नमोबुद्ध बुचाकोटमा बस दुर्घटना, सेनाका अमल्दारसहित ८ जनाको मृत्यु

नमोबुद्ध बुचाकोटमा बस दुर्घटना, सेनाका अमल्दारसहित ८ जनाको मृत्यु

279
SHARES
तस्बिर : अर्जुन दुलाल

काभ्रे – बि.पी.राजमार्गमा बनेपाबाट रोशी खाड्पाचोकतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। १६ जना घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

नमोबुद्ध नगरपालिका–२ बुचाकोटस्थित बि.पी.राजमार्गमा बा ३ ख ८३९८ नम्बरको यात्रुवाहक बस सडकबाट अन्दाजी ३०० मिटर तल खोँचमा खस्दा दुर्घटना भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

मृतकमध्ये ४ जनाको सनाखत भएको छ भने अन्य ४ जनाको सनाखत हुन बाँकी रहेको सशस्त्र प्रहरीले जनाएको छ।

सनाखत हुनेमा काभ्रेपलान्चोक रोशी गाउँपालिका–७ बस्ने वर्ष ३४ की फुलमाया तामाङ, वडा नं. ८ बस्ने वर्ष ६० की प्यारीमाया तामाङ, वडा नं. ६ बस्ने वर्ष ७५ का इन्द्रबहादुर लोप्चन तथा दैलेख घर भएका वर्ष ३० का नेपाली सेनाका अमल्दार बमबहादुर भण्डारी रहेका छन्।

दुर्घटनामा घाइते भएका १६ जनालाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। गाडीमा सवार यात्रुको संख्या हालसम्म नखुलेको तथा घटनास्थलमा सशस्त्र प्रहरी उपरीक्षक माधव रेग्मीको कमान्डमा २९ जनाको टोली खटिएको सशस्त्र प्रहरीले जनाएको छ।

घाइते हुनेहरूमा रोशी गाउँपालिका–८ बस्ने वर्ष २२ की एनिशा तामाङको हातखुट्टामा चोट लागेको छ र उनको अवस्था मध्यम रहेको छ। रोशी गाउँपालिका–६ बस्ने वर्ष २० की विष्णु डोल्मो तामाङको निधार, नाक र पेटमा चोट लागेको छ भने उनको अवस्था पनि मध्यम रहेको छ।

त्यसैगरी धनबहादुर तामाङको टाउको र अनुहारमा चोट लागेको छ। वर्ष ३० का चन्द्र तामाङको निधार तथा हातखुट्टामा चोट लागेको छ। वर्ष १८ की रमिता वाइवाको अनुहार र देब्रे खुट्टामा चोट लागेको छ भने वर्ष ४० का मानव तामाङको टाउको, अनुहार र ढाडमा चोट लागेको छ। उनीहरूको अवस्था मध्यम रहेको सशस्त्र प्रहरीले जनाएको छ।

रोशी गाउँपालिका–७ बस्ने वर्ष ६० का डम्बरबहादुर शाहको टाउको, दाहिने हात र खुट्टामा चोट लागेको छ र उनको अवस्था गम्भीर रहेको प्रहरीले उल्लेख गरेको छ।

त्यस्तै, रोशी गाउँपालिका वडा नं. ८ बस्ने वर्ष ४३ का कृष्णबहादुर तामाङको टाउको, मुख र दाहिने कोखामा चोट लागेको छ। जिल्ला बर्दिया, बारबर्दिया नगरपालिका–१२ बस्ने वर्ष २५ का सुरेशबहादुर बादीको निधार र दाहिने खुट्टामा चोट लागेको छ।

चालक काभ्रे बनेपा नगरपालिका–३ बस्ने वर्ष ३४ का घोया सिंह तामाङको दाहिने खुट्टा भाँचिएको छ भने दाहिने हातमा पनि चोट लागेको छ। रोशी गाउँपालिका–२ बस्ने वर्ष ६२ की विष्णुमाया लामाको टाउकोमा चोट लागेको छ। तेमाल गाउँपालिका–८ बस्ने वर्ष ४३ का मनुराज तामाङको टाउको, गर्दन र छातीमा चोट लागेको छ।

यस्तै, नाम थर वतन नखुलेका ‘सुबास’ भन्ने अन्दाजी ५–६ वर्षका बालक र नाम नखुलेकी अन्दाजी १ वर्षीया बालिका पनि घाइते भएका छन्।

त्यसैगरी नाम थर वतन नखुलेका अन्दाजी ६०–६२ वर्षका एक पुरुषको टाउकोमा चोट लागेको छ। नाम थर वतन नखुलेकी अन्दाजी २०–२२ वर्षीया एक महिलाको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। ती महिलाको अवस्था गम्भीर रहेको सशस्त्र प्रहरीले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
279
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.