रास्वपा महाधिवेशनमा शीर्ष नेताहरूको जमघट : कांग्रेस–एमालेलाई सुझाव, आफ्नै गुटउपगुटप्रति चिन्ता

रास्वपा महाधिवेशनमा शीर्ष नेताहरूको जमघट : कांग्रेस–एमालेलाई सुझाव, आफ्नै गुटउपगुटप्रति चिन्ता

72
SHARES

काठमाडौँ – स्थापनाको चार वर्षमै राष्ट्रिय राजनीतिमा शक्तिशाली उपस्थिति बनाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन भव्य रूपमा उद्घाटन भएको छ। उद्घाटन सत्रमा विभिन्न दलका शीर्ष नेताहरूको उपस्थितिले महाधिवेशनलाई राजनीतिक शक्ति प्रदर्शनसँगै आगामी राजनीतिक दिशाबारे बहस हुने महत्त्वपूर्ण मञ्चका रूपमा स्थापित गरेको छ।

देशभरबाट आएका नेता–कार्यकर्ताको उपस्थितिमा रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह तथा शुभकामना दिन उपस्थित अन्य राजनीतिक दलका नेताहरूले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गरे।

स्थापनाको छोटो समयमै देशको प्रमुख राजनीतिक शक्तिका रूपमा उभिन सफल रास्वपाको महाधिवेशनमा नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले पार्टीलाई सही बाटोमा अघि बढ्न सुझाव दिए भने रास्वपाले कांग्रेस र एमालेभित्र देखिएका अप्ठ्याराबारे चिन्ता व्यक्त गर्‍यो।

रास्वपा सभापति रवि लामिछानेले राष्ट्रिय राजनीतिमा आफ्नो दल मात्र ठीक भएर नहुने बताए। राष्ट्रिय राजनीतिमा सक्रिय सबै दलहरू सही दिशामा अघि बढ्नुपर्ने उनको भनाइ थियो।

कांग्रेस र एमालेको अवस्थाबारे मात्र टिप्पणी नगरेका लामिछानेले आफ्नै दलभित्र मौलाउँदै गएको गुट–उपगुटप्रति पनि चिन्ता व्यक्त गरे।

लामिछानेले रास्वपाले चुनावअघि नै वरिष्ठ नेता वालेन्द्र शाहको खुट्टामा बल पुर्‍याइसकेको उल्लेख गर्दै अब गोल गर्ने जिम्मेवारी वालेन्द्रकै भएको बताए। झुक्किएर त्यो बल आफ्नो खुट्टामा आइपुगे पनि पुनः वालेन्द्रकै खुट्टामा पास गर्ने जिम्मेवारी आफ्नो रहेको उनको भनाइ थियो।

प्रतिनिधिसभाको जेठ १७ गतेको बैठकमा सीमा सम्बन्धी विवादित अभिव्यक्ति दिएपछि मौन बसेका प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो राष्ट्रियतामाथि शङ्का नगर्न आग्रह गरे। उनले कालापानी र लिपुलेकबारे प्रमाण रहेको दाबी गरे।

“ब्रिटिसले राज गर्दाको प्रमाण ल्याउँछौँ भनेका हौँ, मध्यस्थता राख्न खोजेको होइनौँ,” प्रधानमन्त्री वालेनले भने, “मेरो राष्ट्रियताप्रति कसैले पनि आशङ्का मान्नुपर्दैन।”

उनले सरकारको गाडी गन्तव्यमा नपुगेसम्म ब्रेक नलाग्ने पनि बताए।

वालेन्द्र शाहले रास्वपालाई विकास गर्ने पार्टी भएको बताए। प्रतिशोध साध्ने र पुराना विषयलाई लिएर निहुँ खोज्ने पक्षमा नरहेको उनको भनाइ थियो। तर विगतमा गलत काम भएको भए त्यसबारे प्रश्न उठाइने उनले स्पष्ट पारे। “अख्तियारलाई पाँच घण्टा मात्रै होइन, पाँच वर्ष राखेर पनि नियमभित्र बसेर काम गर्छौँ,” प्रधानमन्त्री वालेनले भने।

नेपालका स्थापित पुराना दलहरूलाई समेत लोभ्याउने गरी पार्टी गठनको चार वर्षमै रास्वपाले उल्लेखनीय छलाङ मारेको छ। महाधिवेशनमा शुभकामना दिन पुगेका विभिन्न राजनीतिक दलका नेताहरूले रास्वपाको खुलेर प्रशंसा गर्दै रवि लामिछाने र वालेन्द्र शाहलाई बधाईका पात्र भएको बताए।

रास्वपा कार्यकर्ताहरूको हुटिङबीच नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कांग्रेस प्रतिपक्षमा रहेको उल्लेख गर्दै राजनीतिक प्रतिस्पर्धीलाई दुश्मनका रूपमा नहेर्न आग्रह गरे।

सभापति थापाले कांग्रेसभित्रको दुर्गन्ध हटाएर पार्टीलाई सफा बनाउने अभियानमा आफूहरू लागेको स्मरण गराए। “आफ्नो घरभित्र लड्न गाह्रो हुँदो रहेछ,” उनले भने। उनले रास्वपा नेता–कार्यकर्तालाई नेतृत्वका गलत काममाथि प्रश्न उठाउन सुझाव दिँदै नेतालाई भगवान् मान्ने गल्ती नगर्न आग्रह गरे।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपाको प्रथम महाधिवेशनलाई वैकल्पिक राजनीतिक अभियानको महत्त्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरे। उनले अहङ्कार त्यागेर सबैलाई साथमा लिएर अघि बढ्न सुझाव दिए।

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई राष्ट्रिय हितको रक्षाप्रति संवेदनशील रहन आग्रह गरे।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले वालेन्द्र शाहलाई फरक प्रकारको नेता र रास्वपा सभापति रवि लामिछानेलाई त्यागी नेताको संज्ञा दिए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संविधानमा आवश्यक सुधार हुनुपर्ने बताए। उनले जनताले राजा ल्याउने अपेक्षासहित वालेन्द्र शाहलाई प्रधानमन्त्री बनाएको टिप्पणी गरे।

रास्वपाको प्रथम महाधिवेशन केवल नयाँ नेतृत्व चयन गर्ने औपचारिक प्रक्रिया मात्र नभई नेपालको बदलिँदो राजनीतिक परिदृश्यको महत्त्वपूर्ण सङ्केतका रूपमा पनि हेरिएको छ। महाधिवेशनबाट आउने नेतृत्व र नीतिगत दिशाले रास्वपाको भविष्य मात्र होइन, वैकल्पिक राजनीतिको सम्भावना तथा राष्ट्रिय राजनीतिमा यसको भूमिकालाई समेत निर्धारण गर्ने अपेक्षा गरिएको छ।

समाचार शेयर गर्नुहोस्
72
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.