इन्द्रेणी झन्डामाथि बसेर खिचिएको तस्बिरप्रति समुदायको आपत्ति, सम्मान गर्न आग्रह

इन्द्रेणी झन्डामाथि बसेर खिचिएको तस्बिरप्रति समुदायको आपत्ति, सम्मान गर्न आग्रह

104
SHARES

काठमाडौं – प्राइड मन्थका अवसरमा काठमाडौँमा आयोजित र्‍यालीका क्रममा सार्वजनिक भएको एक तस्बिरलाई लिएर लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायभित्रै बहस सुरु भएको छ। र्‍यालीमा सहभागी पराक्रम राणाले इन्द्रेणी (रेन्बो) झन्डामाथि बसेर खिचेको तस्बिर मिडियामा सार्वजनिक भएसँगै समुदायका अभियन्ताहरूले आपत्ति जनाएका हुन्।

“हेर्दा राम्रो देखिएला, तर आफ्नो पहिचान अनि अस्तित्वको प्रतीकमाथि बसेर फोटो खिच्नु स्वाभाविक मान्न सकिँदैन। यो गलत भयो, यो मान्य हुँदैन,” समुदायका अभियन्ताहरूले प्रतिक्रिया दिएका छन्।

उनीहरूका अनुसार इन्द्रेणी झन्डा केवल एउटा रङ्गिन कपडा नभई लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पहिचान, अस्तित्व, अधिकार, सङ्घर्ष र सम्मानको प्रतीक हो। त्यसैले झन्डामाथि बसेर वा त्यसलाई अवमूल्यन हुने गरी प्रयोग गर्नु उचित नहुने उनीहरूको भनाइ छ।

प्राइड मन्थ मनाउन काठमाडौँमा भएको र्‍यालीमा पराक्रम राणा रेन्बो झन्डामाथि बसेको तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा त्यसको आलोचना भएको हो। आलोचकहरूले झन्डाको सम्मान गर्नुपर्ने भन्दै यसको प्रयोगमा संवेदनशीलता अपनाउन आग्रह गरेका छन्।

समुदायका केही व्यक्तिहरूले पछिल्लो समय नेपालको सामाजिक तथा सांस्कृतिक यथार्थभन्दा विदेशी अभ्यासलाई बढी प्राथमिकता दिने प्रवृत्ति बढेको आरोप समेत लगाएका छन्। उनीहरूका अनुसार विदेशको सिको गर्ने, नेपालको ऐतिहासिक महत्त्व भुल्ने, पुरुष जन्मेकालाई महिलाको र महिला जन्मेकालाई पुरुषको नागरिकता लिन अदालतमा मुद्दा हाल्न लगाउने, अल्झाएर राख्ने, दातृ निकायलाई खुशी पार्ने, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकबारे स्वदेशको सामाजिक तथा सांस्कृतिक परम्परालाई नजरअन्दाज गर्ने र इन्द्रेणी झन्डाको दुरुपयोग गर्ने कार्य भइरहेको छ।

नेपालका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले लामो समयदेखि आफ्नो पहिचान र उपस्थितिलाई सांस्कृतिक रूपमा अभिव्यक्त गर्दै रोपाइँ जात्रा, गाईजात्रा लगायतका विभिन्न चाडपर्व तथा सांस्कृतिक कार्यक्रममा सहभागिता जनाउँदै आएका छन्। समुदायका अगुवाहरूका अनुसार यस्ता जात्रा र पर्वहरूले नेपाली समाजभित्र लैङ्गिक तथा यौनिक विविधताको ऐतिहासिक तथा सांस्कृतिक उपस्थितिलाई उजागर गर्दै आएका छन्।

तर पछिल्लो समय दातृ निकायको लगानीमा केही व्यक्तिहरूले समूह बनाएर प्राइड परेडलाई प्राथमिकताका साथ अघि बढाइरहेको आरोप समुदायभित्रकै केही सदस्यहरूको छ। उनीहरूको भनाइमा अन्तर्राष्ट्रिय अभ्यासका रूपमा प्राइड परेड आयोजना गरिनु एउटा पक्ष भए पनि नेपालको मौलिक सामाजिक तथा सांस्कृतिक सन्दर्भ, समुदायका आफ्नै परम्परा र ऐतिहासिक अभ्यासलाई ओझेलमा पार्न नहुनेमा ध्यान दिन आवश्यक छ।

उनीहरूले इन्द्रेणी झन्डा समुदायको गौरव, सङ्घर्ष र पहिचानसँग जोडिएको प्रतीक भएकाले यसको सम्मानजनक प्रयोग हुनुपर्ने तथा समुदायको नाममा हुने कुनै पनि गतिविधिले स्थानीय सामाजिक, सांस्कृतिक र ऐतिहासिक यथार्थलाई समेत सम्मान गर्नुपर्ने बताएका छन्।

समाचार शेयर गर्नुहोस्
104
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.