समावेशी शिक्षामा बिर्तामोड नगरपालिकाको प्रतिबद्धता

समावेशी शिक्षामा बिर्तामोड नगरपालिकाको प्रतिबद्धता

75
SHARES

बिर्तामोड – लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय, लैङ्गिक पहिचान तथा यौनिक विविधतासम्बन्धी विद्यालयस्तरीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बिर्तामोडमा एक दिने शिक्षक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

लिड नेपालको आयोजना तथा बिर्तामोड नगरपालिकाको सहयोगमा बिर्तामोडमा आयोजित कार्यक्रममा नगरभित्रका ४८ वटा विद्यालयका शिक्षक तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको सभापतित्व लिड नेपालका अध्यक्ष सुशील पौडेलले गरेका थिए भने बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईँ प्रमुख अतिथिका रूपमा उपस्थित थिइन।

कार्यक्रममा जनप्रतिनिधि सङ्गीता शिवा विशिष्ट अतिथिका रूपमा सहभागी भइन भने शिक्षा शाखाका प्रमुख लासाङ तामाङ, महिला तथा बालबालिका शाखाकी प्रमुख युगकुमारी भट्टराई तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका प्रतिनिधि सुमन तामाङको समेत उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख पवित्रा महतरा प्रसाईँले समावेशी शिक्षा प्रत्येक बालबालिकाको मौलिक अधिकार भएको बताइन। उनले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका बालबालिकाले पनि अन्य बालबालिकासरह समान अवसर, सम्मान र सुरक्षित शैक्षिक वातावरण प्राप्त गर्नुपर्नेमा जोड दिइन।

विद्यालयहरूलाई समावेशी र विभेदरहित बनाउन शिक्षकहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै नगरपालिकाले यस विषयलाई प्राथमिकतामा राखी आवश्यक बजेट विनियोजन तथा नीतिगत सहयोग प्रदान गर्ने प्रतिबद्धता उनले व्यक्त गरिन।

कार्यक्रमको प्रारम्भमा सभापति तथा लिड नेपालका अध्यक्ष सुशील पौडेलले स्वागत मन्तव्य व्यक्त गर्दै समावेशी शिक्षा, लैङ्गिक समानता तथा मानव अधिकारको सुनिश्चितताका लागि विद्यालय तहबाटै सकारात्मक सोचको विकास आवश्यक रहेको बताए।

उनले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका बालबालिकाले विद्यालयमा भोग्नुपरेका चुनौतीहरूलाई सम्बोधन गर्न शिक्षकहरू अझ संवेदनशील, उत्तरदायी र सहयोगी हुनुपर्ने धारणा राखे।

कार्यक्रममा लिड नेपालकी कार्यकारी निर्देशक नुमा लिम्बु चञ्चलाले “लैङ्गिक पहिचान, यौनिक विविधता तथा नेपालको संविधानले सुनिश्चित गरेका अधिकारहरू” विषयमा प्रस्तुतीकरण गरिन्।

उनले नेपालको संविधानमा व्यवस्था भएका समानता, भेदभावविरुद्धको हक, सम्मानपूर्वक बाँच्न पाउने अधिकार तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकारसम्बन्धी संवैधानिक व्यवस्थाबारे विस्तृत जानकारी दिइन। उनले विद्यालयमा समावेशी वातावरण निर्माण गर्न शिक्षकहरूको भूमिका र जिम्मेवारीबारे पनि प्रकाश पारिन।

अन्तरक्रियात्मक छलफलका क्रममा सहभागी शिक्षकहरूले विद्यालयमा लैङ्गिक तथा यौनिक विविधताप्रति सकारात्मक दृष्टिकोण विकास गर्ने, विभेदरहित सिकाइ वातावरण निर्माण गर्ने तथा सबै विद्यार्थीको गरिमा र अधिकारको सम्मान सुनिश्चित गर्ने विषयमा आफ्ना अनुभव र धारणा साझा गरेका थिए।

त्यसैगरी कार्यक्रममा सहभागी लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका प्रतिनिधि सुमन तामाङले समुदायले शिक्षा क्षेत्रमा भोग्नुपरेका चुनौती, विभेदका अनुभव तथा समावेशी वातावरण निर्माणको आवश्यकताबारे आफ्ना धारणा राखे।

कार्यक्रममा सहभागीहरूले विद्यालयहरूलाई अझ सुरक्षित, समावेशी र बालमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। स्थानीय सरकार, विद्यालय तथा नागरिक समाजबीचको सहकार्यले लैङ्गिक समानता, सामाजिक समावेशीकरण तथा मानव अधिकारको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको लिड नेपालले जानकारी दिएको छ।

आयोजक संस्था लिड नेपालले यस्ता कार्यक्रमहरूले विद्यालयस्तरमा विद्यमान भ्रम, पूर्वाग्रह तथा विभेद न्यूनीकरण गर्न सहयोग पुग्ने र सबै बालबालिकाले सम्मानजनक तथा समावेशी वातावरणमा शिक्षा प्राप्त गर्ने आधार निर्माण हुने अपेक्षा व्यक्त गरेको छ।

समाचार शेयर गर्नुहोस्
75
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.