विश्व शरणार्थी दिवसमा भुटानी शरणार्थीको प्रधानमन्त्री वालेन र संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकायलाई अपिल

विश्व शरणार्थी दिवसमा भुटानी शरणार्थीको प्रधानमन्त्री वालेन र संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकायलाई अपिल

87
SHARES

काठमाडौँ – विश्व शरणार्थी दिवसको अवसरमा नेपालमा रहेका भुटानी शरणार्थीहरूले नेपाल सरकार र संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्तको कार्यालयसँग भुटानी शरणार्थी समस्याको दीर्घकालीन समाधानका लागि पहल गर्न आग्रह गरेका छन्।

उनीहरूले नेपाल र भुटानबीच अवरुद्ध १६औँ चरणको द्विपक्षीय वार्ता पुनः सुरु गरी स्वदेश फर्कन चाहने भुटानी शरणार्थीहरूको सम्मानजनक स्वदेश फिर्ती सुनिश्चित गर्न माग गरेका छन्।

भुटान स्वतन्त्र जनमञ्च र राष्ट्रिय मेलमिलाप समिति–भुटानका तर्फबाट प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्तको कार्यालयलाई पठाइएको पत्रमा विगत साढे तीन दशकदेखि नेपालमा बसोबास गरिरहेका भुटानी शरणार्थीहरूको समस्या अझै समाधान नभएको उल्लेख गरिएको छ।

भुटान स्वतन्त्र जनमञ्चका महासचिव डि.बी. सुब्बा र राष्ट्रिय मेलमिलाप समिति–भुटानका संयोजक कृष्णवीर तामाङद्वारा हस्ताक्षरित पत्रमा भुटानी शरणार्थीहरूको शीघ्र र सम्मानजनक स्वदेश फिर्तीका लागि अन्तर्राष्ट्रिय समुदाय, नेपाल सरकार र सम्बन्धित पक्षहरूको सक्रिय पहल आवश्यक रहेको जोड दिइएको छ।

पत्रमा झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित भई प्रधानमन्त्री बनेका प्रधानमन्त्री शाहलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै भुटानी शरणार्थीहरूको स्वदेश फिर्तीका लागि विशेष पहल गर्न अनुरोध गरिएको छ।

पत्रअनुसार ३४ वर्षअघि भुटानको जातीय, भाषिक, धार्मिक तथा सांस्कृतिक उत्पीडनका कारण विस्थापित भएका भुटानी नागरिकलाई नेपाल सरकारले झापा र मोरङमा आश्रय प्रदान गरेको थियो। संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्तको कार्यालय, विश्व खाद्य कार्यक्रम तथा अन्य अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा नेपाल सरकारले सुरक्षा, आवास, खाद्यान्न, स्वास्थ्य र शिक्षाजस्ता आधारभूत सुविधा उपलब्ध गराउँदै आएको उल्लेख गरिएको छ।

भुटानी शरणार्थी समस्या समाधानका लागि नेपाल र भुटानबीच १५ चरणसम्म वार्ता भए पनि कुनै ठोस निष्कर्ष ननिस्किएको र त्यसपछि वार्ता अवरुद्ध भएको पत्रमा उल्लेख छ। त्यसपछिका वर्षहरूमा स्वदेश फिर्तीको विकल्पलाई बेवास्ता गर्दै तेस्रो मुलुक पुनर्वासलाई प्राथमिकता दिइएको तथा अमेरिका, अस्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड, डेनमार्क, नेदरल्यान्ड्स, नर्वे र बेलायतलगायत मुलुकमा एक लाख १३ हजार ५०० भन्दा बढी भुटानी शरणार्थी पुनर्वास भइसकेको जनाइएको छ।

यद्यपि, सम्मानजनक रूपमा स्वदेश फर्कन चाहने शरणार्थीहरूको समस्या भने अझै समाधान नभएको उनीहरूको भनाइ छ। सम्बन्धित पक्षहरूले भुटानी शरणार्थी समस्या समाधान भइसकेको जस्तो बुझ्ने गरे पनि स्वदेश फिर्तीको माग जीवित रहेको पत्रमा उल्लेख गरिएको छ।

शरणार्थीहरूले सन् २००१ देखि विश्व शरणार्थी दिवस मनाउन थालेको स्मरण गर्दै यस वर्ष २६औँ विश्व शरणार्थी दिवस मनाइरहँदा आफ्नो अवस्थाबारे गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

पत्रमा तेस्रो मुलुक पुनर्वासपछि शिविरमा रहेका धेरै वृद्धवृद्धा अझै स्वदेश फिर्तीको आशामा बसिरहेको उल्लेख गरिएको छ। उनीहरूका अनुसार कतिपय वृद्धवृद्धाको हेरचाह गर्ने परिवारका सदस्यसमेत छैनन् र उनीहरू अझै छाप्रोमै बस्न बाध्य छन्।

हाल झापाको बेलडाँगी र मोरङको पथरी शनिश्चरे शिविरमा बसोबास गरिरहेका भुटानी शरणार्थीहरूले आफूहरू स्वदेश फर्कन पाउने आशामा रहेको जनाउँदै नेपाल सरकार र संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्तको कार्यालयलाई भुटानसँग सार्थक वार्ता गराउन बारम्बार आग्रह गर्दै आएको बताएका छन्।

खाद्यान्न, स्वास्थ्य, शिक्षा र आवासजस्ता आधारभूत मानवीय सुविधाहरू क्रमशः कटौती हुँदै गए पनि आफ्नै देश फर्कन पाउने विश्वासका साथ करिब ६ हजार ५०० भुटानी शरणार्थी विभिन्न कठिनाइबीच जीवनयापन गरिरहेको पत्रमा उल्लेख छ।

शरणार्थीहरूले पछिल्लो समय भुटानी शरणार्थीसम्बन्धी विभिन्न विषय उठ्न थालेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। शिविरमा रहेका र आत्मसम्मानपूर्ण रूपमा स्वदेश फर्किन पाउनुपर्छ भन्ने पक्षमा रहेका शरणार्थीहरूको तर्फबाट आफूहरूले यो अपिल गरेको उनीहरूको भनाइ छ।

प्रधानमन्त्री, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा अन्य सम्बन्धित निकायलाई यसअघि पनि पटक–पटक स्वदेश फिर्तीका लागि आवश्यक वार्ता र कूटनीतिक पहल गर्न आग्रह गरिए पनि माग सम्बोधन हुन नसकेको भन्दै उनीहरूले पुनः स्मरण गराएका छन्।

पत्रमा शरणार्थी शिविरका कागजातमा ‘भुटानी शरणार्थी शिविर’ को सट्टा ‘बस्ती व्यवस्थापन समिति’ जस्ता नाम प्रयोग हुन थालेकोप्रति समेत चिन्ता व्यक्त गरिएको छ। यसले शरणार्थीहरूको पहिचान क्रमशः हराउँदै जाने खतरा रहेको भन्दै शिविरको नाम यथावत् ‘भुटानी शरणार्थी शिविर’ नै कायम राख्न माग गरिएको छ।

भुटानी शरणार्थीहरूले आफ्नो समस्याको दीर्घकालीन समाधानका लागि ‘सम्मानजनक स्वदेश फिर्ती’ को विकल्पलाई अगाडि बढाउन संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्तको कार्यालयको अगुवाइ र मध्यस्थतामा समन्वय, वार्ता, छलफल, नीतिगत निर्णय तथा आवश्यक पहल गर्न आग्रह गरेका छन्।

संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्तको कार्यालयलाई सम्बोधन गरिएको छुट्टै पत्रमा पनि भुटानी शरणार्थीहरूले तीन दशकभन्दा बढी समयदेखि शरणार्थी जीवन बिताइरहेको उल्लेख गर्दै अधिकांशको चाहना सम्मान र मर्यादासहित भुटान फर्किने रहेको बताएका छन्।

पत्रमा राजनीतिक उत्पीडन र अस्तित्वमाथिको खतराका कारण आफूहरू जन्मभूमि छोड्न बाध्य भएको उल्लेख गरिएको छ। “हामीले आफ्नो देश छोड्नु रोजाइका कारण होइन, बाँच्नका लागि थियो। हामीले आफूसँग भएका सबै कुरा त्यहीँ छाड्यौँ। अर्को बिहान देख्न पाइन्छ भन्ने आशामा जन्मभूमिको सीमा पार गरेका थियौँ,” पत्रमा भनिएको छ।

भुटानी शरणार्थीहरूले संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्तको कार्यालयलाई दुई सरकारबीच वार्ता पुनः सुरु गराउन, प्रक्रियालाई सहज बनाउन तथा भुटानी शरणार्थीहरूको अधिकार, सम्मान र पहिचानको संरक्षण हुने गरी न्यायपूर्ण समाधानका लागि आफ्नो प्रभाव प्रयोग गर्न अनुरोध गरेका छन्।

समाचार शेयर गर्नुहोस्
87
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.