पनौती – “अश्लील कुरा, यौनसम्बन्धी सामग्री र सनसनीपूर्ण विषयवस्तुहरू बढी देखिन थालेका छन्। अहिले मिलियन भ्युज केमा छ? राम्रो काम गर्नुभयो भने त्यो भ्युज आउनेवाला छैन। सामाजिक सञ्जाल हेर्नुहोस्, अत्यन्त राम्रो कामभन्दा पनि एल्गोरिदमले खराब–खराब कुरा देखाउँछ, अनि समाज नै खराब छ भन्ने निष्कर्षतर्फ लगिरहेको छ। मानिसलाई पनि आफ्नो जिम्मेवारीबारे सचेत बनाउनुपर्यो। माथिदेखि तल र तलदेखि माथिसम्म सबैले आफ्नो भूमिका बुझ्नुपर्छ।”
यी भनाइ नागरिकको अपेक्षा र जिम्मेवार पत्रकारिता विषयमा सम्पादक समाज नेपालले काभ्रेको पनौती नगरपालिकामा आयोजना गरेको कार्यक्रममा आरआर क्याम्पस, पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख डा. जगत नेपालले व्यक्त गरेका हुन्। उनले बदलिँदो सञ्चार परिवेश, सामाजिक सञ्जालको प्रभाव र पत्रकारिताले सामना गरिरहेका चुनौतीबारे गम्भीर चिन्ता व्यक्त गरे।
उनका अनुसार जनमत निर्माणमा परम्परागत सञ्चारमाध्यमको प्रभाव कमजोर बन्दै गएको छ भने सामाजिक सञ्जाल जनमत निर्माणको प्रमुख माध्यमका रूपमा स्थापित हुँदै गएको छ। तर सामाजिक सञ्जालमा प्रसारित अधिकांश सामग्रीले विश्वसनीयता परीक्षण र सम्पादकीय छनोटको प्रक्रिया पूरा नगर्ने भएकाले नागरिकको सोचमा गुणस्तरीय सूचनाभन्दा ‘जङ्क’ सामग्री भरिने अवस्था सिर्जना भएको उनले बताए।
“जनमत निर्माणमा मिडिया कमजोर भइरहेको छ। जनमत सामाजिक सञ्जालले निर्माण गरिरहेको छ, जसको विश्वसनीयता छैन वा गेटकिपिङ प्रक्रिया पूरा गर्दैन। मानिसको दिमागमा जङ्क सामग्री भरिरहेको छ। त्यसैले पत्रकारिताले नयाँ चुनौती सामना गरिरहेको छ,” उनले भने।
नेपालमा इन्टरनेटको पहुँच तीव्र रूपमा विस्तार भएको उल्लेख गर्दै डा. नेपालले मोबाइलसहितको प्रयोग हेर्दा इन्टरनेट पहुँच १४६ प्रतिशतभन्दा माथि पुगेको र करिब आधा जनसंख्याले सामाजिक सञ्जाल प्रयोग गरिरहेको बताए। उनका अनुसार नेपालमा सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या झन्डै १ करोड ४८ लाख पुगेको छ, र यो प्रवृत्ति नेपालमा मात्र नभई विश्वव्यापी रूपमा पनि देखिएको छ।
उनले सञ्चारमाध्यमहरूले आफ्ना सामग्री नयाँ पुस्ताका प्रयोगकर्तासम्म पुर्याउने तरिकामा पनि परिवर्तन आवश्यक रहेको औँल्याए।
“मिडिया हाउसहरूले सार्वजनिक सरोकारका विषयमा काम गरेका छन् भने उनीहरूले यही माध्यममार्फत पनि श्रोतासँग संवाद गर्ने सामग्री तयार गर्नुपर्छ। हामीले परम्परागत वा लिगेसी मिडियामा बनेको सामग्री जस्ताको तस्तै सामाजिक सञ्जालमा राखिरहेका छौँ, जुन त्यहाँका दर्शक–श्रोताका लागि रुचिकर भइरहेको छैन। त्यसतर्फ पनि ध्यान दिनुपर्छ,” उनले भने।
लोकतन्त्रमा सञ्चारमाध्यम जनताको एजेन्डा बोक्ने प्रभावकारी संस्था हुनुपर्ने भए पनि अहिले त्यो भूमिकामा कमजोरी देखिएको उनको भनाइ थियो।
“मिडिया कम छ, प्रभाव बढी छ। तर जिम्मेवारी लिन चाहँदैन। समाचार र विज्ञापनबीचको भिन्नता समेत छुट्याउन गाह्रो हुने अवस्था देखिन्छ। कुन विज्ञापन हो र कुन समाचार हो भन्ने स्पष्टता नै हराउन थालेको छ,” उनले भने।
उनले राम्रो पत्रकारिता गरिरहेका व्यक्तिहरूभन्दा पत्रकारिताको नाममा बदमासी गर्नेहरू छिटो चर्चामा आउने प्रवृत्तिले गुणस्तरीय पत्रकारिता गर्नेहरूलाई निरुत्साहित बनाइरहेको बताए।
“तपाईँले मेरो ज्यान बचाउनुभएको छ, त्यसका लागि म सधैँ आभारी छु। तर तपाईँको गुणस्तरहीन लेख छापेर म मेरो पत्रिकाको स्तर खस्काउन चाहन्न। बरु जहाँ हाम्रो मित्रता सुरु भएको थियो, त्यहीँ लगेर टुंग्याइदिऔँ, मलाई फेरि पोखरीमा फालिदिनुहोस्।”
पत्रकारितामा पुरस्कार र सम्मान वितरणको संस्कृतिमाथि पनि प्रश्न उठाउँदै उनले योग्यता र योगदानका आधारमा भन्दा भागबन्डाका आधारमा पुरस्कार बाँडिने प्रवृत्ति बढेको टिप्पणी गरे।
“पहिला पत्रकारिताको मिसन थियो। प्रजातन्त्र स्थापनाको लक्ष्य थियो। आज त्यो मिसन नै हराएको जस्तो देखिन्छ। धेरै मिडियाको सम्पादकीय लाइन नै छैन जस्तो लाग्छ, किनभने त्यहाँ विचार र नीतिबारे पर्याप्त छलफल हुँदैन,” उनले भने।
उनका अनुसार सञ्चार संस्थाको मूल आधार मानिने न्युज रुम कमजोर बन्दै गइरहेका छन्। सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने सञ्चारमाध्यमप्रतिको जनविश्वास पनि खस्किँदै गएको छ।
“न्युजरुम कमजोर भएको छ। सामाजिक उत्तरदायित्व बोक्नुपर्ने मिडियाप्रतिको विश्वास कमजोर भइरहेको छ। यही कारणले कर्पोरेट सञ्चारगृहहरू पनि दबाबमा छन्। उनीहरूले प्रभावकारी काम गर्न सकेका छैनन्। प्रसारणमूलक प्रचारबाजी बढिरहेको छ, जसले पत्रकारितालाई थप अप्ठ्यारो बनाएको छ,” उनले भने।

डा. नेपालले सञ्चारमाध्यम कमजोर हुँदा समाजको संरचनामै असर पर्ने चेतावनी दिए। उनले भूकम्पपछि मुख्य खम्बा भाँचिएको घरसँग तुलना गर्दै सञ्चारमाध्यमको सङ्कटलाई गम्भीर रूपमा लिनुपर्ने बताए।
“न्युज मिडिया कमजोर हुँदा समाज भूकम्पपछि मुख्य पिलर भाँचिएको घरजस्तै बन्छ। यसलाई जोगाउन सरोकारवालाबीच गम्भीर छलफल हुनुपर्छ। समग्र मिडिया क्षेत्रलाई कसरी सुधार गर्ने भन्नेबारे श्वेतपत्र आउनुपर्छ,” उनले भने, “हाम्रो कमजोरी के हो? राज्यले के गर्दा हानि हुन्छ? कुन–कुन ठाउँमा कमजोरी छन्? ती समस्याको समाधान कसरी गर्ने? यी सबै विषयमा खुला बहस आवश्यक छ।”
पत्रकारिता क्षेत्रको सुधारका लागि समस्या पहिचानलाई पहिलो सर्त मान्दै उनले चिकित्सकीय उदाहरण प्रस्तुत गरे।
“डाक्टरले उपचार गर्नुअघि रोगको सही पहिचान गर्छ। केही समयअघि बोन म्यारो परीक्षण गर्नुपर्ने भनिएको थियो। तर तीन महिनापछि समस्या क्यान्सर नभई भिटामिन बी–१२ को कमी भएको पत्ता लाग्यो। सुरुमा नै गलत निष्कर्ष निकालेर उपचार गरिएको भए अवस्था जटिल हुन सक्थ्यो। त्यसैले समाधान खोज्नुअघि सही निदान आवश्यक हुन्छ,” उनले भने।
कार्यक्रममा उनले सम्पादकीय स्वतन्त्रता र गुणस्तर कायम राख्नुपर्ने आवश्यकताबारे एउटा रोचक प्रसङ्ग पनि सुनाए।
उनका अनुसार एक सम्पादक टौदहमा हिँड्ने क्रममा चिप्लिएर पानीमा खसे। पौडी खेल्न नजानेका उनलाई स्थानीय एक व्यक्तिले देखेर कपाल समातेर बाहिर निकाले र ज्यान बचाए। सम्पादकले आभार व्यक्त गर्दै आफ्नो परिचयपत्र दिए र कुनै काम परे सम्पर्क गर्न भने।
त्यसको भोलिपल्टदेखि ज्यान बचाइदिएका ती व्यक्ति आफ्नो लेख लिएर सम्पादककहाँ आउन थाले। उनले बारम्बार लेखको गुणस्तरबारे सोधिरहे। सम्पादकले सुरुमा “राम्रो छ” भने पनि लेख प्रकाशन योग्य थिएन। पटक–पटकको आग्रहपछि सम्पादकले अन्ततः भने, “तपाईँले मेरो ज्यान बचाउनुभएको छ, त्यसका लागि म सधैँ आभारी छु। तर तपाईँको गुणस्तरहीन लेख छापेर म मेरो पत्रिकाको स्तर खस्काउन चाहन्न। बरु जहाँ हाम्रो मित्रता सुरु भएको थियो, त्यहीँ लगेर टुंग्याइदिऔँ, मलाई फेरि पोखरीमा फालिदिनुहोस्।”
यो प्रसङ्ग सुनाउँदै डा. नेपालले प्रश्न गरे, “के आजको सम्पादकीय नेतृत्वले यस्तो व्यावसायिक साहस र गुणस्तरप्रतिको प्रतिबद्धता कायम राखिरहेको छ?” उनका अनुसार पत्रकारिताको विश्वसनीयता जोगाउने आधार नै सम्पादकीय स्वतन्त्रता, गुणस्तर र सार्वजनिक उत्तरदायित्व हो।
“अहङ्कार बढ्दै गएको छ। वडा सदस्य, अध्यक्ष, मेयर, प्रदेश वा सङ्घको प्रतिनिधि जोसुकै भए पनि ‘म’ भन्ने भावना बढ्दै गएको देखिन्छ। समाज अनुदारवादतर्फ गइरहेको हो कि भन्ने चिन्ता छ। अब समाजलाई उदारवादतर्फ फर्काउन, सही मूल्य स्थापित गर्न र देशलाई टिकाउन पत्रकारहरूको भूमिका महत्त्वपूर्ण छ,”
सम्पादक समाज नेपालले हरेक जिल्लामा क्रियाशील पत्रकारको भेला गरी ‘जिम्मेवार पत्रकारिता र नागरिक अपेक्षा’ विषयक अन्तरक्रिया कार्यक्रम गर्दै आएको जनाएको छ। सोही कार्यक्रमअन्तर्गत सम्पादक समाज नेपालले असार ६ गते शनिवार काभ्रेपलान्चोक जिल्लाको पनौतीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो।
समाजका अध्यक्ष पुरु रिसालको सभापतित्वमा भएको अन्तरक्रियामा पछिल्लो समय विभिन्न सञ्चार माध्यमहरूले आफ्नो भ्युज बढाउने आशामा नाटकीय खबर सम्प्रेषण गर्दा वास्तविक खबर छायामा पर्दै गइरहेको पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारीले बताए। उनले पत्रकारिता क्षेत्रलाई जिम्मेवार बनाउन सम्बन्धित सबै पक्ष गम्भीर बन्नुपर्नेमा जोड दिए।

भण्डारीले समाज कुन दिशातर्फ जाँदैछ भन्ने चिन्ता रहेको बताए। कम्तीमा पनि अब फेरि आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना हुनुहुँदैन भन्दै उनले नागरिक समाज, लोकतन्त्रप्रेमी र अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले बोल्न पाउने अधिकार स्थापित गर्न गरेको सङ्घर्ष स्मरण गरे। “धेरै पत्रकार साथीहरूले यसका लागि जीवन कुर्बान गर्नुभएको छ। तर अहिले ती सबै कुरा यो पुस्ताले बिर्सँदै गएको छ। हाम्रै कुरा पनि उनीहरूले विश्वास नगर्ने अवस्था सिर्जना भएको छ,” उनले भने।
उनले सत्य र विश्वासको मूल्य समाजमा क्रमशः कमजोर बन्दै गएको टिप्पणी गरे। “बाउ विश्वास हो, आमा सत्य हो भनेजस्तै मूल्य पनि बिर्सिसकेका छौँ। केही गरी भएन, आफ्नो आवश्यकता पूरा भएन भने किन मलाई जन्माएको भन्ने प्रश्न गर्ने अवस्था सिर्जना भएको छ,” उनले भने।
“सम्पादक समाज लगायत नागरिकसँग प्रत्यक्ष जोडिएका संस्थाहरूले नागरिकसँग सामीप्यता कायम गर्न सकेनन् भने हाम्रो पतन निश्चित छ,” नगरप्रमुख भण्डारीले भने, “चाहे राजनीतिकर्मी हुन्, चाहे नागरिक अभियन्ता, चाहे समाजलाई सही दिशातर्फ लैजान खोज्ने अन्य पक्ष नै किन नहुन्, हामी जोडिन सकेनौँ भने दुर्घटनामा पर्छौँ। त्यसकारण सबै सचेत र जागरूक हुनुपर्छ।”
“नन मिडियाले मिडियाको रोल गर्दा मिडिया पछि परेको भन्ने कुरा आयो। नागरिकलाई सही सूचना दिनुपर्छ भन्ने विषय पनि उठ्यो। हामीले एउटै कन्टेन्ट फनफनी चारैतिर घुमाउन थाल्यौँ भने हाम्रो विश्वसनीयता रहँदैन। हामीमा सृजनशीलता हुनुपर्छ,”
उनले नागरिकको उत्तरदायित्व बिस्तारै हराउँदै गएको पनि बताए। “अहङ्कार बढ्दै गएको छ। वडा सदस्य, अध्यक्ष, मेयर, प्रदेश वा सङ्घको प्रतिनिधि जोसुकै भए पनि ‘म’ भन्ने भावना बढ्दै गएको देखिन्छ। समाज अनुदारवादतर्फ गइरहेको हो कि भन्ने चिन्ता छ। अब समाजलाई उदारवादतर्फ फर्काउन, सही मूल्य स्थापित गर्न र देशलाई टिकाउन पत्रकारहरूको भूमिका महत्त्वपूर्ण छ,” उनले भने।
नेपाल बार एसोसिएसन काभ्रेका अध्यक्ष हरिशरण दाहालले न्यायाधीशहरूले निर्भीक ढङ्गले न्यायिक मन प्रयोग गरेर फैसला गर्न नसकेको टिप्पणी गरे। उनले अदालती रिपोर्टिङ कम भएको बताउँदै प्रधानन्यायाधीशमा वरियता मिचेर नियुक्ति गरिएपछि न्यायाधीशहरूसमेत डराउने अवस्था सिर्जना भएको र न्याय मर्न थालेकोमा चिन्ता व्यक्त गरे।
अध्यक्ष दाहालले समाजका विकृति र विसङ्गतिबारे सत्यतथ्य सूचना दिन पत्रकारले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए। उनले लोकतन्त्रको मर्म र भावनाअनुरूप काम नभएको, कानुनी शासनमाथि चुनौती बढ्दै जाँदा पनि मिडियादेखि अन्य क्षेत्रसम्म बोल्न डराउने प्रवृत्ति बढेको उल्लेख गरे।
नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा. महेन्द्र विष्टले पत्रकारितालाई केवल मनको आवेगबाट नभई उत्तरदायित्व र आत्मसमीक्षाका साथ अगाडि बढाउनुपर्ने बताए। “डेमोक्रेसीलाई समाप्त हुन दिने कुरा आउँदैन,” उनले भने, “पत्रकारिताले नयाँ ढङ्गले रिअलाइजेशन पनि गर्दै, आपसी विश्वासलाई अझ बढाउँदै, सहकार्यको माध्यमबाट अगाडि बढ्नुपर्छ।”
उनले गैरसञ्चार माध्यमले सञ्चार माध्यमको भूमिका निर्वाह गर्न थालेपछि पत्रकारितामाथि चुनौती थपिएको बताए। “नन मिडियाले मिडियाको रोल गर्दा मिडिया पछि परेको भन्ने कुरा आयो। नागरिकलाई सही सूचना दिनुपर्छ भन्ने विषय पनि उठ्यो। हामीले एउटै कन्टेन्ट फनफनी चारैतिर घुमाउन थाल्यौँ भने हाम्रो विश्वसनीयता रहँदैन। हामीमा सृजनशीलता हुनुपर्छ,” डा. विष्टले भने, “यसका लागि यो कार्यक्रमले धेरै नै प्रेरणा दिएको छ।”
सम्पादक समाज नेपालले यस्तै अन्तरक्रिया कार्यक्रम नुवाकोट र काठमाडौँमा सम्पन्न गरिसकेको जानकारी गराउँदै महासचिव श्यामकाजी डोटेलले नागरिकको अपेक्षाअनुरूप पत्रकारलाई जिम्मेवार बनाउन सम्पादक समाजले विगत एक वर्षदेखि गृहकार्य गरिरहेको र यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने जानकारी गराए।
बागमती प्रदेशका सबै जिल्लामा यस प्रकारका अन्तरक्रिया कार्यक्रम क्रमशः सञ्चालन गर्दै जाने तथा पत्रकारलाई जिम्मेवारीबोध गराउँदै पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउने लक्ष्यका साथ समाज क्रियाशील रहेको पनि महासचिव डोटेलले जानकारी गराए।
अध्ययनकर्ता तोया गौतमले मोफसल पत्रकारिताको सन्दर्भमा काभ्रेपलान्चोकको अवस्थाबारे प्रस्तुति दिँदै पत्रकारिता क्षेत्रको उत्थान र विकासका लागि स्थानीय तहदेखि केन्द्र सरकारसम्मले ध्यान दिनुपर्नेमा जोड दिए। उनले विसं २००८ मा वीरगन्जबाट ‘सेवा’ साहित्यिक पत्रिका प्रकाशन भएको इतिहास स्मरण गर्दै काभ्रेपलान्चोकमा हाल ४ दैनिक र ४३ साप्ताहिक पत्रिका दर्ता रहेको, जसमध्ये १६ वटा साप्ताहिक नियमित प्रकाशनमा रहेको जानकारी दिए। स्थानीय विषयवस्तुलाई प्राथमिकता दिँदा नागरिकको विश्वास बढ्ने उनको भनाइ थियो।
नेपाल पत्रकार महासङ्घ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपानेले पत्रकारिता क्षेत्रको भविष्यप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सञ्जालको प्रभावले पत्रकारिताको गुणस्तर कायम गर्न थप चुनौती सिर्जना गरेको बताए। सङ्घीयता कार्यान्वयनपछि मिडिया हाउसहरूको आम्दानी घटेको र पत्रकारिता पेसाप्रति नयाँ पुस्ताको आकर्षण पनि कम हुँदै गएको उनको भनाइ थियो।
सम्पादक समाज नेपालका संरक्षक किरण वैद्यले विगतका पत्रकारहरू तुलनात्मक रूपमा बढी जिम्मेवार रहेको उल्लेख गर्दै केही पत्रकारका कारण समग्र पत्रकारिता क्षेत्र बदनाम भएको टिप्पणी गरे। पत्रकारिताको विश्वसनीयता जोगाउन नागरिकले पनि पत्रकारलाई सचेत र जिम्मेवार बनाउन भूमिका खेल्नुपर्ने उनले बताए।
सहभागीहरूको तर्फबाट केशवराज पौडेलले नयाँ पुस्तालाई पत्रकारितातर्फ आकर्षित गर्ने कार्यक्रम आवश्यक रहेको धारणा व्यक्त गरे। नेपाल पत्रकार महासङ्घ काभ्रेका पूर्वअध्यक्ष महेश पौडेलले पत्रकारिता अझै बिग्रिनसकेको तर समयमै आत्मसमीक्षा, सुधार र सचेतना आवश्यक रहेको बताए।
पत्रकार ज्योति श्रेष्ठले महिला पत्रकारहरूको सहभागिता बढाउन विशेष पहल गर्न आग्रह गरिन् भने ईश्वरी राजकुमार मैनालीले पत्रकारिताभित्र रहेका कमजोरीहरू सुधार्नुपर्ने धारणा राखेका थिए।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका कार्यकारी निर्देशक भीम गौतमले सामाजिक सञ्जाललाई पूर्णरूपमा रोक्न नसकिए पनि जिम्मेवार, तथ्यपरक र विश्वसनीय पत्रकारितामार्फत त्यसका नकारात्मक प्रभावलाई नियन्त्रण गर्न सकिने बताए।
नेपाल रेडक्रस सोसाइटी काभ्रेका मन्त्री राजु सिग्देलले जिम्मेवार पत्रकारिता आजको आवश्यकता रहेकोमा जोड दिए। काभ्रेपलान्चोकका सक्रिय पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा सम्पादक समाजका उपाध्यक्ष तथा गोरखापत्र दैनिकका प्रधान सम्पादक जुनारबाबु बस्नेतले स्थानीय आवश्यकतालाई नीति निर्माण गर्ने केन्द्रसम्म पुर्याउने महत्त्वपूर्ण सेतु पत्रकारिता नै भएको उल्लेख गरे।
उनले पत्रकारिताले स्थानीय आवाज, आवश्यकता र सरोकारलाई केन्द्रसम्म जोड्ने काम गर्दै आएको भन्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पक्षलाई धन्यवाद ज्ञापन गरेका थिए।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.