काठमाडौँ – असार २३ गते यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका केही व्यक्तिले प्रहरी वृत्त बालाजु, काठमाडौँमा आवश्यक कारबाहीको माग गर्दै निवेदन दिए।
निवेदनमा समुदायभित्रका मुस्कान गुरुङ, प्रिन्स गुरुङ, सतिसा अधिकारी, जीवन शिला, भुई पुतली, नुमा राई समेतका व्यक्तिहरूले आपसमा मिलेमतो गरी सङ्गठित रूपमा गैरकानुनी लागूऔषधको खरिद, बिक्री, वितरण, ओसारपसार तथा प्रयोग गर्ने–गराउने कार्यमा संलग्न रहेको उल्लेख गरिएको छ।
निवेदनमा उनीहरूले गैरकानुनी रूपमा देह व्यापार सञ्चालन गर्ने, ग्राहक खोजी गर्ने, विभिन्न नयाँ व्यक्तिहरूबीच सम्पर्क गराइदिने, आर्थिक लाभका लागि त्यस्ता कार्यलाई प्रोत्साहन गर्ने तथा अन्य विभिन्न गैरकानुनी गतिविधिहरू सञ्चालन गर्दै आएको आरोप पनि लगाइएको छ।
निवेदनअनुसार उनीहरूले आफ्नो गतिविधि लुकाउने उद्देश्यले विभिन्न स्थान, होटल, डेरा तथा अन्य स्थानहरू परिवर्तन गर्दै गैरकानुनी कार्य सञ्चालन गर्ने, नयाँ व्यक्तिहरूलाई प्रलोभन, आर्थिक लाभ तथा विभिन्न बहानामा त्यस्ता गतिविधिमा संलग्न गराउने, समाजमा लागूऔषध दुर्व्यसन फैलाउने तथा सार्वजनिक शान्ति, सुरक्षा र सामाजिक सदाचारमा प्रतिकूल प्रभाव पार्ने कार्य गर्दै आएको उल्लेख छ।
निवेदनमा यस्ता गतिविधिका कारण आफ्नै श्रमले जीवनयापन गरिरहेका समुदायका अन्य सदस्यहरू समेत प्रभावित भएको, समाजमा थप अपहेलना खेप्नुपरेको तथा बिना कसुर पनि सजायको भागीदार बन्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै तत्काल अनुसन्धान गरी आरोपित व्यक्तिहरूमाथि कानुनी कारबाही गर्न माग गरिएको थियो।
निवेदनमा उनीहरूको गतिविधिबाट लागूऔषधको अवैध कारोबार विस्तार हुने, युवायुवतीहरू दुर्व्यसनतर्फ आकर्षित हुने, विभिन्न प्रकारका सङ्गठित अपराध, मानव बेचबिखन, आर्थिक अपराध तथा जघन्य फौजदारी कसुर हुन सक्ने गम्भीर जोखिम सिर्जना भएको उल्लेख छ। यस्ता कार्यहरू प्रचलित नेपाल कानूनद्वारा निषेधित तथा दण्डनीय भएकाले समयमै नियन्त्रण गरी दोषीलाई कानुनी दायरामा ल्याउन आवश्यक रहेको भन्दै गोप्य अनुसन्धान, निगरानी, नियन्त्रण तथा पक्राउलगायतका कानुनी प्रक्रिया अवलम्बन गरी कसुरमा संलग्न देखिएका व्यक्तिहरूमाथि प्रचलित कानूनबमोजिम हदैसम्मको कारबाही गर्न अनुरोध गरिएको थियो।
यसरी यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरूले आफ्नै समुदायभित्र आरोप लगाइएका गैरकानुनी तथा आपराधिक गतिविधिबारे प्रहरीलाई औपचारिक जानकारी दिएका थिए।
पीडित पक्षका अनुसार उक्त निवेदन परेको जानकारी पाएलगत्तै सतिसा अधिकारीले अनुष्का गुरुङलाई कुटपिट गरिन्। काठमाडौँको बसपार्क–माछापोखरी पुलमुनि अनुष्का गुरुङमाथि कुटपिट गरेको आरोपमा प्रहरी वृत्त बालाजुले सतिसा अधिकारीलाई पक्राउ गर्यो।
लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायकै व्यक्तिबीच भएको कुटपिट घटनाका सम्बन्धमा असार २८ गते प्रहरी वृत्त बालाजुमा छलफल भयो। छलफल मिलापत्रतर्फ अघि बढिरहेका बेला सतिसा अधिकारीले शरीरमा लुकाएर ल्याएको झोल पदार्थ मुखमा हालेको प्रत्यक्षदर्शी समुदायका सदस्यहरूले बताए।
घटनाको वास्तविक कारण र परिस्थितिबारे प्रहरी अनुसन्धानबाट मात्रै पुष्टि हुन बाँकी रहे पनि, समुदायका केही सदस्यहरूले उक्त घटनालाई आफूविरुद्ध उठेका आरोपसँग जोडेर हेरेका छन्। विष सेवन गर्न उक्साउने व्यक्तिहरूको भूमिका पनि छानबिन हुनुपर्ने उनीहरूको माग छ।
प्रहरीले सतिसा अधिकारीलाई तत्काल उपचारका लागि अस्पताल पुर्यायो। त्यसलगत्तै ‘मायाको संसार’ नामक संस्थाकी सुनिता लामाले उजुरी दिइन्। उजुरीपछि प्रहरीले मधु केसी, अनुष्का गुरुङ र अर्का एक जनालाई पक्राउ गर्यो। उनीहरू पक्राउ पर्नुको समुदायभित्र भइरहेका गैरकानुनी तथा आपराधिक गतिविधिबारे प्रहरीलाई जानकारी गराएको विषय नै रहेको दाबी समुदायका सदस्यहरूले गरेका छन्।
उनीहरूलाई आइतबार राति नै पक्राउ गरी सोह्रखुट्टे प्रहरी चौकीमा राखिएको थियो। प्रहरी वृत्त बालाजुमा राख्ने ठाउँ नभएकाले उनीहरूलाई सोह्रखुट्टेमा राखिएको जानकारी बालाजु प्रहरीले दिएको छ। “राख्ने ठाउँको अभाव छ, त्यसैले सोह्रखुट्टेमा राखिएको हो। छलफलका लागि यहाँ ल्याउन भन्छौँ,” प्रहरीको भनाइ थियो।
कुटपिटबाट घाइतेको उपचार खर्चबारे छलफल चलिरहेका बेला सतिसा अधिकारीले विष सेवन गरेको र विष सेवन गर्नुको कारण आफूविरुद्ध उजुरी दिनेहरू नै भएको भन्ने निवेदन परेकाले उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको थियो। “ज्यान तलमाथि होला, प्रहरीले मार्यो भन्ने हुन्छ, त्यसैले उहाँहरूलाई नियन्त्रणमा लिएका हौँ,” प्रहरीको भनाइ थियो।
सोमबार दिउँसो १ बजेसम्म न सतिसा अधिकारी अस्पतालबाट प्रहरी वृत्त बालाजु फर्किएकी थिइन्, न पक्राउ परेका मधु केसी, अनुष्का गुरुङ र अर्का एक जनालाई नै बालाजु ल्याइएको थियो। सतिसा अधिकारी अस्पतालबाट डिस्चार्ज भएर आउने र पक्राउ परेकाहरूलाई पनि झिकाइने प्रहरीले जनाएको थियो।
समुदायका सदस्यहरूका अनुसार मधु केसीले पछिल्ला तीन–चार वर्षदेखि समुदायभित्र हुने गलत गतिविधिबारे सार्वजनिक रूपमा प्रश्न उठाउँदै आएका थिए। उनीसहितका केही व्यक्तिहरूले ब्लु डायमन्ड सोसाइटीकी सञ्जीव गुरुङ (पिंकी) विरुद्ध हाइड्रोपावरको शेयर बिक्रीसँग सम्बन्धित आर्थिक अनियमितताको आरोप सार्वजनिक गरेका थिए।
प्रहरी वृत्त बालाजु परिसरमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरू जम्मा भएका थिए। कुटपिटमा संलग्नको पक्षमा पुगेकी सुनिता लामाले प्रहरी अधिकारीसमक्ष सतिसा अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै, “घाँटीभन्दा तल गएको रहेनछ, अब डिस्चार्ज हुन्छ होला,” भनेकी थिइन्।
केही बेरपछि सोह्रखुट्टेबाट पक्राउ परेका मधुसहित तीन जनालाई प्रहरी वृत्त बालाजुको हिरासत कक्षमा ल्याइयो। अस्पतालबाट डिस्चार्ज भएर सतिसा अधिकारी आएपछि मात्रै छलफल अघि बढ्यो। अन्ततः छलफल मिलापत्रमार्फत टुङ्गियो।
“अब यस्तो गल्ती नगर्ने भन्ने सर्तमा मिलापत्र भएको हो,” मायाको पहिचान नेपालका बागमती प्रदेश समन्वय अधिकारी बाबु दुमि राईले बताए।
पछिल्लो समय बसपार्क क्षेत्रमा केही व्यक्तिमाथि लागूऔषध प्रयोग गर्ने तथा गराउने, यौन व्यवसायसँग सम्बन्धित दलाली गर्ने, सार्वजनिक स्थानमा होहल्ला गर्ने, अपशब्द प्रयोग गर्ने, लुटपाट गर्ने तथा आफ्नै समुदायका सदस्यसँगै सर्वसाधारणलाई पनि दुःख दिने गतिविधिमा संलग्न रहेको आरोप स्थानीयवासी तथा समुदायका सदस्यहरूले लगाउँदै आएका छन्।
यस घटनाक्रमपछि समुदायका केही सदस्यहरूले समुदायको नाममा सञ्चालन भएका केही संस्थाको भूमिकामाथि समेत प्रश्न उठाएका छन्। उनीहरूका अनुसार आरोपित व्यक्तिहरूलाई संरक्षण गरिएको हो वा होइन भन्ने विषयमा निष्पक्ष छानबिन हुनुपर्छ।
उनीहरूले सुनिता लामा लगायत घटनामा भूमिका रहेको आशङ्का गरिएका व्यक्ति तथा सम्बन्धित संस्थाको भूमिकाबारे पनि अनुसन्धान हुनुपर्ने माग गरेका छन्। यस्ता आरोपहरूको स्वतन्त्र अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने र कुनै पनि पक्षलाई पूर्वाग्रह वा संरक्षण बिना कानुनअनुसार अनुसन्धान गर्नुपर्ने उनीहरूको माग छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.