"/>
काठमाडौं – प्रतिनिधिसभा बैठकमा कार्यसूचीबिनै रोष्ट्रममा उभिएर सांसदहरूका प्रश्नको जवाफ दिएका प्रधानमन्त्री वालेन्द्र शाह अहिले चौतर्फी दबाबमा परेका छन्। नेपालले पनि भारतीय भूमि मिचेको भन्ने वालेनको अभिव्यक्तिले सडकदेखि संसद्सम्म तरङ्ग सिर्जना गरेको छ।
प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिपछि नेपाली नागरिकको शिर निहुरिएको आरोप लागिरहेको छ। नेपालका कुनै पनि प्रधानमन्त्रीले यसअघि नदिएको अभिव्यक्ति दिएर वालेन इतिहासमा नजिर बनेर उभिएका छन्।
नेपालले भारतीय भूमि मिचेको कुरा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत भनेका छैनन्। बरु भारतले नेपाली भूमि मिचेको अभिव्यक्ति भने नेपालका हरेक प्रधानमन्त्रीले विभिन्न समयमा दोहोर्याउँदै आएका थिए।
तर वालेनले संसदमै नेपालले पनि भारतीय भूमि मिचेको बताए। उनले सीमा विवाद समाधानका लागि नेपाल र भारतमात्रै नभई इङ्गल्यान्डसँग पनि छलफल गर्न कूटनीतिक नोट पठाइएको जानकारी दिए।
भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको जमिन मिचेको आरोप लागिरहेकै बेला उनको अभिव्यक्ति आएको हो। चुच्चे नक्सा जारी गरेपछि जेनजी आन्दोलनले लखेटिएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रवादी कहलिएका थिए। जेनजी आन्दोलनपछि ओलीको ओरालो यात्रा जारी छ।
छिमेकी देश भारतलाई गाली गरेर राष्ट्रवादी कहलिने प्रतिस्पर्धा नेताहरूबीच चल्दै आएको थियो। त्यस्ता सबै राष्ट्रवादी नेताहरूलाई वालेनले संसदबाटै नयाँ तथ्य थाहा पाएको सुनाए। नेकपा एमालेकी सांसद पद्मा अर्यालले सीमा विवादबारे गरेको प्रश्नमा वालेनले सटिक तर तर्कसङ्गत जवाफ दिएका थिए।
वालेन जेनजी आन्दोलनपछि पहिलो पटक संसद् यात्रा सुरु गरेको श्रम संस्कृति पार्टीका सांसद आरेन राईको प्रश्नमा भने चिप्लिए। सीमा विवादबारे यसअघि नै जवाफ दिइसकेको भन्दै उम्कने जुक्ति उनले निकालेनन्। बरु नेपालले पनि भारतको भूमि मिचेको नयाँ तथ्य वालेनले प्रस्तुत गरे। त्यसै त बुरुकबुरुक गरिरहेका प्रतिपक्षी दलहरूलाई विरोध गर्ने गतिलो मसला दिए।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले कूटनीतिक क्षेत्रमा समेत ठूलो तरङ्ग उत्पन्न गरेको छ। प्रधानमन्त्री वालेनको अभिव्यक्तिसँगै नवलपरासीको सुस्तामा भारतीय सुरक्षा बल एसएसबी प्रवेश गरेको छ। के निहुँ पाउँ र वालेन सरकारको विरोध गरौँ भनेर मुरमुरिएर बसेको एमालेले नेता–कार्यकर्तालाई सडकमा उतारेको छ भने प्रधानमन्त्रीको राजीनामा मागेको छ।
नवलपरासीको सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले हतियारसहितका भारतीय सुरक्षाकर्मी आएर नेपाल सरकारको बजेटमा चलिरहेको तटबन्ध निर्माणको काम रोक्न लगाएको बताए। “काम रोकिएको छ। प्रशासनले गृहमन्त्रालयमा जानकारी गराइसकेको जानकारी पाएका छौँ,” उनले भने।
नारायणी नदीको कटानबाट जोगिन नेपाल सरकारको बजेटमा तटबन्ध निर्माण भइरहेको थियो। प्रधानमन्त्रीको अभिव्यक्ति आएलगत्तै उक्त काम रोकिएको गाउँपालिका अध्यक्ष उपाध्यायको भनाइ छ।
प्रधानमन्त्री वालेनको विवादित अभिव्यक्ति आएको भोलिपल्टै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणमा निस्किए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले नेपाल फर्किएपछि मात्र मिडियामा बोल्ने प्रतिक्रिया दिए। भारत भ्रमणको उद्देश्य भने उनले खुलाएनन्।
लामिछानेमात्रै होइन, रास्वपाका सांसदहरू पनि वालेनको अभिव्यक्तिमा रफ्फु लगाउँदै बचाउमा उत्रिएका छन्। परराष्ट्र मन्त्रालयले प्रेस नोट जारी गर्दै क्रस बोर्डर अकुपेशनबारे स्पष्टीकरण दिएको दियो।
तर सांसदहरूको प्रश्नको जवाफ दिएर फर्किएका वालेनको भने भोलिपल्टैदेखि संसदमा खोजी हुन थालेको छ। रोष्ट्रममा उभिएर माफी माग्नुपर्ने बटमलाइन राख्दै संसद्को कार्यसूचीसमेत स्थगित गराइएको छ। सभामुख डोलप्रसाद अर्यालले मङ्गलवार बस्ने गरी बैठक स्थगित गरेका छन्।
प्रधानमन्त्री वालेनले सस्तो लोकप्रियताका लागि आत्मघाती अभिव्यक्ति दिएको टिप्पणी भइरहेको छ। नेपालले मिचेको कुन जमिन फिर्ता दिने हो ? संसद्को रोष्ट्रमबाट जवाफ दिएपछि मात्रै सहकार्य गर्न सकिने सर्त प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद निष्कल राईले राखेका छन्।
नेपालले भारतीय भूमि मिचेको प्रमाण पेस गर्न एमालेले माग गरेको छ। अध्ययन गरेर मात्र बोल्न, नभए आफूहरूसँग सिक्न आउन एमाले सांसद ऐनबहादुर महरले सुझाव दिएका छन्।
कांग्रेस र एमालेभन्दा रास्वपासँग अलि लोयल देखिँदै आएको १० वर्षे सशस्त्र युद्धका सुप्रिमो कमान्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टीका सांसद युवराज दुलालले रास्वपा सभापति लामिछाने भारत जानु अघिल्लो दिन प्रधानमन्त्रीले दौडिएर संसदमा दिएको अभिव्यक्ति भारतलाई उपहार त होइन ? भनेर प्रश्न गरेका छन्।
प्रधानमन्त्री वालेनको अभिव्यक्तिले प्रतिपक्षी दलहरूलाई एउटै बोली बोल्न बाध्य बनाएको छ। श्रम संस्कृति पार्टीका सांसद आरेन राईले आफूले वालेनलाई प्रश्न सोधेकोमा लज्जाबोध भएको बताएका छन्। उनले संसदमा आएर माफी नमागेसम्म कार्यसूची अगाडि नबढ्ने चेतावनी दिएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री वालेनको सत्ता अनुमानका आधारमा चलेको शङ्का उत्पन्न भएको बताएको छ। संसदीय दलका नेता ज्ञानबहादुर शाहीले चिया पसलमा बोलेजस्तो प्रधानमन्त्रीले संसदमा बोल्नु सामान्य विषय नभएको बताए।
प्रधानमन्त्री वालेनको अभिव्यक्तिलाई लिएर चौतर्फी विरोध भएको छ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पनि प्रधानमन्त्रीको अभिव्यक्तिमा आपत्ति जनाएका छन्।
स्वतन्त्र नागरिक अभियानका अध्यक्ष रिसी धमलाले संसदमा प्रधानमन्त्री वालेनले आफ्नो अभिव्यक्तिको प्रमाण पेस गर्न सक्नुपर्ने बताएका छन्।
नेपालले सीमा मिचेको भारतले समेत खुला रूपमा बोल्न नसकेको विषय प्रधानमन्त्रीले सार्वभौम संसदमा उठाएपछि राजनीतिक, कूटनीतिक र सार्वजनिक वृत्तमा ठूलो तरङ्ग पैदा भएको छ। अहिले उक्त अभिव्यक्ति सच्याउन मात्रै होइन, सार्वजनिक रूपमा माफी माग्नुपर्ने दबाबसमेत प्रधानमन्त्री वालेनमाथि बढ्दै गएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.