भोटेकोशी प्रभावित ४ हजार बालबालिकाले पाए प्लान इन्टरनेशनलको सहयोग

भोटेकोशी प्रभावित ४ हजार बालबालिकाले पाए प्लान इन्टरनेशनलको सहयोग

72
SHARES
बाढी प्रभावित परिवारलाई प्लान इन्टरनेशनल नेपालका कर्मचारी तथा साझेदार संस्थाका प्रतिनिधिले राहत सामग्री हस्तान्तरण गर्दै । तस्बिर : मानबहादुर/पहिचान डटकम

कालीकाेट – रसुवामा बाढी आएको एक महिना बितिसक्दा पनि प्रभावित परिवार तथा बालबालिकाको दैनिकी पूर्णरूपमा सामान्य बन्न सकेको छैन। सुरक्षित खानेपानी, शिक्षा, बाल संरक्षण, पोषण तथा अन्य अत्यावश्यक सेवाको पहुँचमा समस्या भोगिरहेका प्रभावित समुदायलाई लक्षित गर्दै प्लान इन्टरनेशनल नेपालले राहत तथा पुनर्स्थापनाको कामलाई निरन्तरता दिएको जनाएको छ।

प्लान इन्टरनेशनल नेपालका अनुसार हालसम्म नुवाकोट, रसुवा तथा आसपासका प्रभावित क्षेत्रमा १२ हजार ४ सय ९३ जनालाई मानवीय सहायता पुर्‍याइएको छ। सहायता पाउनेमध्ये ४ हजार २ सय २ जना बालबालिका रहेका छन्।

बाढीपछिको तत्कालीन राहतबाट पुनर्स्थापनातर्फ अघि बढ्दै गर्दा बालबालिका, किशोरी तथा बढी प्रभावित परिवारलाई प्राथमिकतामा राखेर खानेपानी तथा सरसफाइ, खाद्य सहायता, आश्रय, बाल संरक्षण, शिक्षा, पोषण तथा मनोसामाजिक सहयोग उपलब्ध गराइएको संस्थाले जनाएको छ।

हालसम्म १ लाख ४० हजार लिटरभन्दा बढी सुरक्षित खानेपानी उपलब्ध गराइएको छ भने १४ वटा खानेपानी प्रणाली तथा पानीका मुहान मर्मत तथा पुनर्स्थापना गरिएको छ।

त्यस्तै, २ हजार ८ घरधुरीलाई स्वच्छता सामग्री, १ हजार ३ सय ११ घरधुरीलाई खाद्य सहायता, १ हजार ७३ घरधुरीलाई भान्साका सामग्री तथा ७ सय ३३ घरधुरीलाई आपत्कालीन आश्रय सामग्री उपलब्ध गराइएको छ।

सडक तथा अन्य भौतिक पूर्वाधारमा क्षति पुगेका कारण दुर्गम बनेका क्षेत्रमा पनि राहत सामग्री पुर्‍याइएको छ। विशेषगरी रसुवाको आमाछोदिङ्मो गाउँपालिकाका प्रभावित समुदायमा हवाई उद्धार तथा स्थानीय यातायातको माध्यमबाट राहत सामग्री पुर्‍याइएको प्लान इन्टरनेशनल नेपालले जनाएको छ।

बालबालिकाको संरक्षण र शिक्षामा पनि सहयोग

बाढीपछि बालबालिकाको सुरक्षा तथा मानसिक स्वास्थ्यलाई प्राथमिकता दिँदै विभिन्न क्षेत्रमा छ वटा बालमैत्री स्थान स्थापना गरिएको छ। हालसम्म ७ सय ९९ जनाले मनोसामाजिक सहयोग प्राप्त गरेका छन्।

बाल संरक्षणसम्बन्धी जोखिम पहिचान गरी आवश्यक सेवाका लागि सम्बन्धित निकायमा सिफारिस गरिएको छ। अस्थायी सिकाइ केन्द्र तथा विद्यालयमार्फत शैक्षिक सहयोग उपलब्ध गराउनुका साथै दृष्टिविहीन बालबालिकाका लागि ब्रेल सामग्रीसमेत उपलब्ध गराइएको संस्थाले जनाएको छ।

बालबालिका तथा गर्भवती र सुत्केरी महिलाका लागि पोषण परीक्षण, आवश्यक सामग्री तथा थप उपचार आवश्यक परेमा सम्बन्धित स्वास्थ्य संस्थामा सिफारिस गर्ने व्यवस्था पनि गरिएको छ।

प्लान इन्टरनेशनल नेपालकी कार्यवाहक राष्ट्रिय निर्देशक सृजना गुरुङले आपत्कालीन राहत सकिए पनि प्रभावित परिवारको पुनर्स्थापनाको आवश्यकता समाप्त नहुने बताइन।

“आपत्कालीन राहत सकिएपछि पनि पुनर्स्थापनाको आवश्यकता सकिँदैन। बालबालिकाका लागि सुरक्षित महसुस गर्नु, पढाइमा फर्कनु र आवश्यक सेवामा पहुँच पाउनु पनि पुनर्स्थापनाकै महत्त्वपूर्ण हिस्सा हो,” उनले भनिन।

स्थानीय सरकार तथा साझेदार संस्थासँगको सहकार्यमा दुर्गम तथा प्रभावित समुदायसम्म पुग्ने र राहत तथा पुनर्स्थापनाको प्रक्रियामा बालबालिका तथा किशोरीलाई केन्द्रमा राख्ने कामलाई निरन्तरता दिइरहेको उनको भनाइ छ।

स्थानीय सरकार र साझेदारसँग सहकार्य

प्लान इन्टरनेशनल नेपालले स्थानीय सरकार, नेपाल रेडक्रस सोसाइटी, संयुक्त राष्ट्रसङ्घीय निकाय तथा अन्य मानवीय साझेदारसँगको समन्वयमा राहत वितरण र दुर्गम समुदायसम्म पहुँच विस्तार गरिरहेको जनाएको छ।

संस्थाले खानेपानी तथा सरसफाइ, शिक्षा, बाल संरक्षण, पोषण, आश्रय तथा नगद सहायता लगायतका क्षेत्रमा प्रारम्भिक पुनर्स्थापनाको योजना निर्माणमा समेत सहयोग गरिरहेको छ।

बाढीका कारण घर गुमाएकी विदुरकी ५३ वर्षीया मीनाले प्रतिकार्यअन्तर्गत प्राप्त ग्यास सिलिन्डर र चुलोको सहयोगमा दैनिक जीवन पुनः सञ्चालन गर्न थालेको अनुभवसमेत प्लान इन्टरनेशनल नेपालले सार्वजनिक गरेको छ।

विपद्को प्रतिकार्यमा प्लान इन्टरनेशनल नेपालले डेभलपमेन्ट प्रोजेक्ट सर्भिस सेन्टर (डिप्रोस्क नेपाल), कर्णाली इन्टिग्रेटेड रुरल डेभलपमेन्ट एन्ड रिसर्च सेन्टर (किर्डाक नेपाल) तथा चाइल्ड वर्कर्स इन नेपाल कन्सर्न्ड सेन्टर (सिविन) सँग साझेदारी गरेको छ।

तत्कालीन राहतबाट दीर्घकालीन पुनर्स्थापनातर्फ अघि बढ्दै गर्दा प्रभावित बालबालिका तथा परिवारका लागि सुरक्षित खानेपानी, शिक्षा, संरक्षण र अन्य अत्यावश्यक सेवामा निरन्तर पहुँच सुनिश्चित गर्न थप सहयोग आवश्यक रहेको प्लान इन्टरनेशनल नेपालले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
72
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.