काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकारले ल्याएको पहिलो बजेट विवादित बनेको छ। मध्यरातमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयमा बसेर कुटुकुटु करका दर हेरफेर गरेको आरोपले पहिलो बजेट नै विवादमा तानिएको हो।
करका दर हेरफेर गरेर व्यापारी पोसेको आरोप लागेपछि डा. वाग्ले रन्थनिएका छन्। उनले आरोप पुष्टि भए मन्त्री पद मात्रै होइन, सामाजिक जीवन नै त्यागिदिने घोषणा गरेका छन्। संसदीय समितिदेखि संसद्सम्म सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले आफू सुशासनको एजेन्डामा धोका दिन नसक्ने बताएका छन्।
अर्थमन्त्री डा. वाग्लेले करका दर हेरफेर र अनियमितताको आरोप लागेपछि संसदमा कडा प्रतिवाद गरेका हुन्। आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रममा विपक्षी दलका साथै सत्तारुढ दल रास्वपाकै केही सांसदहरूले समेत बजेटले गरिब र सर्वसाधारणलाई भन्दा ठूला व्यापारीलाई पोसेको तथा विद्युतीय गाडी आयातमा गोप्य सूचना चुहाएर करका दर हेरफेर गरिएको आरोप लगाएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बजेट जनमुखी नभएको भन्दै संसदमै आक्रोश पोखे। नेता शाहीले नेपालको पुँजी समेत बाहिर लैजाने गरी बजेट ल्याइएको बताए। यस्तो बजेट ल्याउनेलाई विज्ञ भन्न नसकिने भन्दै उनले असन्तुष्टि जनाए। अर्थमन्त्रीले संसदीय समितिमा झुट बोलेको उनको भनाइ थियो।
अर्थमन्त्री डा. वाग्लेले भने आफूमाथि आरोप लगाउने मिडियाहरूलाई खोस्टाको संज्ञा दिए। उनले करका दर फेरबदल गरेर २ रुपैयाँ पनि हिनामिना नगरेको जिकिर गरे।
तर, संसद्को सम्पत्ति भइसकेपछि करका दर फेरबदल गर्नु राजद्रोह सरह भएको प्रतिपक्षी दलहरूले आरोप लगाएका छन्। नेपाली कांग्रेसका सांसद निष्कल राईले संविधान विपरीत अर्थमन्त्रीले आर्थिक विधेयकमा कैँची चलाएको भन्दै छानबिन हुनुपर्ने माग गरे।
मन्त्री पद त्याग्ने बताउँदा पनि आफूमाथि आरोप लागिरहेपछि अर्थमन्त्री डा. वाग्ले उल्टै प्रत्यारोपमा उत्रिएका छन्। उनले गत वर्षको बजेटका पाँच वटा विषयमा ७३ वटा शीर्षकमा संशोधन गरिएको उदाहरण सुनाउँदै आफूमाथिको आरोप ढाकछोप गर्ने प्रयास गरेका छन्।
संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागलाई अर्थमन्त्री वाग्लेले अस्वीकार गरे। आगामी आर्थिक वर्षको बजेटमा भन्सार दर, शुल्क तथा तीन–चार वटा विषयमा थप स्पष्टता मात्र गरिएको उनको दाबी छ।
करका दर हेरफेरको विषयमा प्रतिपक्षी दलले र बजेट विनियोजनको विषयमा सत्तारुढ दलकै सांसदहरूले अर्थमन्त्री वाग्लेलाई र्याखर्याख्ती पारेका छन्। यसले बजेटप्रति विपक्षी मात्र होइन, सरकार पक्षभित्र समेत असन्तुष्टि रहेको देखाएको छ।
सत्तारुढ दल रास्वपाकै सांसद अमरेशकुमार सिंहले सरकारले ल्याएको बजेटमाथि असन्तुष्टि जनाए। उनले बजेटलाई हावा भरिएको बेलुनको संज्ञा दिँदै यसको कार्यान्वयन हुने आधार आफूले नदेखेको बताए।
सांसदहरूले समस्या एकातिर र समाधान अर्कोतिर देखाएर बजेट ल्याइएको टिप्पणी गरेका छन्। श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङले खुट्टाको घाउ नयाँ जुत्ता किनेर निको नहुने जस्तै बजेट आएको बताए।
बजेटमा करका दर हेरफेर र भन्सारमा भइरहेको गम्भीर अनियमितताबारे प्रश्न उठाउँदै सांसदहरूले उच्चस्तरीय छानबिनको माग गरेका छन्। तर अर्थमन्त्री वाग्ले भने विगतका त्रुटि देखाएर आफ्ना त्रुटिलाई सामान्यीकरण गर्न लागेको देखिएको छ।
आफूमाथि आरोप लगाउने सांसदहरूको काण्ड खोल्ने चेतावनी समेत मन्त्री डा. वाग्लेले दिएका छन्। विज्ञ अर्थमन्त्रीबाट यस्तो अभिव्यक्ति अपेक्षित नभएको टिप्पणी अर्थविद्हरूले गरेका छन्।
विगतमा छानबिनबाट निर्दोष साबित भएर पुन अर्थमन्त्रीमा बहाल भएका जनार्दन शर्माको सिसिटिभीको तार मुसाले काटेको प्रसङ्ग नजिरका रूपमा रहेको छ। त्यसलाई नजरअन्दाज गर्दै आफैँ चोखिन खोज्नुले अर्थमन्त्री वाग्लेमाथिको शङ्का झन् बढाएको आरोप विपक्षीहरूको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.