स्केटिङ्ग सङ्घको बैङ्क खाता सञ्चालनमा प्रश्न, बैङ्कका कागजात छानबिन गर्न माग

स्केटिङ्ग सङ्घको बैङ्क खाता सञ्चालनमा प्रश्न, बैङ्कका कागजात छानबिन गर्न माग

67
SHARES

काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता रहेको नेपाल स्केटिङ्ग तथा स्केटबोडिङ्ग सङ्घको बैङ्क खाता सञ्चालन तथा पदाधिकारीसम्बन्धी विवरणलाई लिएर प्रश्न उठेको छ।

सङ्घको बैङ्क खाता सञ्चालनमा आधिकारिक अभिलेखसँग मेल नखाने विवरण प्रयोग गरिएको हुन सक्ने भन्दै सम्बन्धित बैङ्कका कागजात झिकाएर निष्पक्ष छानबिन गर्न माग गरिएको छ।

उपलब्ध कागजात अनुसार राखेपमा दर्ता नं. १५० तथा २०७२/०६/१७ मा दर्ता रहेको सङ्घको हालको वैधानिक कार्यसमिति तथा राखेपको अभिलेखअनुसार बैङ्क खाता सञ्चालकका रूपमा अध्यक्ष अच्युत खनाल, महासचिव सत्य थापा र कोषाध्यक्ष रत्ना कुमारी राई छन्।

तर, सङ्घको वर्तमान कार्यसमितिमा नरहेकी तथा राखेपको आधिकारिक अभिलेखमा समेत पदाधिकारीका रूपमा नरहेकी पवित्रा रेग्मीलाई कोषाध्यक्ष तथा बैङ्क खाता सञ्चालकका रूपमा प्रयोग गरी बैङ्किङ कारोबार सञ्चालन गरिएको भन्ने आरोप उठेको छ।

उक्त विषयमा सङ्घको तर्फबाट बैङ्कमा पेश गरिएका कागजात, पदाधिकारीसम्बन्धी विवरण तथा खाता सञ्चालक परिवर्तनका निर्णयहरूको वैधानिकतामाथि प्रश्न उठाइएको छ।

बैङ्कका सम्पूर्ण कागजात झिकाएर परीक्षण गर्न माग

उजुरीमा सम्बन्धित बैङ्कबाट सङ्घको बैङ्क खाता खोल्दादेखि हालसम्म पेश भएका महत्त्वपूर्ण कागजातहरू झिकाई परीक्षण गर्न माग गरिएको छ।

विशेषगरी, बैङ्क खाता खोल्दा पेश गरिएका सम्पूर्ण कागजात, केवाइसी विवरण, बैङ्कमा रहेको हस्ताक्षर, खाता सञ्चालक परिवर्तनसम्बन्धी निर्णय, सङ्घको बैठकका माइन्युट, पदाधिकारी परिवर्तनसम्बन्धी निर्णय तथा पत्राचार, बैङ्कमा पेश गरिएका अधिकारपत्र तथा अन्य सम्बन्धित कागजात झिकाई राखेपको आधिकारिक अभिलेख तथा सङ्घका वास्तविक निर्णयसँग तुलना गर्न माग गरिएको छ।

सरकारी अनुदान र संस्थाको रकमबारे समेत प्रश्न

उजुरीकर्ताले बैङ्क खाता सञ्चालनमा अनधिकृत व्यक्ति प्रयोग गरिएको पुष्टि भएमा त्यसबाट भएका सम्पूर्ण आर्थिक कारोबारको समेत अनुसन्धान गर्नुपर्ने बताएका छन्।

विशेषगरी सङ्घले प्राप्त गरेको सरकारी अनुदान तथा अन्य संस्थागत रकम कुन व्यक्तिको हस्ताक्षरबाट, कुन मितिमा र कुन प्रयोजनका लागि सञ्चालन तथा खर्च गरिएको थियो भन्ने विषयमा वित्तीय परीक्षण आवश्यक रहेको माग गरिएको छ।

यदि अनुसन्धानबाट किर्ते कागजात, गलत विवरण वा अनधिकृत रूपमा बैङ्क खाता सञ्चालन गरेको प्रमाणित भएमा संलग्न व्यक्तिमाथि प्रचलित कानूनअनुसार कारबाही हुनुपर्ने माग गरिएको छ।

कागजात परीक्षणपछि मात्र वास्तविकता खुल्ने यस विषयमा उठेका आरोपहरू प्रमाणित भइसकेका तथ्य नभएकाले सम्बन्धित बैङ्कमा रहेको मूल कागजात, राखेपको आधिकारिक अभिलेख, सङ्घका निर्णय पुस्तिका तथा हस्ताक्षर नमुना परीक्षण गरेपछि मात्र वास्तविकता स्पष्ट हुने देखिन्छ। सम्बन्धित निकायले निष्पक्ष अनुसन्धान गरी बैङ्क खाता सञ्चालनमा प्रयोग भएका कागजात तथा हस्ताक्षरको वैधानिकता परीक्षण गर्नुपर्ने माग गरिएको छ।

समाचार शेयर गर्नुहोस्
67
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.