“मोदी–रवि भेटले खुलायो नेपाल–भारत संवादको ढोका”

“मोदी–रवि भेटले खुलायो नेपाल–भारत संवादको ढोका”

67
SHARES

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटले नेपाल–भारत सम्बन्धमा संवादको ढोका खुलेको कूटनीतिक क्षेत्रका जानकारहरूले बताएका छन्।

भारत भ्रमणमा रहेका सभापति लामिछानेले बुधवार भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेका थिए। नेपाल र भारतबीच लामो समयदेखि उच्चस्तरीय भेटवार्ता हुन नसकिरहेको अवस्थामा सभापतिको हैसियतमा लामिछानेको भारत भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

लामिछानेले भारतमा भव्य स्वागत पाएका छन्। नेपालको समृद्धि र विकासका लागि भारत जहिले पनि साझेदारी गर्न तयार रहेको सन्देश यस भ्रमणबाट प्राप्त भएको भारतका लागि नेपाली पूर्वराजदूत डा. शंकर शर्माले बताए।

“सहयोग जारी रहन्छ, हामीसँगै मिलेर काम गर्न सक्छौँ र पार्टीलाई पनि सहयोग हुन्छ भन्ने म्यासेज होला भन्ने लाग्छ,” डा. शर्माले भने।

भारतले नेपालको सत्तारुढ दलका सभापतिलाई दिएको सम्मानले नेपाल–भारत सम्बन्धलाई अगाडि बढाउने सङ्केत गरेको भारतका लागि अर्का पूर्वराजदूत नीलाम्बर आचार्य बताउँछन्।

“सरकार बनाएको पार्टीका सभापतिलाई आवश्यक सत्कार दिनु दुई देशको सम्बन्धलाई राम्रो बनाउने चाहना हो,” उनले भने, “यसलाई नेपाली जनताको अभिमतको सम्मानका रूपमा लिनुपर्छ।” उनले यो भेटलाई दुई देशबीचको सम्बन्धको निरन्तरताका रूपमा व्याख्या गरे।

“यो अहिलेको समयको उपज पनि हो। एउटै पार्टीले संसदमा बहुमत पाएको छ,” उनले भने, “सरकारी तहबाट भ्रमणहरूको आदानप्रदान हुनेछ, त्यसको तयारी भइरहेको छ।”

भारतीय विदेश सचिव नेपाल भ्रमणको निमन्त्रणा लिएर आउने चर्चा भए पनि त्यो हुन नसकेको अवस्थामा सम्बन्धलाई अगाडि बढाउन राजनीतिक पार्टीको तर्फबाट कदम चालिएको आचार्यको भनाइ छ।

कूटनीतिक क्षेत्रका जानकारहरू नेपाल–भारतबीच लामो समयदेखि हुन नसकेको संवाद पुनः सुरु हुनु सकारात्मक भएको बताउँछन्। भारतका लागि नेपाली पूर्वराजदूत डा. शंकर शर्माले यो भेटले दुवै देशले सम्बन्ध विस्तार गर्न चाहेको सन्देश दिएको बताए।

अर्का पूर्वराजदूत आचार्यले पनि दुई देशको सम्बन्धलाई अगाडि बढाउन लामिछानेको भ्रमणले योगदान दिने बताए। “यसले प्रधानमन्त्री र सरकारी तहका पदाधिकारीहरूको भ्रमणलाई पनि अगाडि बढाउन ढोका खोल्छ, बाटो खुल्छ,” आचार्यले भने।

भारतमा उच्चस्तरीय भेटवार्ता भइरहँदा नेपालमा प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) को विवादास्पद अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ। वालेनले दिएको अभिव्यक्तिको भोलिपल्टै भारत भ्रमणमा गएका लामिछाने भने सीमा विवादबारे मौन छन्।

वालेनको अभिव्यक्तिपछि सङ्घीय संसद्का दुवै सदनका बैठक एक साताका लागि स्थगित भएका छन्। बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा पनि सांसदहरूले उठेर विरोध जनाएपछि अध्यक्ष नारायणप्रसाद दाहालले “हिजो अस्तिकै हो कि, नयाँ विषय छ ?” भनेर सोधे र बोल्न समय दिएका थिए।

तत्कालीन श्रममन्त्री शरदसिंह भण्डारीले २०६७ सालमा सीमासम्बन्धी विवादास्पद अभिव्यक्ति दिँदा राजीनामा दिनुपरेको थियो। तर प्रधानमन्त्री वालेनले भने चार दिनसम्म कुनै प्रतिक्रिया नदिई रमिता हेरिरहेको आरोप लागेको छ। सङ्घीय संसद् नै बन्धक बनेको राष्ट्रिय सभाका सांसद सुनिलकुमार थापाले बताए।

प्रधानमन्त्रीको अभिव्यक्तिको प्रतिनिधिसभा र राष्ट्रिय सभामा एकनास विरोध भएको छ। प्रधानमन्त्रीले माफी माग्नुपर्ने तथा राजीनामा दिनुपर्ने मागसमेत उठेको छ। राष्ट्रिय सभाका सांसद विष्णु विश्वकर्माले राष्ट्रघाती अभिव्यक्ति दिने प्रधानमन्त्री वालेनलाई पदमा बस्ने नैतिक अधिकार नरहेको बताए।

प्रधानमन्त्री बन्नुअघि काठमाडौं महानगरपालिकाको मेयर हुँदा वालेनले ‘ग्रेटर नेपाल’ को नारा लगाएको स्मरण गर्दै राष्ट्रिय सभाकी सांसद सम्झना देवकोटाले अहिले नेपाल कसरी ‘स्मल नेपाल’ बन्न पुग्यो भनी प्रश्न गरेकी छन्। प्रधानमन्त्री वालेनको अभिव्यक्तिसँगै रास्वपा सभापति लामिछानेको भारत भ्रमणले समेत शङ्का उब्जाएको उनले बताइन्।

सांसदहरूको निरन्तर विरोधका कारण राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललाई बैठक सञ्चालन गर्न कठिन भएको थियो। पटक–पटकको अनुरोधपछि पनि अवरोध कायम रहेकाले उनले बैठक जेठ २६ गतेसम्मका लागि स्थगित भएको घोषणा गरे।

सङ्घीय संसद्का बैठक अब रवि लामिछाने भारत भ्रमणबाट फर्केपछि मात्र बस्नेछन्। उक्त बैठकमा प्रधानमन्त्री वालेन स्वयं उपस्थित भएर जवाफ दिने अपेक्षा गरिएको छ।

समाचार शेयर गर्नुहोस्
67
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.