काठमाडौँ – नेपाली कांग्रेसले १५औँ महाधिवेशन व्यवस्थापनका लागि केन्द्रीय निर्देशन समितिसहित विभिन्न १५ वटा समिति गठन गरेको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको भदौ १ गते सम्पन्न बैठकले सभापति गगनकुमार थापाको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरेको थियो। त्यसैअनुसार विभिन्न समितिसँग समन्वय र सहजीकरण गर्न, महाधिवेशन प्रक्रियालाई व्यवस्थित बनाउन तथा व्यवस्थापनसँग सम्बन्धित विषयमा तत्काल निर्णय गर्नुपरेमा त्यसको संयोजन गर्न विभिन्न समिति गठन गरिएको हो।
सबै समितिले आफ्नो कार्य विवरणअनुसार ठीक ढङ्गले काम गरे–नगरेको सुनिश्चित गर्दै महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्ने उद्देश्यले १५औँ महाधिवेशन केन्द्रीय निर्देशन समिति र विभिन्न समितिहरू गठन गरिएको कांग्रेसले जनाएको छ।
१५औँ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा सभापति गगनकुमार थापा छन्। समितिको सदस्यमा उपसभापति विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुसाल, महामन्त्री प्रदीप पौडेल, महामन्त्री गुरुराज घिमिरे, कोषाध्यक्ष उमेश श्रेष्ठ, केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’, अर्जुनप्रसाद जोशी, मीनबहादुर विश्वकर्मा, राजेन्द्रकुमार के.सी., सुवासकुमार पोख्रेल र सपना राजभण्डारी रहेका छन्। प्रमुख राजनीतिक सल्लाहकार प्रताप पौडेल सदस्य सचिव छन्।
आर्थिक व्यवस्थापन समितिको संयोजकमा कोषाध्यक्ष उमेश श्रेष्ठलाई जिम्मेवारी दिइएको छ।
सूचना, सञ्चार र प्रविधि समितिको संयोजकमा प्रवक्ता देवराज चालिसे छन्। सदस्यहरूमा केन्द्रीय सदस्य हरिशरण नेपाली, केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, डा. सुरेश आचार्य, शिव लम्साल, अनिता विन्दु, मोहन गजुरेल र शशांकश्री न्यौपाने रहेका छन्।
सचिवालय व्यवस्थापन तथा सूचना समन्वय समितिको संयोजकमा उदयशमशेर राणा छन्। समितिको सदस्यमा केन्द्रीय सदस्य नानु बास्तोला, प्रकाश पन्थ, मुना भुसाल, निपा चोखाल, ममता शर्मा, जानकी गुरुङ, डा. सङ्गीता कार्की कुँवर, काठमाडौँका इन्द्रबहादुर थापा, ललितपुरका बशिष्ठ अधिकारी, भक्तपुरका विष्णु कार्की, युवराज पाण्डे र सुशील भट्ट छन्। प्रत्येक प्रदेशबाट प्रदेश सभापतिको परामर्शमा एक–एक जना सदस्य रहने व्यवस्था गरिएको छ।
अतिथि स्वागत समितिको संयोजकमा सहमहामन्त्री डा. डिला संग्रौला पन्त छन्। सदस्यहरूमा केन्द्रीय सदस्य शान्ति परियार, केन्द्रीय सदस्य गिता सत्याल, केन्द्रीय सदस्य प्रमोदहरी गुरागाईँ र केन्द्रीय सदस्य धर्मराज गौतम रहेका छन्।
महाधिवेशन समारोह स्थल व्यवस्थापन समितिको संयोजकमा काठमाडौँ जिल्ला सभापतिलाई तोकिएको छ। समितिको सदस्यमा ललितपुर, भक्तपुर र काभ्रे जिल्ला सभापतिहरू तथा काठमाडौँ उपत्यकाभित्रका क्षेत्रीय सभापति र नगर सभापतिहरू रहनेछन्।
प्रदेश र स्थानीय तहगत समन्वय समितिको संयोजकमा सहमहामन्त्री बहादुरसिंह लामा छन्। सदस्यमा केन्द्रीय सदस्य प्रतिमा गौतम, केन्द्रीय सदस्य जानकी सिंह, गाउँपालिका राष्ट्रिय महासङ्घ र नगरपालिका सङ्घका अध्यक्ष तथा प्रदेश सभापतिले तोकेको एक–एक जना रहनेछन्।
ज्येष्ठ महाधिवेशन प्रतिनिधि समन्वय समितिको संयोजकमा सुधीर शिवाकोटी छन्। सदस्यमा अनुपा श्रेष्ठ र प्रदेश सभापतिले तोकेको प्रत्येक प्रदेशबाट एक–एक जना रहनेछन्।
स्वयंसेवक व्यवस्थापन समितिको संयोजकमा केन्द्रीय सदस्य गणेश लामा छन्। समितिको सदस्यमा भूतपूर्व सैनिक सङ्घका अध्यक्ष र भूतपूर्व प्रहरी सङ्घका अध्यक्ष रहनेछन्।
भोजन व्यवस्थापन समितिको संयोजकमा केन्द्रीय सदस्य तिलक रानाभाट छन्। सदस्यमा केन्द्रीय सदस्य मनकुमारी गुरुङ, केन्द्रीय सदस्य डा. अमिता प्रधान, मनोजमणि आचार्य र हरेक प्रदेश कार्यसमितिबाट एक–एक जना रहनेछन्।
आवास व्यवस्थापन समितिको संयोजकमा केन्द्रीय सदस्य रमेशप्रसाद धमला छन्। सदस्यमा केन्द्रीय सदस्य नारायण भट्टराई, केन्द्रीय सदस्य दिनेश सुनार, लेखनाथ पोख्रेल, नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घका अध्यक्ष तथा हरेक प्रदेशबाट प्रदेश सभापतिको परामर्शमा एक–एक जना रहनेछन्।
स्वास्थ्य समितिको संयोजकमा केन्द्रीय सदस्य डा. केदारनरसिंह केसी छन्। सदस्यमा डा. अन्जनीकुमार झा, प्रजातन्त्रवादी चिकित्सक सङ्घका अध्यक्ष, नेपाल स्वास्थ्यकर्मी सङ्घका अध्यक्ष र नेपाल लोकतान्त्रिक आयुर्वेद चिकित्सक सङ्घका अध्यक्ष रहनेछन्।
यातायात व्यवस्थापन समितिको संयोजकमा केन्द्रीय सदस्य विजयबहादुर स्वाँर छन्। सदस्यमा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घका अध्यक्ष र सानुकाजी प्रजापति रहेका छन्।
सांस्कृतिक–साहित्यिक संयोजन समितिको संयोजकमा केन्द्रीय सदस्य सिता गुरुङ छन्। सदस्यमा नेपाल सांस्कृतिक महासङ्घका अध्यक्ष, नेपाली लेखक सङ्घका अध्यक्ष, दुर्गा रायमाझी, प्रकाश लामिछाने र विपिन किरण रहेका छन्।
त्यस्तै, विधान मस्यौदा समितिमा केन्द्रीय सदस्य ईश्वरी न्यौपाने, अधिवक्ता प्रमिस खनाल रहेको कांग्रेस पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
कांग्रेसले महाधिवेशन व्यवस्थापनका लागि गठन गरिएका समितिहरूलाई जिम्मेवारीअनुसार काम गर्न र आपसी समन्वयमार्फत महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न परिचालन गर्ने जनाएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.