८७ वर्षीय हीरामान डङ्गोल र ८५ वर्षीय मचाम डङ्गोल एकैसाथ थिए। उनीहरूले एकै ठाउँमा उभिएर अनुभव सुनाउँदै भने, ‘सहरमा म मात्र एक्लो होइन। मजस्तै अरू पनि एक्लै हुनुहुँदो रहेछ भन्ने देख्न पाइयो। एक्ला-एक्लाहरुकाबीचमा भेटघाट गर्न पाउँदा त उमेर नै बढेको जस्तो भयो। मजस्तै बिरामी भएका अरू पनि हुनुहुँदो रहेछ। यो पनि थाहा भयो। उहाँहरूलाई देखेर मलाई त बाँच्न आत्मबल बढ्यो।’
उनीसँगै यात्रामा रहेका ७७ वर्षीय कन्हैयाराज श्रेष्ठले विगत सम्झिँदै भने, ‘म बन कार्यालयको उपमहानिर्देशक पदबाट रिटायर्ड भएको हू। त्यो बेला सम्झँदा अहिले लाग्छ, ‘पदमा हुँदा मान्छे धरातलमा होइन। हावामा उडेको हुन्छ। आफूलाई अरूभन्दा माथि भएको लाग्छ। कसैलाई गन्दैन। कसैले भनेको मान्दैन। मलाई पहिलेका कुरा सम्झँदा अहिले लाग्छ, ‘त्यसबेला सबै निरर्थक काम गरिएछ।’

वडाले ज्येष्ठ नागरिकका लागि कार्यक्रम आयोजना गरेर आफू जस्ता व्यक्तिलाई सामाजिकीकरण गराएको अनुभूति उनले सुनाए। उनले भने,’यसले जीवनप्रति ऊर्जा थपिएको छ। सामाजिक दुरी घटाएको छ।’
८० वर्षीया रत्नेश्वरी श्रेष्ठ गोर्खालीले धेरैपछि यसरी घुम्न पाएकोमा आनन्द अनुभूति भएको प्रतिक्रिया दिइन। ७० वर्षकी इन्द्रलक्ष्मी महर्जनले वडाबाट यस्तै कार्यक्रम भइरहेमा मनका घाउ बिर्सिन सजिलो हुने कुरा सुनाइन।
७१ वर्षीया मीरा डङ्गोल महर्जन र ७५ वर्षीया हिरामाया महर्जनले अनुभव सुनाउँदै भने, ‘मान्छेलाई सन्तोषसँग बाँच्न धनले मात्र नहुँदो रहेछ। समाज र आफू जस्तै व्यक्तिसँग भेटघाट चाहिने रहेछ।’
७४ वर्षीय गोपाल श्रेष्ठले तीर्थाटन अनुभव सुनाउँदै भने, ‘मोनोटनस जीवन बिताउँदै थियौँ। आज खुब रमाइलो भयो। पुराना मित्र भेट्न पाइयो। मनै हलुका भए जस्तै भयो। पीडा कम भयो।’
तपाईँहरूलाई घरमा बस्दा बस्दा दिक्क भएको रहेछ, अव महानगरपालिकाले तपाईँहरूका लागि कस्ता कार्यक्रम ल्याइदिए हुन्थ्यो जस्तो लाग्छ भन्ने प्रश्नको जवाफमा उनीहरूले भने, ‘यसरी घुमाउन लैजाने कार्यक्रम सधैँ चलाइरहनु पर्छ। औषधि किन्न जाने मान्छे, रोग जाँच्न लगिदिने मान्छे छैनन्। त्यो व्यवस्था मिलाइ दिनु पर्छ।’

यसरी ज्येष्ठ नागरिकहरूसँग अन्तर संवाद गरिरहेका महानगरपालिकाका भवन व्यवस्था समितिका संयोजक एवं वडा ११ का अध्यक्ष हीरालाल तुण्डकारले भने, ‘घरमा ज्येष्ठ नागरिक एक्लो जीवन बाँचिरहेको छ। उसका चाहना सोध्ने कोही छैन। रुचि र अरुचिका कुरा कसैले सोध्दैन। कतै घुम्न मन लाग्यो भने एक्लै जान सकिँदैन। लैजानलाई कसैसँग फुर्सद छैन।’
कुरा गर्दागर्दै आफैँ भक्कानिएका तुण्डकारका आँखामा टलपल आँसु देखिए। भावुकता सम्हाल्दै उनले थपे, ‘म पनि यस्तै अवस्थामा छु। कोही परिवार भएर पनि एक्ला छन्। कोही श्रीमती, छोराछोरी कोही नभएर म जस्तै एक्ला छन्।’ उनी अहिले ७६ वर्षको भए।
पहिलो पटक वि. सं. २०४९ सालमा वडाध्यक्ष निर्वाचित भएका तुण्डकार २०७४ साल र २०७९ को स्थानीय तह सदस्य निर्वाचनबाट वडाध्यक्ष पदमा निर्वाचित भए। वडाध्यक्ष पदमा उनले २०५४ सालको निर्वाचनमा पराजय भोग्नु परेको थियो।
वडामा तुण्डकार जस्तै धेरै ज्येष्ठ नागरिक छन्। उनीहरूमध्ये ८५० जनाले सामाजिक सुरक्षा भत्ता र पोषण भत्ता प्राप्त गरिरहेका काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ। यस वर्ष १५१ जनालाई पोषण भत्ता बापत हरेकलाई १२ हजार रुपैयाँ प्रदान गरिएको छ। यो संख्या गएको वर्ष १८१ जना थियो।

वडामा पोषण भत्ता प्राप्त गर्ने ९ जना पूर्ण अपाङ्गता भएका व्यक्ति छन्। अति अशक्त १५ जना छन्। प्यारालाइसिस भएका कारण सामान्य जीवन जिउन कठिन भएका ७ जना व्यक्ति छन्।
अन्य सेवाबाट सुविधा लिने भएकाले वडाको सम्पर्कमा नरहेका धेरै ज्येष्ठ नागरिकको वडामा बसोबास छ। उनीहरूको जीवन बिताइ भने अभिलेखन हुन नसकेको महानगरपालिकाले जनाएको छ।
वडाले यस्ता ज्येष्ठ नागरिकलाई खोजेर सामाजिक क्रियाकलापमा आबद्ध गराएर मानसिक पीडा कम गराउने कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको जनाएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.