दाङ – लुम्बिनी प्रदेश नागरिक समाज युवा मञ्चको अध्यक्षमा तेस्रोलिंगी वर्षा ठकुरी निर्वाचित भएकी छन्। लुम्बिनी प्रदेशको भालुवाङमा सम्पन्न १२ जिल्लाका युवाहरूको सम्मेलनले तेस्रोलिंगी ठकुरीलाई अध्यक्षमा निर्वाचित गरेको हो।
उनीसँगै चुनावी प्रतिस्पर्धामा रहेका पुरुष र महिला उम्मेदवार पराजित भएका छन्। वर्षा ३ मतको अन्तरले निर्वाचित भएकी हुन्। उनले यसलाई हार–जितको रूपमा नभई सबैको साझा जितका रूपमा लिनुपर्ने बताएकी छन्।
फरक पहिचान समाज नेपाल र मायाको पहिचान नेपालमा कार्यरत वर्षाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन भएको छ। पहिलो पटक लुम्बिनी प्रदेश नागरिक समाज युवा मञ्चको अध्यक्षमा तेस्रोलिंगी व्यक्ति निर्वाचित हुनुलाई यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्।
लुम्बिनी प्रदेश युवा मञ्चको सह-अध्यक्षमा आस्था बि.क. र सदस्यसचिवमा प्रियङ्का गिरी निर्वाचित भएका छन्। सदस्यहरूमा समीक्षा पुन मगर, रुद्रमणि भुसाल, कविता बुढा, विष्णु बि.क., रवि बि.क., अमृत बि.क., आशिष शक्ति राज, रेजिना मिया, रमेश बड र समीक्षा बि.क. निर्वाचित भएका छन्।

मायाको पहिचान नेपाल र फरक पहिचान समाज नेपालले लुम्बिनी प्रदेशमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको प्रतिनिधित्वसँग सम्बन्धित एक महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताएका छन्।
लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका युवाहरूको सहभागितामा सम्पन्न युवा सम्मेलनबाट यौनिक तथा लैङ्गिक अल्पसंख्यक (एलजीबीटीआईक्यूए+) समुदायकी प्रतिनिधि वर्षा ठकुरी लुम्बिनी प्रदेश नागरिक समाज युवा सञ्जालको अध्यक्ष पदमा निर्वाचित भएकी छन्।
मायाको पहिचान नेपाल र फरक पहिचान समाज नेपालले यस उपलब्धिलाई कुनै एक व्यक्तिको सफलता मात्र नभई सम्पूर्ण यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको सामूहिक विजयका रूपमा व्याख्या गरेका छन्।
दुवै संस्थाले लोकतन्त्रको वास्तविक अभ्यास भनेको सीमान्तकृत तथा बहिष्कृत समुदायहरूको अर्थपूर्ण र समावेशी सहभागिता सुनिश्चित गर्नु रहेको उल्लेख गर्दै समाजका सबै तह र संरचनामा समान अवसर र प्रतिनिधित्व आवश्यक रहेको बताएका छन्।
संस्थाहरूका अनुसार छोटो समयमै यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको प्रतिनिधि सम्मानित नेतृत्वदायी भूमिकामा निर्वाचित हुनु गौरवको विषय हो। यस उपलब्धिले समावेशिता, समानता र सशक्तीकरणका लागि भइरहेको अभियानलाई थप ऊर्जा, उत्साह र प्रतिबद्धतासहित अगाडि बढाउन प्रेरणा प्रदान गरेको उनीहरूको भनाइ छ।
मायाको पहिचान नेपाल र फरक पहिचान समाज नेपालले यस सफलताले आगामी दिनमा अझ प्रभावकारी हस्तक्षेप, व्यापक प्रतिनिधित्व र समुदायको नेतृत्व विकासका लागि काम गर्न थप प्रेरित गरेको बताएका छन्।
नयाँ कार्यसमिति चयनसँगै लुम्बिनी प्रदेशका युवाहरूले शिक्षा, स्वास्थ्य, रोजगारी, डिजिटल सुरक्षा, जलवायु न्याय तथा सुशासनसँग सम्बन्धित साझा घोषणापत्र जारी गरेका छन्।
गैरसरकारी संस्था महासङ्घ नेपाल र युवा अभियानको संयुक्त आयोजनामा जेठ २२ र २३ गते भालुवाङमा सम्पन्न ‘लुम्बिनी प्रदेश युवा सम्मेलन २०८३’ मा प्रदेशका १२ वटै जिल्लाबाट सहभागी युवाहरूले राजनीतिक तथा नेतृत्व निर्माण, प्रशासनिक तथा नेतृत्व निर्माण, गुणस्तरीय शिक्षा, स्वास्थ्य र सुरक्षा, पेसा–व्यवसाय तथा सीप विकास, श्रम तथा रोजगार, उद्यमशीलता, नवप्रवर्तन र डिजिटल अधिकारमा युवाको नेतृत्वदायी भूमिका आवश्यक रहेको निष्कर्षसहित घोषणापत्र सार्वजनिक गरेका हुन्।
घोषणापत्रमा अनलाइन माध्यममा युवाहरूको पहुँच, समानता, डिजिटल अभिव्यक्ति स्वतन्त्रता र सुरक्षित उपस्थितिको सुनिश्चितताका लागि ‘डिजिटल अधिकार तथा गोपनीयता सम्बन्धी ऐन’ तर्जुमा गर्न माग गरिएको छ।
विद्यालय तहदेखि नै कृत्रिम बुद्धिमत्ता (एआई) को नैतिक प्रयोग र डिजिटल साक्षरतालाई व्यवस्थित गर्ने उद्देश्यका साथ पाठ्यक्रममा अनिवार्य समावेश गरी प्राविधिक शिक्षामा जोड दिन पनि माग गरिएको छ।
युवाहरूको डिजिटल मार्केटिङ सीप विकास गर्दै डिजिटल उद्यम र व्यवसायमा सहभागी हुने वातावरण निर्माण गर्न तथा संविधानको धारा ३५ (१) मा व्यवस्था गरिएको स्वास्थ्यसम्बन्धी मौलिक हकको पूर्ण कार्यान्वयन गर्न माग गरिएको छ। साथै प्रत्येक स्थानीय तहमा कम्तीमा एक जना अनुमति प्राप्त मनोसामाजिक परामर्शदाताको व्यवस्था गर्न, कुल स्वास्थ्य बजेटको कम्तीमा ५ प्रतिशत मानसिक स्वास्थ्यमा छुट्याउन, बढ्दो लागूऔषध दुर्व्यसनविरुद्ध विशेष कार्यक्रम सञ्चालन गर्न तथा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, २०६८ को प्रभावकारी कार्यान्वयनका लागि तीनै तहका सरकारसमक्ष जोडदार माग गरिएको छ।
अतिवृष्टि, अनावृष्टि र खण्डवृष्टि न्यूनीकरण गरी खेतीयोग्य जमिनको विकासका लागि चुरे संरक्षण गर्नुपर्ने, कार्बन उत्सर्जन तथा त्यससँग सम्बन्धित गतिविधि न्यूनीकरण गर्नुपर्ने र वातावरण संरक्षण ऐन, २०७६ मा भएका नीतिहरू अक्षरशः कार्यान्वयन गर्नुपर्ने माग पनि घोषणापत्रमा उल्लेख छ। साथै वातावरणसम्बन्धी विश्वव्यापी सन्धि तथा सम्मेलनहरूमा नेपालले व्यक्त गरेका प्रतिबद्धता कार्यान्वयन गर्न पनि माग गरिएको छ।
सम्मेलनमा लुम्बिनी प्रदेशका सबै स्थानीय, प्रादेशिक तथा सङ्घीय निर्णय प्रक्रियामा युवाहरूको कम्तीमा २० प्रतिशत अर्थपूर्ण र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न, निर्वाचनमा युवा प्रतिनिधित्व बढाउन तथा हरेक संवैधानिक निकायमा मेरिटोक्रेसीका आधारमा नियुक्ति गरी प्रतिस्पर्धाबाट युवाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरिएको छ।
यसका साथै युवा नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै पक्षको सामूहिक पहल आवश्यक रहेको, जलवायु परिवर्तनका क्षेत्रमा युवाको सक्रिय सहभागिता बढाउनुपर्ने तथा विज्ञान, प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) लाई नवप्रवर्तन र उद्यमशीलतासँग जोड्नुपर्ने सुझाव पनि पेस गरिएको छ।
घोषणापत्रमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक वर्गलाई मूल प्रवाहमा समेट्दै सम्पूर्ण विद्यार्थीलाई कक्षा १२ सम्मको शिक्षा पूर्णतः निःशुल्क, प्रविधिमैत्री र रोजगारमूलक बनाइ अनिवार्य रूपमा कार्यान्वयन गर्न माग गरिएको छ। यसलाई सम्मेलनले समावेशी शिक्षा र समान अवसरको महत्त्वपूर्ण एजेन्डाका रूपमा अघि सारेको छ।
सम्मेलनमा युवाहरूले आफ्नो तर्फबाट प्रतिबद्धता जाहेर गर्दै प्रविधिको प्रयोग गर्दा जिम्मेवार बन्ने, गलत सूचना, घृणात्मक अभिव्यक्ति र साइबर दुर्व्यवहारविरुद्ध ‘पियर एजुकेसन’ मार्फत सचेतना फैलाउने, मजदुर, दलित, अपाङ्गता भएका व्यक्ति, यौनिक तथा लैङ्गिक अल्पसंख्यक र सीमान्तकृत समुदायका बालबालिकालाई विद्यालयमा भर्ना गराउन तथा शैक्षिक निरन्तरताका लागि परम्परागत सोच परिवर्तन गर्दै समान सहभागिता सुनिश्चित गर्न समुदायमा निरन्तर स्वयंसेवा गर्ने प्रतिबद्धता जनाएका छन्।
त्यसैगरी सरकारी योजनाहरूको नागरिक अनुगमन गर्ने, सुशासनका लागि वडास्तरका छलफलमा सक्रिय सहभागी हुने तथा स्थानीय विकास निर्माणका सामाजिक अभियान र रचनात्मक कार्यमा सहकार्य गर्ने विषय पनि प्रतिबद्धतामा उल्लेख गरिएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.