आइएमई २६ औँ वर्षमा : रेमिटेन्स सेवालाई सामाजिक–आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

आइएमई २६ औँ वर्षमा : रेमिटेन्स सेवालाई सामाजिक–आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

174
SHARES

काठमाडौँ – नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बन्न पुगेको ‘आइएमई’ ले स्थापनाको २६ औँ वार्षिकोत्सव शुक्रवार काठमाडौँमा सम्पन्न गरेको छ।

वार्षिकोत्सवको अवसरमा आइएमई लिमिटेडका संस्थापक तथा अध्यक्ष हेम राज ढकालले वित्तीय समावेशिता र आर्थिक रूपान्तरणलाई मूल मन्त्र बनाउँदै आगामी दिनमा डिजिटल इनोभेसनमार्फत अझ परिष्कृत, सुरक्षित र छिटोछरितो एकीकृत वित्तीय सेवा प्रदान गर्न दृढ संकल्पित रहेको बताए।

उनले वैदेशिक रोजगारीमा रहँदा भोगेका अनुभवबाट जन्मिएको सानो परिकल्पना आज रेमिटेन्स सेवा मात्र नभई समग्र वित्तीय तथा डिजिटल भुक्तानी प्रणालीको एक भरपर्दो र अभिन्न अङ्ग बन्न सफल भएको समेत स्मरण गरे।

साथै, आइएमईले देशका दुर्गमदेखि सहरी क्षेत्रसम्म वित्तीय पहुँच विस्तार गर्दै आर्थिक समावेशिताको प्रवर्द्धन तथा सामाजिक–आर्थिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको पनि अध्यक्ष ढकालले बताए।

आर्टिफिसियल इन्टेलिजेन्स (AI) र मेसिन लर्निङको विकाससँगै सेवा प्रवाहको स्वरूप परिवर्तन भइरहेको सन्दर्भमा “आर्थिक रूपान्तरणसँग प्रविधिको विकास” लाई मूल उद्देश्य बनाउँदै नवीनतम प्रविधि आत्मसात् गरी रेमिटेन्स तथा अन्य वित्तीय सेवाहरूलाई अझ परिष्कृत, सुरक्षित र छिटोछरितो बनाउने प्रतिबद्धता समेत अध्यक्ष ढकालले व्यक्त गरे।

त्यसैगरी, आइएमईका संस्थापक तथा ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले २६ वर्षको यात्रामा “रेमिट भनेकै आइएमई” र “आइएमई भनेकै रेमिट” भन्ने पहिचान स्थापित हुनु गर्वको विषय भएको बताउँदै यससँगै जिम्मेवारी पनि बढेको उल्लेख गरे। उनले रेमिटेन्सलाई औपचारिक प्रणालीमार्फत भित्र्याउने, विदेशी मुद्रा सञ्चिति सुदृढ बनाउन योगदान गर्ने तथा प्राप्त विप्रेषणलाई उत्पादनशील क्षेत्रमा प्रवाह गरी राष्ट्रिय अर्थतन्त्रलाई गतिशील बनाउन सरकारसँग निरन्तर सहकार्य रहने प्रतिबद्धता व्यक्त गरे।

त्यसैगरी, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले सहकार्य, प्राविधिक उत्कृष्टता, व्यावसायिक नैतिकता तथा साझा मूल्य–मान्यतालाई मुख्य कार्यदिशा बनाई आइएमईले सेवा प्रवाह गरिरहेको बताए। उनले प्रविधिको विकासलाई आत्मसात् गर्दै विविधीकृत सेवामार्फत आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

सो समारोहमा आइएमईको नयाँ लोगो समेत सार्वजनिक गरिएको छ। नयाँ लोगोले आइएमईका विस्तारित वित्तीय सेवाहरूलाई प्रतिनिधित्व गर्ने जनाइएको छ।
वार्षिकोत्सवको अवसरमा आयोजित अन्तर–कम्पनी खेलकुद तथा विभिन्न प्रतिस्पर्धाका विजेता र उपविजेताहरूलाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो। साथै, लामो समयदेखि कम्पनीमा आबद्ध कर्मचारीहरूलाई विशेष सम्मानसमेत गरिएको थियो। उक्त समारोहमा आइएमई लिमिटेड तथा आइएमई ग्रुपमा आबद्ध कम्पनीका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृतहरू, व्यवस्थापन प्रमुखहरू तथा कर्मचारीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

समाचार शेयर गर्नुहोस्
174
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.