काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाहले छैटौँ पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। शाहले सम्पत्ति छानबिनबाट चोखिएपछि गत वैशाख ९ गते गृह मन्त्रालयबाट राजीनामा दिएका सुधन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गरेका छन्।
यससँगै प्रतिनिधिसभाका एक मात्र स्वतन्त्र सांसद महावीर पुनले पनि मन्त्री बन्ने अवसर पाएका छन्। मन्त्रिपरिषद् १७ सदस्यीय पुगेको छ। नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका छन्।
राष्ट्रपति पौडेलले प्रधानमन्त्री शाहको सिफारिसमा गुरुङ र पुनलाई मन्त्रीमा नियुक्त गरेका हुन्। गुरुङ यसअघि पनि शाह नेतृत्वको सरकारमा गृहमन्त्री थिए। सम्पत्ति शुद्धीकरण विवादमा मुछिएपछि उनले राजीनामा दिएका थिए। उनीमाथि छानबिन गर्न सरकारले समिति पनि गठन गरेको थियो। समितिले ‘क्लिन चिट’ दिएपछि प्रधानमन्त्री शाहले उनलाई पुनः गृह मन्त्रालयको जिम्मेवारी दिएका हुन्।
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको माग गर्दै आएका महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिइएको छ। उनी यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षामन्त्री थिए।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को मन्त्रिपरिषद्का नवनियुक्त गृहमन्त्री गुरुङलाई पाँचौँ वरीयता दिइएको छ। शाहले हेरफेर गरेको मन्त्रिपरिषद्मा गुरुङ पाँचौँ वरीयतामा रहेका छन्। त्यस्तै, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन आठौँ वरीयतामा छन्।

मन्त्रालयमा मंगलबार नै पदभार ग्रहण गर्दै गृहमन्त्री गुरुङले नारायणहिटी दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने निर्णय गरेका छन्। उनले आफ्नो पहिलो चार निर्णयमध्ये २०५८ सालमा भएको दरबार हत्याकाण्डको अनुसन्धान गर्ने विषयलाई प्राथमिकतामा राखेका छन्।
जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोग लागेका मुद्दा फिर्ता गर्न सकिने वा नसकिनेबारे छानबिन गर्न कार्यदल गठन गर्ने निर्णय पनि गृहमन्त्री गुरुङले गरेका छन्। गृह मन्त्रालय र सुरक्षा निकायमा हुने सूचना चुहावट रोक्न विशेष संयन्त्र निर्माण गर्ने निर्णयसमेत उनले गरेका छन्।
गृहमन्त्री गुरुङले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई थप प्रभावकारी बनाउने निर्णय पनि गरेका छन्। यसमार्फत अब ठूला फाइलहरू खोल्ने घोषणा उनले गरेका छन्।
यता, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आफू तीन वर्ष मात्र मन्त्री पदमा बस्ने बताएका छन्। सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्ने क्रममा उनले भने, “द्रुत गतिमा रातदिन काम गर्ने हो। रातदिन काम गरेर बढीमा तीन वर्ष बस्ने हो। मन्त्री भएर खाने हो। त्यसपछि म गर्दिनँ। जग बसालेर बलियो बनाएर नयाँ युवा भाइबहिनीलाई बनाउने हो।”
ढिला हिँडेर गन्तव्यमा पुग्न नसकिने उल्लेख गर्दै उनले नयाँ मन्त्रालय भएकाले यसको बलियो आधार तयार भएपछि आफू जिम्मेवारीबाट बाहिरिने बताए।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.