काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्। भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भारत गएका सभापति लामिछाने महत्त्वपूर्ण विषयमा सार्वजनिक रूपमा ठोस निष्कर्ष नखुलाई स्वदेश फर्किएका हुन्।
भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहित उच्चस्तरीय भेटवार्ता गरेका थिए।
भारत भ्रमणबाट फर्किएपछि पत्रकारहरूसँग कुरा गर्दै लामिछानेले भ्रमणका विषयमा कूटनीतिक शैलीमा प्रतिक्रिया दिए। यसअघि भारतले सीमा मिचेको विषयलाई जोडतोडका साथ उठाउने बताउँदै आएका लामिछानेले अहिले सत्तारुढ दलको सभापतिका रूपमा कूटनीतिक विषयमा सोचविचार गरेर बोल्नुपर्ने आवश्यकता औँल्याए।
विगतमा उठाएको सीमा सम्बन्धी विषयलाई अहिले सस्तो लोकप्रियताको संज्ञा दिएका उनले हल्लाखल्ला वा ढोल बजाएर नभई कूटनीतिक माध्यमबाट समाधान गरिनुपर्ने बताए। त्यसबेला उठाएको विषय अहिले बिर्सनुभएको हो भन्ने पत्रकारको प्रश्नमा उनले सीमा लगायतका विषयमा जिम्मेवार ढङ्गले अघि बढ्नुपर्ने धारणा राखे।
प्रधानमन्त्री वालेन्द्र शाहको विवादित अभिव्यक्तिबारे पनि सभापति लामिछानेले संयमित प्रतिक्रिया दिए। प्रधानमन्त्री वालेनको अभिव्यक्तिबारे उठेका प्रश्नमा उनले परराष्ट्र मन्त्रालयले आधिकारिक धारणा सार्वजनिक गरिसकेको बताए।
संसदमा व्यक्त गरिएको धारणा परराष्ट्र मामिलासँग सम्बन्धित विषय भएको र सरकारले आफ्नो आधिकारिक धारणा स्पष्ट गरिसकेको उनको भनाइ थियो। मन्त्रालयले वास्तविकता भनिसकेको अवस्थामा थप आधिकारिकता खोज्न आवश्यक नरहेको उनले बताए।
लामिछानेको भारत भ्रमणलाई कतिपयले प्रधानमन्त्री बन्ने आशीर्वाद लिने प्रयासका रूपमा समेत चर्चा गरेका थिए। तर, उनले त्यस्तो चर्चा अस्वीकार गर्दै रास्वपा अस्थिरताको पक्षमा नरहेको र चुनावअघि जनतासँग गरेका प्रतिबद्धतामा अडिग रहेको बताए। उनले प्रतिपक्षीले गरेको प्रश्नको जवाफ दिएर साध्यै नहुने बताए।
दुई देशका सत्तारुढ दलबीच भ्रमण आदानप्रदान सुरु भएको प्रक्रियाका रूपमा आफ्नो भारत भ्रमणलाई लामिछानेले व्याख्या गरे। भारतमा भएका उच्चस्तरीय भेटवार्ता पारदर्शी रूपमा गरिएको उनको भनाइ थियो। समृद्धिका लागि मिलेर काम गर्ने विषयमा कुराकानी भएको उनले बताए। उनले विगतमा भएका कमी कमजोरीको भारी नबोक्ने बताए।
भारतीय जनता पार्टी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको पनि उनले खुलाए। नेपाल भ्रमणको निम्तोप्रति भारतीय पक्ष सकारात्मक रहेको उनको भनाइ छ।
लामिछाने स्वदेश फर्किएकै दिन नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा गएका छन्। नयाँ सरकार गठन भएपछि पहिलो पटक परराष्ट्रमन्त्रीस्तरीय भारत भ्रमण सुरु भएको हो।
तर, प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको मिति भने अझै तय भएको छैन। परराष्ट्रमन्त्री खनालको भ्रमणले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको मिति तय गर्ने वातावरण बन्ने चर्चा चलिरहे पनि रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री अहिले काममै केन्द्रित रहेको बताए। आवश्यकता अनुसार प्रधानमन्त्री वालेन भारत भ्रमणमा जाने उनको भनाइ थियो।
प्रधानमन्त्री जाने कुरा समय, परिस्थिति हेरेर मात्र हुने बताए। उनले जिम्मेवारी बाँडफाँड गरेको उल्लेख गर्दै पार्टी सभापति गएर हुने ठाउँमा प्रधानमन्त्री गइरहनु नपर्ने सुनाए।
लामिछाने भारतीय सम्मान र औपचारिक स्वागतका साथ स्वदेश फर्किएकै दिन परराष्ट्रमन्त्री खनाल भारत पुगेका छन्। उनले पनि लामिछानेले जस्तै सीमा विवादबारे स्पष्ट जवाफ दिएनन्।
विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले भारतसँगको सीमा विवादबारे भ्रमणका क्रममा छलफल हुने वा नहुने विषयमा स्पष्ट रूपमा खुलाएनन्। उनले प्राथमिकताका सबै विषयमा संवाद गर्ने बताए।
नेपाल–भारत सम्बन्ध, सीमा विवाद तथा कूटनीतिक संवादका विषय अहिले पुनः चर्चाको केन्द्रमा रहेका छन्। सत्ता बाहिर रहँदा सीमा र राष्ट्रिय स्वार्थका विषयमा चर्को अभिव्यक्ति दिने नेताहरू सरकार र सत्तारुढ दलको जिम्मेवारीमा पुगेपछि कूटनीतिक संयमता अपनाउने पक्षमा देखिएका छन्। लामिछानेको भारत भ्रमण र त्यसलगत्तै परराष्ट्रमन्त्री खनालको भारत भ्रमणलाई नेपाल–भारत सम्बन्धमा संवाद र राजनीतिक सम्पर्क विस्तारको निरन्तरताका रूपमा हेरिएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.