मलमासको महिमासँग श्रीनरसिंह धामको आध्यात्मिक महत्त्व!

मलमासको महिमासँग श्रीनरसिंह धामको आध्यात्मिक महत्त्व!

59
SHARES

भर्खरै मलमास सम्पन्न भएको छ। यस पवित्र अवधिभर हामीले भगवान् विष्णु विराजमान हुनुभएका विभिन्न तीर्थस्थलहरूमा पुगेर दर्शन गर्‍यौँ, पवित्र नदी तथा कुण्डहरूमा स्नान गर्‍यौँ, पूजा-आराधना र भजन-कीर्तनमार्फत आफ्नो जीवनलाई आध्यात्मिक ऊर्जाले भरिपूर्ण बनायौँ।

तर हाम्रो मनमा एउटा प्रश्न उठ्न सक्छ-मलमास भनेको वास्तवमा के हो? किन यस महिनामा भगवान् विष्णुसँग सम्बन्धित तीर्थस्थलहरूको दर्शन र स्नानलाई विशेष महत्त्व दिइन्छ?

आउनुहोस्, आज एकपटक मलमास र भगवान् विष्णु विराजमान हुनुभएको श्रीनृसिंह धामको गहिरो सम्बन्ध, वास्तविक अर्थ, र यसको आध्यात्मिक महत्त्व बुझ्ने प्रयास गरौँ। प्रस्तुत लेख यसैमा आधारित छ।

हिन्दू धर्मको आध्यात्मिक परम्परामा भक्ति, धर्म र ईश्वरीय संरक्षणका अनेक कथाहरू पाइन्छन्। तीमध्ये प्रह्लाद र श्रीनृसिंह भगवानको कथा अत्यन्त महत्त्वपूर्ण मानिन्छ। यो कथा केवल पुरानो पौराणिक घटना मात्र होइन, यो मानव जीवनभित्रको विश्वास, सङ्घर्ष र अन्तिम विजयको प्रतीक पनि हो।

हिन्दू पौराणिक कथाअनुसार, दैत्यराज हिरण्यकश्यपु अत्यन्त शक्तिशाली र अहङ्कारी असुर राजा थिए। उनी आफूलाई नै भगवान् ठान्थे। उनले कठोर तपस्या गरेर ब्रह्माबाट न मानिसले मार्न सक्ने, न जनावरले, न दिनमा, न रातमा, न भित्र, न बाहिर, न आकाशमा, न पृथ्वीमा यस्तो वरदान पाएका थिए। यस वरदानले उनलाई अत्यन्त अहङ्कारी बनायो। र, सम्पूर्ण संसारलाई आफ्नो अधीनमा राख्न खोजे।

उनले आफ्नो राज्यमा सबैलाई आफ्नो पूजा गर्न आदेश दिए, तर उनका पुत्र प्रह्लाद भने बाल्यकालदेखि नै भगवान् विष्णुका अनन्य भक्त थिए। प्रह्लाद सधैँ भगवान् विष्णुको नाम स्मरण गरिरहन्थे। उनी हरेक परिस्थितिमा “नारायण” नाम जपिरहन्थे। उनका पिताले उनलाई अनेक यातना दिए पनि उनको भक्ति कहिल्यै कमजोर भएन।

अन्ततः हिरण्यकश्यपुले प्रह्लादलाई स्तम्भ देखाएर सोधे-“के तिम्रो भगवान् यहाँ पनि छन्?”

प्रह्लादले उत्तर दिए-“उहाँ सबै ठाउँ हुनुहुन्छ।”

“यदि सबै ठाउँमा हुनुहुन्छ भने लौ त यो स्तम्भमा देखाऊ.. त ?”- हिरण्यकश्यपु प्रश्न गर्छन्।

प्रह्लादको विश्वासले एउटा चमत्कार भयो। राजमहलको स्तम्भ अचानक कम्पन भयो र फाटेर भगवान् विष्णु नृसिंह रूप (आधा मानिस र आधा सिंह)को रूपमा प्रकट हुनुभयो। उहाँ न दिनमा, न रातमा, न भित्र, न बाहिर, न पूर्ण मानिस, न जनावरको त्यस्तो रूपमा देखा पर्नुभयो। हिरण्यकश्यपुको कुनै पनि वरदानले उहाँलाई रोक्न सकेन। उहाँले हिरण्यकश्यपुलाई वध गरेर धर्मको रक्षा गर्नुभयो।

यसरी अहङ्कार समाप्त भयो र धर्मको विजय भयो।

भगवान् श्रीनृसिंहको यो कथा केवल दैत्यवधको कथा मात्र होइन, यो धर्म, भक्ति, साहस र ईश्वरीय संरक्षणको प्रतीक पनि हो।

हिन्दू धर्ममा भगवान् विष्णुका दश अवतारमध्ये श्रीनृसिंह भगवान् विष्णुका चौथो अवतार हुन्। उहाँले भक्त प्रह्लादको रक्षा गर्न र अत्याचारी हिरण्यकश्यपुको विनाश गर्न आधा मानिस र आधा सिंहको रूप धारण गरी श्रीनृसिंह भगवान् अवतार लिनुभएको थियो।

यो घटनाले देखाउँछ कि जब अन्याय चरम सीमामा पुग्छ, तब ईश्वर आफैँ प्रकट भएर सत्य र भक्तिको रक्षा गर्नुहुन्छ। प्रह्लाद यहाँ अटल विश्वासका प्रतीक हुन् भने श्रीनृसिंह भगवान् दिव्य न्याय र संरक्षणका प्रतीक हुन्।

तर कथा यहीँ समाप्त हुँदैन। श्रीनृसिंह भगवान् त्यस क्षण अत्यन्त क्रोधमा हुनुहुन्थ्यो। उहाँको उग्र रूपले सृष्टि नै भयभीत भयो। देवता र ऋषिहरूले उहाँलाई शान्त हुन प्रार्थना गरे, तर कुनै उपाय सफल भएन।

त्यसपछि देवी-देवताहरूको धेरै विनम्र प्रार्थनापछि श्रीनृसिंह भगवान् हिमालय क्षेत्रतर्फ जानुभयो। यही क्रममा उहाँ हाल धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका-१, सल्यानटारको फेदीमा रहेको नेत्रावती (आँखु) क्षेत्रमा पुग्नुभयो। एकातिर बूढीगण्डकी अर्कोतिर नेत्रावती यी दुई नदीको सङ्गमको पवित्र जलमा स्नान गरेपछि उहाँको उग्रता शान्त भयो।

गोरखा र धादिङ जिल्लाको सिमानामा पर्ने दुई नदीको संगमस्थल (दोभान) प्राचीन समयदेखि नै श्रीनृसिंह धामका रूपमा प्रसिद्ध छ। त्यसैले नेत्रावती (आँखु) नदीको विशेष धार्मिक महत्त्व रहेको छ। यस कारण श्रीनृसिंह धामलाई पवित्र तीर्थस्थलका रूपमा मानिन्छ। किनकि,यस ठाउँको महिमा विशेष गरी श्रीनृसिंह भगवान् र दैत्यराज हिरण्यकश्यपुको कथासँग जोडिन्छ। यो कथा केवल पौराणिक घटना होइन, शान्ति, क्रोध र रूपान्तरणको गहिरो प्रतीक पनि हो।

क्रोध पनि शान्तिमा बदलिन सक्छ, शक्ति पनि करुणामा रूपान्तरण हुन सक्छ, विजय पछि पनि शान्ति आवश्यक हुन्छ।

यसै सन्दर्भमा मलमास (अधिक मास) को पनि चर्चा गर्नुपर्ने हुन्छ। मलमासको विशेष महत्त्व छ। मलमास केवल पात्रोमा थपिएको एक अतिरिक्त महिनामात्र होइन। मलमास, जसलाई अधिक मास वा पुरुषोत्तम मास पनि भनिन्छ, हिन्दू धर्ममा अत्यन्त पवित्र र पुण्यदायी समय मानिन्छ। यो महिना भगवान् विष्णुलाई समर्पित छ।

मलमासमा स्नान, विष्णु सहस्रनाम पाठ, भगवद्गीता अध्ययन, श्रीनृसिंह भगवान् स्तोत्र पाठ तथा ध्यान साधना गर्ने परम्परा रहेको छ। यस अवधिमा जप, तप, ध्यान, सत्सङ्ग, दान र बाहिरी कर्मभन्दा भित्री साधनातर्फ फर्किने अवसर र आत्मशुद्धिको विशेष अभ्यास गरिन्छ। यसले मन शुद्ध हुन्छ, चित्त पवित्र बन्छ र जीवनमा आध्यात्मिक जागरणको अनुभूति प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ।

सांसारिक कार्यभन्दा आध्यात्मिक उन्नतिलाई प्राथमिकता दिने यो महिना विशेष गरी आत्मनिरीक्षण, क्षमा, करुणा र सेवा भाव विकास गर्ने अवसरका रूपमा लिइन्छ। यो समय मानिसले आफ्नो भित्रको अहङ्कार, क्रोध र मोहलाई चिन्ने र त्यसलाई रूपान्तरण गर्ने अवसर पनि हो।

यही सन्दर्भमा प्रह्लाद र श्रीनृसिंह भगवानको कथा अझ अर्थपूर्ण हुन्छ। प्रह्लाद विश्वास हुन्, श्रीनृसिंह भगवान् अचानक जाग्ने दिव्य चेतना हुन्, जसले भित्री अन्धकारलाई नष्ट गर्छ, मलमास आत्मशुद्धि हो, श्रीनृसिंह धाम शान्ति हो र हिरण्यकश्यपु हाम्रो भित्रको अहङ्कार हो। यसरी प्रह्लाद, श्रीनृसिंह भगवान्, मलमास र श्रीनृसिंह धाम सबै एकै आध्यात्मिक यात्राका विभिन्न रूप हुन्।

श्रीनृसिंह धामको प्रतीकात्मक अर्थ पनि यही हो। श्रीनृसिंह भगवान् जस्तो उग्र शक्ति पनि अन्ततः शान्त हुनुपर्छ भन्ने सन्देश यहाँ पाइन्छ। शक्ति मात्र होइन, शान्ति पनि आवश्यक छ। विजय मात्र होइन, सन्तुलन पनि जीवनको आधार हो।

यो सम्पूर्ण कथाले हामीलाई जीवनको गहिरो शिक्षा दिन्छ-जहाँ भक्ति अटल हुन्छ, त्यहाँ ईश्वर अवश्य प्रकट हुन्छ, जहाँ अहङ्कार समाप्त हुन्छ, त्यहाँ शान्ति जन्मिन्छ र जहाँ आत्मशुद्धि हुन्छ, त्यहाँ दिव्य अनुभूति प्राप्त हुन्छ।

यसैले श्रीनृसिंह धामको कथा केवल तीर्थ यात्रा होइन, यो मानव चेतनाको यात्रा हो। यसले देखाउँछ-क्रोध पनि शान्तिमा बदलिन सक्छ, शक्ति पनि करुणामा रूपान्तरण हुन सक्छ, विजय पछि पनि शान्ति आवश्यक हुन्छ।

श्रीनृसिंह भगवानको उग्रता शान्त हुनु भनेको बाहिरी युद्ध समाप्त हुनु मात्र होइन, भित्री चेतनाको रूपान्तरण पनि हो।

प्रह्लाद र श्रीनृसिंह बीचको सम्बन्ध केवल एउटा पुरानो कथामा सीमित छैन, बरु यो विश्वास, संरक्षण र आत्मिक सत्यको दीर्घकालीन प्रतीक हो। जब अन्याय, अहङ्कार र अत्याचार चरम सीमामा पुग्छ, तब भगवान् धर्म र भक्तको रक्षाका लागि प्रकट हुनुहुन्छ भन्ने सन्देश यसले दिन्छ।

अतः यसरी हेर्दा, प्रह्लाद र श्रीनृसिंह भगवानको सम्बन्ध तीन तहमा बुझ्न सकिन्छ:

पहिलो: प्रह्लादको भक्ति कारण हो, र श्रीनृसिंह भगवान् प्रकट हुनु त्यसको दिव्य परिणाम हो।

दोस्रो: यो कथा समयसँगै समाप्त हुँदैन। प्रत्येक युगमा, प्रत्येक भक्तको जीवनमा जब विश्वास र सङ्कटको सङ्घर्ष हुन्छ, त्यहाँ प्रह्लाद र श्रीनृसिंहको कथा फेरि फेरि दोहोरिन्छ।

तेस्रो- प्रह्लाद हाम्रो भित्रको शुद्ध भक्ति, विश्वास र प्रेम हो भने, श्रीनृसिंह भगवान् अचानक जाग्ने आत्मबल, साहस र सत्यको शक्ति हो। हिरण्यकश्यपु हाम्रो अहङ्कार, डर र नकारात्मकता हो, जसलाई नष्ट गरेर भित्री शान्ति प्राप्त हुन्छ।

श्रीनृसिंह भगवानको स्वरूपले एउटा गहिरो सन्देश दिन्छ। जब अन्याय, अहङ्कार र अत्याचारले सीमा नाघ्छ, तब ईश्वर कुनै न कुनै रूपमा धर्मको रक्षा गर्न प्रकट हुनुहुन्छ। प्रह्लादले कठिन परिस्थितिमा पनि आफ्नो विश्वास छोडेनन्। त्यसैले श्रीनृसिंह भगवान् अवतारले अटल श्रद्धा र भक्ति अन्ततः विजयी हुन्छ भन्ने शिक्षा दिन्छ।

यो सम्पूर्ण कथाले हामीलाई जीवनको गहिरो शिक्षा दिन्छ-जहाँ भक्ति अटल हुन्छ, त्यहाँ ईश्वर अवश्य प्रकट हुन्छ, जहाँ अहङ्कार समाप्त हुन्छ, त्यहाँ शान्ति जन्मिन्छ र जहाँ आत्मशुद्धि हुन्छ, त्यहाँ दिव्य अनुभूति प्राप्त हुन्छ।

यसरी मलमास, श्रीनृसिंह भगवान् र श्रीनृसिंह धामको सम्बन्ध केवल धार्मिक विश्वासमा सीमित छैन। यसले मानव जीवनलाई धर्म, भक्ति, आत्मशुद्धि र आन्तरिक शान्तिको मार्गमा अघि बढ्न प्रेरणा दिन्छ। नेत्रावती (आँखु) को पवित्र जलले जस्तै हाम्रो मनका अशान्त तरङ्गहरूलाई पनि शान्त बनाउन सकियो भने नै मलमासको वास्तविक महत्त्व पूरा भएको मानिन्छ।

कथाले हामीलाई जीवनमा सत्य, श्रद्धा र सदाचारको मार्गमा अडिग रहन प्रेरणा दिन्छ।

मलमासको सन्देश यही हो-भित्रको हिरण्यकश्यपु (अहङ्कार) लाई जितेर, भित्रको प्रह्लाद (भक्ति) लाई जगाउनु,अनि श्रीनृसिंह धाम झैँ शान्त र पवित्र बन्नु हो।

यसरी, श्रीनरसिंह धाम र मलमासबीचको सम्बन्ध श्रद्धा, भक्ति, आत्मशुद्धि र धार्मिक जागरणसँग गाँसिएको छ। यही कारणले मलमासको समयमा हजारौँ भक्तजनहरू यस पवित्र धाममा पुगेर भगवान् श्रीनरसिंहको दर्शन गरी आध्यात्मिक आनन्द प्राप्त गर्ने गर्छन्। यसैले मलमासमा श्रीनृसिंह भगवानको स्मरण र श्रीनृसिंह धामको महिमा विशेष श्रद्धाका साथ गरिन्छ।

समाचार शेयर गर्नुहोस्
59
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.