रविलाई भारतको उच्चसम्मान, वालेनलाई झड्का

रविलाई भारतको उच्चसम्मान, वालेनलाई झड्का

रवि भारत भ्रमणबाट फर्केपछि मात्र बस्ने गरी संसद् बैठक स्थगित

66
SHARES

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह चेपुवामा परेका छन्। सीमा विवाद सम्बन्धी अभिव्यक्तिले प्रधानमन्त्री वालेन एक्लिँदै जान लागेको सङ्केत देखिएको छ। प्रधानमन्त्री वालेनले आफ्नै दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समेत साथ गुमाउने अनुमान सार्वजनिक हुन थालेका छन्।

दुई तिहाइ बहुमतको दम्भले पुलपुलिएको आरोप समेत वालेनमाथि लागेको छ। उनले आफ्नो विवादित अभिव्यक्ति सच्याउन नखोजेको हठका कारण सङ्घीय संसद्का दुवै सदन बन्धक बनेको छ। प्रधानमन्त्री वालेनको बोलीले नेपाल र भारत दुवै देशमा तरङ्ग ल्याएको छ।

सभापति रवि लामिछाने भारत भ्रमणमै रहेका बेला भारतले प्रधानमन्त्री वालेनको सीमा विवादसम्बन्धी अभिव्यक्तिको खण्डन गरेको छ। नेपाल–भारत सीमासम्बन्धी विवादमा तेस्रो पक्षको संलग्नता अस्वीकार गर्दै भारतले वालेनलाई थप झड्का दिएको छ।

तर सभापति लामिछानेसहित रास्वपाका सांसदहरू भने मौन देखिएका छन्। नेपालले पनि भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्री वालेनको अभिव्यक्ति संसारभर फैलिएको छ।

कुनै पनि देशका प्रधानमन्त्रीले आफ्नो देशले अर्को देशको भूमि मिचेको अभिव्यक्ति दिएको रेकर्ड नरहेको दाबी छ। तर वालेनले रेकर्ड राख्ने अभिव्यक्ति दिएको भन्दै आलोचना भइरहेको छ। माफी मागे पनि वा अभिव्यक्ति सच्याए पनि उनको भनाइ इतिहासका पानामा दर्ज हुने टिप्पणी भइरहेको छ।

राष्ट्रहितविरुद्धको अभिव्यक्ति बचाउन रास्वपाका सांसदहरू प्रमाण जुटाउन लागेको आरोप समेत लागेको छ। जुन अझ खतरनाक हुने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले मङ्गलवार कार्यसूचीमै प्रवेश नगरी एक साताका लागि स्थगित भएको प्रतिनिधिसभा बैठकमा धारणा राखिन्।

प्रतिनिधिसभाका सदस्य तथा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणमा छन्। रेड कार्पेट बिछ्याएर भव्य स्वागत पाएका लामिछानेले जेनजी आन्दोलनपछि झन्डै दुई तिहाइ बहुमतको शक्ति आर्जन गरेको रास्वपाको नेतृत्व गर्दै भारतमा विभिन्न भेटघाट र दौडधुप गरिरहेका छन्।

तर प्रधानमन्त्री वालेनको ‘नेपालले भारतको भूमि मिचेको’ भन्ने अभिव्यक्तिबारे लामिछाने बोलेका छैनन्। उनी भारतमा भेटघाटमै रहेका बेला भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधिर जयसवालले सीमा समस्या ९८ प्रतिशत समाधान भइसकेको दाबी गरे।

नेपाल–भारत सीमासम्बन्धी विवादमा तेस्रो पक्ष अर्थात् कुनै अन्य मुलुकको भूमिका नरहेको उनले स्पष्ट पारे। यससँगै भारतले प्रधानमन्त्री वालेनको प्रस्ताव अस्वीकार गरिदिएको टिप्पणी गरिएको छ।

प्रधानमन्त्री वालेन्द्रले आइतबार प्रतिनिधिसभामा सीमा विवादबारे दिएको अभिव्यक्तिसम्बन्धी भारतीय पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रवक्ता जयसवालले तेस्रो पक्षको भूमिका इन्कार गरेका हुन्।

प्रधानमन्त्री शाहले लिपुलेक सीमा विवादबारे चीन र बेलायतसँग पनि कूटनीतिक संवाद भइरहेको बताएका थिए। त्यसमाथि आफ्नै देश नेपालले भारतको भूमि मिचेको अभिव्यक्ति दिएका वालेनको बोलीले मर्यादित थलोका रूपमा लिइने संसदमा अमर्यादित हर्कत भएको शङ्कामा छानबिन समिति समेत गठन भएको छ। आफ्नै अभिव्यक्तिका कारण प्रधानमन्त्री वालेन आलोचित बनेका छन्।

प्रधानमन्त्रीको अभिव्यक्तिका कारण सङ्घीय संसद्का दुवै सदनका बैठकमा अवरोध कायम छ। प्रतिनिधिसभामा बोलेको विषयमा विरोध जनाइसकिएकाले अब कार्यसूचीमा प्रवेश गर्दा हुने राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बताएका छन्। राष्ट्रिय सभा बैठक पनि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ।

प्रतिनिधिसभामा प्रधानमन्त्री वालेनले माफी माग्नुपर्ने, आफ्नो अभिव्यक्ति सच्याउनुपर्नेदेखि राजीनामा दिनुपर्ने मागसमेत उठेको छ। प्रधानमन्त्री पद सम्हालेको तीन महिना नपुग्दै वालेन चौतर्फी घेराबन्दीमा परेको टिप्पणी भइरहेको छ।

प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अभिषेक शाहले विरोध गर्नुपर्ने बाध्यता रहेको बताउँदै प्रधानमन्त्रीले माफी मागेपछि मात्र संसद् चल्ने सर्त राखेका छन्।

प्रधानमन्त्री वालेनको जिब्रो चिप्लिएको हुनसक्ने कुरा स्वयं रास्वपाकै सांसदहरूले स्वीकार गरिसकेका छन्। यदि वालेनले नियतवश बोलेको भए राजीनामा गर्नुपर्ने माग सांसद गणेशसिंह ठगुन्नाले राखेका छन्।

प्रधानमन्त्री वालेनलाई संसद्प्रति जबाफदेही बनाउन श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले निरन्तर खबरदारी गर्दै आएका छन्। प्रधानमन्त्री वालेनले संसदमा जवाफ दिएको दिन हर्क गयल भएका थिए। तर वालेनले जवाफ दिएको दुई दिनपछि हर्कले सीमा विवादसम्बन्धी अभिव्यक्तिको संसदमै उपस्थित भएर जवाफ दिनुपर्ने माग गरेका छन्।

चौतर्फी विरोध र आलोचनापछि प्रधानमन्त्री वालेन सीमा विवादलगायतका प्रश्नमा पुनः सदनमा जवाफ दिन तयार रहेको दाबी सरकारका प्रवक्ता सस्मित पोखरेलले गरेका छन्। पोखरेलले नेपाल–भारत सीमा विवादबारे प्रधानमन्त्रीले यसअघि संसदमा भनेको विषय नै सत्य भएको दाबी समेत गरेका छन्। मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरूको प्रश्नको जवाफ दिँदै उनले आवश्यक परे प्रधानमन्त्रीले फेरि उत्तर दिने बताएका छन्।

तर प्रधानमन्त्री वालेन भने अझै स्पष्टीकरण दिन अनकनाइरहेका छन्। संसद्लाई थाहै नदिई छापामार शैलीमा रोष्ट्रममा उभिएर जवाफ दिने क्रममा अभिव्यक्ति चिप्लिएपछि उनी सकसमा परेको टिप्पणी भइरहेको छ। यही अभिव्यक्तिका कारण प्रधानमन्त्री पदको कुर्सीसमेत हल्लिएको दाबी गरिएको छ।

भारतीय प्रवक्ताले प्रधानमन्त्रीको प्रस्ताव इन्कार गर्दा पनि रवि लामिछाने मौन छन्। सीमा विवादबारे उनले भारत भ्रमणका क्रममा कुनै प्रतिक्रिया दिएका छैनन्।

रवि भारत भ्रमणबाट फर्केपछि मात्र बस्ने गरी सभामुख डोलप्रसाद अर्यालले संसद् बैठक स्थगित गरेका छन्। उनले आफूले बजेटभन्दा गम्भीर विषय नेपालको सीमा हाेइन नभनेकाे स्पष्टीकरण दिँदै एक सातापछि बस्ने गरी संसद् स्थगित गरेका हुन्।

प्रधानमन्त्री वालेनलाई संसदमा आएर जवाफ दिन रुलिङ गर्न नसकेका सभामुख अर्यालले रास्वपा सभापति लामिछानेलाई कुरेको टिप्पणी भइरहेको छ। रवि भारत भ्रमणबाट फर्केपछि मात्र बस्ने गरी संसद् बैठक स्थगित गरिएकाले अबको बैठकमा प्रधानमन्त्री वालेन उपस्थित नभए पनि सांसदहरूको प्रश्नको जवाफ रविबाट दिलाउने रणनीति अपनाइएको हुनसक्ने टिप्पणीसमेत गरिएको छ।

समाचार शेयर गर्नुहोस्
66
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.