राष्ट्रिय शक्तिमा उक्लिएको रास्वपाको पहिलो महाधिवेशन, नेतृत्व र लोकतन्त्रको परीक्षा

राष्ट्रिय शक्तिमा उक्लिएको रास्वपाको पहिलो महाधिवेशन, नेतृत्व र लोकतन्त्रको परीक्षा

54
SHARES

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापनाको चार वर्षपछि पहिलो महाधिवेशन गर्दैछ। छोटो अवधिमै देशको प्रमुख राष्ट्रिय राजनीतिक शक्तिका रूपमा स्थापित भएको रास्वपाको पहिलो महाधिवेशन चितवनको भरतपुरमा आइतबारदेखि सुरु हुँदैछ। महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको रास्वपाले जनाएको छ।

स्थापनाको चार वर्षमै सङ्घीय संसदमा झन्डै दुई तिहाइ बहुमतसहित सरकारको नेतृत्व गरिरहेको सत्तारुढ दल रास्वपाको पहिलो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। महाधिवेशनबाट सभापतिमा रवि लामिछाने सर्वसम्मत रूपमा चयन हुने लगभग निश्चित छ भने वरिष्ठ नेतामा प्रधानमन्त्री वालेन्द्र शाहलाई चयन गर्ने तयारी रास्वपाले गरेको छ।

महाधिवेशनको उद्घाटन सत्रलाई १३–१४ जनाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले पनि उद्घाटन सत्रलाई सम्बोधन गर्ने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो महाधिवेशनमा उम्मेदवारहरूले प्यानल वा गुट बनाएर चुनाव लड्न नपाउने व्यवस्था गरेको छ। चितवनको भरतपुरमा असार ७ देखि ९ गतेसम्म हुन लागेको महाधिवेशनका लागि पार्टीको केन्द्रीय निर्वाचन आयोगले आचारसंहिता जारी गर्दै प्यानल वा गठबन्धन बनाउन निषेध गरेको हो।

निर्वाचन पूर्ण रूपमा व्यक्तिगत प्रतिस्पर्धामा आधारित हुने र गुटगत आधारमा प्रचार–प्रसार गरे कारबाही हुने आयोगले जनाएको छ। आचारसंहिता अनुसार उम्मेदवारहरूले महाधिवेशन स्थलमा ब्यानर, पम्प्लेट वा फ्लेक्स प्रदर्शन गर्न पाउने छैनन्।

महाधिवेशनमा केन्द्रीय समिति चयनका लागि निर्वाचन हुने भएको छ। संशोधित विधानअनुसार रास्वपाको केन्द्रीय समितिमा १०० जना निर्वाचित हुने व्यवस्था छ। महाधिवेशनको पूर्वसन्ध्यामा भरतपुरमा बसेको केन्द्रीय समितिको अन्तिम बैठकमा सभापति रवि लामिछानेले नेताहरूलाई स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गर्न अपिल गरेका छन्।

बैठकमा भावुक बन्दै सभापति लामिछानेले पार्टी स्थापना गर्दा नागरिकता जुटाउन परेको सकसदेखि आफ्नो कार्यकक्षमा प्रहरीले हतकडी लगाएको अवस्थासम्मका उतारचढावहरू स्मरण गरे।

उनले रास्वपा सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानको जगमा उभिएको स्पष्ट पार्दै आन्तरिक लोकतन्त्र र निष्ठामा कहिल्यै सम्झौता नगर्ने प्रतिबद्धता पनि जनाए।

गत फागुन २० को निर्वाचनमा पुराना दलहरूलाई पछि पार्दै मुलुकको नेतृत्वमा पुगेको रास्वपाले महाधिवेशनको उद्घाटन सत्र छोटो र सरल बनाउने तयारी गरेको महामन्त्री बुर्लाकोटीले बताए।

रास्वपाको महाधिवेशनमा मुख्य राजनीतिक दलका शीर्ष नेताहरू भने सहभागी नहुने भएका छन्। एमाले र नेकपाजस्ता प्रमुख दलहरूले आफ्ना मुख्य नेतृत्वलाई नपठाई तल्लो वरियताका नेताहरूलाई प्रतिनिधिका रूपमा पठाउने निर्णय गरेका छन्।

एमालेले आफ्नो वर्तमान पदाधिकारी टोलीभन्दा बाहिरबाट पूर्वपदाधिकारी प्रदीप ज्ञवालीलाई पठाउने निर्णय गरेको छ भने नेकपाबाट वर्षमान पुन सहभागी हुने भएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने यस विषयमा आन्तरिक छलफलमै रहेको जनाएको छ।

राप्रपाका तर्फबाट भने पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन स्वयं सहभागी हुने निश्चित भएको छ। महाधिवेशन स्थलमा देशभरबाट नेता कार्यकर्ता पुग्ने क्रम जारी छ।

देशको सबैभन्दा ठूलो राजनीतिक शक्ति बनेको रास्वपाको नेतृत्व संरचना, शक्ति बाँडफाँट, निर्णय प्रक्रिया र आन्तरिक लोकतन्त्रलाई सबैले चासोका साथ हेरिरहेका छन्। यो महाधिवेशनको मुख्य काम सङ्गठनको स्वरूप तयार गर्नु हो, तर सत्ता सञ्चालन गर्ने राजनीतिक संस्कार र संस्थागत क्षमता कति विकसित भएको छ भन्ने सङ्केत पनि यसले दिनेछ।

रास्वपा नेताहरूका अनुसार प्रथम महाधिवेशनको मुख्य उपलब्धि विभिन्न पृष्ठभूमिबाट जोडिएका नेताहरूलाई लोकतान्त्रिक विधिबाट रास्वपाको साझा सङ्गठन बनेको अनुभूति दिलाउनु हुनेछ।

टेलिभिजन प्रस्तोताको जागिर छोडेर ७ असार २०७९ मा रवि लामिछानेले रास्वपा घोषणा गर्दा पार्टीमा चिनिएका राजनीतिक अनुहारहरू थिएनन्। रविले विभिन्न क्षेत्रका अभियन्ता र चर्चामा रहेका व्यक्तिहरूलाई पार्टीमा आबद्ध गराएका थिए।

रास्कोट अस्पताल निर्माण अभियानका अभियन्ता डा. मुकुल ढकाललाई महामन्त्री बनाएर रास्वपा गठन गरेका लामिछानेलाई टेलिभिजनमासँगै काम गरेका व्यक्तिहरूले साथ दिएका थिए। पुराना दलहरूलाई विस्थापित गर्ने घोषणा २०७९ मंसिर ४ को निर्वाचनमै पूर्ण रूपमा सफल नभए पनि त्यसपछि विकसित राजनीतिक परिस्थिति र युवापुस्ताको समर्थनका कारण रास्वपा मुलुकको प्रमुख राष्ट्रिय शक्तिका रूपमा स्थापित भएको छ।

यो चुनावमा रास्वपाभन्दा पनि प्रधानमन्त्री वालेन्द्र शाहको लोकप्रियतालाई जनताले विश्वास गरेको रास्वपाको कारबाहीमा परेका संस्थापक महामन्त्री मुकुल ढकालले बताए। उनले महाधिवेशनबाट आगामी पाँच वर्षसम्म पनि प्रधानमन्त्रीमा वालेन्द्र शाह कायम रहने निर्णय गर्नुपर्ने सुझाव दिए।

रास्वपाका नेताहरूले यो महाधिवेशनलाई पार्टीभित्र लोकतन्त्रको अभ्यास सुरु गर्ने र जनस्तरसम्म पार्टी संरचना विस्तार गर्ने अवसरका रूपमा पनि लिएका छन्। अहिलेसम्म रास्वपामा नेता चयनको मुख्य विधि पार्टी बैठक नै रहँदै आएको छ। बैठकबाटै सभापति लामिछानेले स्वर्णिम वाग्लेलाई उपसभापति, भूपदेव शाहलाई महामन्त्री तथा कविन्द्र बुर्लाकोटीलाई महामन्त्रीजस्ता पदहरू दिएका छन्।

रास्वपाका ३ हजार ९९० महाधिवेशन प्रतिनिधिबाट प्रतिव्यक्ति ५ हजार रुपैयाँका दरले शुल्क उठाइएको छ। रास्वपाले महाधिवेशनमा प्रतिनिधिको संख्या चार हजारभन्दा बढी हुने जनाएको छ। यसअनुसार प्रतिनिधिबाट मात्रै दुई करोड रुपैयाँभन्दा बढी रकम सङ्कलन हुने भएको छ।

रास्वपाको महाधिवेशनमा प्रतिनिधिहरूले प्रश्न गर्न सक्ने अवस्था भने नदेखिएको टिप्पणी भएका छन्। प्रश्न गर्न नपाइने र प्रश्न गरे कारबाहीमा पर्ने अनुभव आफूले भोगेको भन्दै संस्थापक महामन्त्री मुकुल ढकालले प्रतिनिधिहरूलाई मुखमा लगाइएको कालो टेप खोल्ने हिम्मत गर्न सुझाव दिएका छन्।

रास्वपामा विभिन्न पार्टी, समूह र क्षेत्रबाट आएका व्यक्तिहरूलाई सङ्गठित संरचनाभित्र समेट्नुपर्ने चुनौती छ। गत फागुनमा भएको निर्वाचनबाट प्राप्त जनमतलाई संस्थागत सङ्गठनमा रूपान्तरण गर्न महाधिवेशन कति सफल हुन्छ भन्ने कुरा भने आगामी दिनमा स्पष्ट हुँदै जानेछ।

समाचार शेयर गर्नुहोस्
54
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.