काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ। आइतबार राति पौने १० बजे बानेश्वर स्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा खरेलको निधन भएको नेपाली कांग्रेसले जनाएको छ।
खरेलको पार्थिव शरीरलाई बिहान ९ बजेदेखि ११ः४५ बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टीको केन्द्रीय कार्यालय, बी.पी. नगर, ललितपुरमा राखिएको थियो। खरेलको दिउँसो १ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कांग्रेसले जनाएको छ।
सुब्बा देवीप्रसाद र मुकुन्दकुमारी खरेलको माइलो सन्तानको रूपमा २००३ सालमा काभ्रेपलान्चोक जिल्लाको खरेलथोकमा जन्मिएका स्वर्गीय खरेल नेपाली कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय थिए।
नेपालको लोकतान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गरी झन्डै ९ वर्ष जेल जीवन बिताएका थिए।
जननायक बी.पी. कोइराला, लौहपुरुष गणेशमान सिंह, सन्त नेता कृष्णप्रसाद भट्टराईको सामीप्यमा रहेर उनले पार्टी सङ्गठनका लागि उल्लेखनीय योगदान पुर्याएको कांग्रेसले निकालेको शोक वक्तव्यमा उल्लेख छ।
वि.सं. २०४९ देखि २०५३ असारसम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यालय उनकै वानेश्वर स्थित घरबाट सञ्चालन भएको थियो।
स्वर्गीय खरेल २०४८, २०५१, २०५६ र २०६४ को आम निर्वाचनमा काभ्रेपलान्चोक जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसको उम्मेदवार थिए। वि.सं. २०५६ को आमनिर्वाचनमा काभ्रेपलान्चोकको क्षेत्र नं. ३ बाट विजयी भएका खरेल शिक्षा राज्यमन्त्री हुँदै महिला बालबालिका तथा समाजकल्याण मन्त्री भएका थिए।
नेपाली कांग्रेसको विभिन्न पदीय जिम्मेवारीमा रहेर उनले पार्टी सङ्गठन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नु भएको कांग्रेस पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्ण दुलालले निकालेको वक्तव्यमा उल्लेख छ।
नेपाली कांग्रेसको सङ्गठन निर्माण र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि उनले पुर्याएको योगदान सदैव स्मरणीय रहने कांग्रेसले जनाएको छ। उनको निधनबाट नेपाली कांग्रेसले नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा, निष्ठावान् एवं अनुभवी राजनीतिज्ञलाई गुमाएको उल्लेख गरेको छ। उनका तीन छोराहरू- कृष्णचन्द्र खरेल, महेश खरेल (पाँचखाल नगरपालिकाका प्रमुख एवं काभ्रेपलान्चोक प्रतिनिधि सभा क्षेत्र नं. २ का क्षेत्रीय सभापति) र शैलेस खरेल छन्।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। सभापति थापाले भने,“विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसको आदर्श, सिद्धान्त र लोकतान्त्रिक आन्दोलनमा निरन्तर समर्पित रहनुभएका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधनको खबरले मलाई अत्यन्त स्तब्ध र दुःखीत बनाएको छ। नेपाली कांग्रेसको सङ्गठन सुदृढीकरण, लोकतन्त्र स्थापनाका आन्दोलन तथा लोकतन्त्र पुनर्स्थापनाको सङ्घर्षका क्रममा उहाँले भोग्नु भएको लामो जेल जीवन, त्याग, समर्पण र सङ्घर्ष पार्टीको इतिहासमा सदा स्मरणीय रहनेछ। उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजन र आफन्तजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु।”
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.