काठमाडौँ – सरकारले विभिन्न सञ्चारमाध्यमका कार्यालय र नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको निवास अगाडि शङ्कास्पद रूपमा गाडी पार्किङ गराउने व्यक्तिलाई संरक्षण दिएको आरोप लागेको छ। यद्यपि सरकारले भने घटनामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेको छ। घटनासँग सम्बन्धित गाडीका धनी वा चालकको नाम भने सार्वजनिक गरिएको छैन। गोप्य राखिएको छ।
प्रहरीका अनुसार घटनास्थलमा पार्किङ गरिएका सवारीका चालकहरूको खोजतलास गर्दा उनीहरू फेला नपरेपछि सवारी आवागमन सुचारु गराउन क्रेनको सहायताले ती सवारी हटाई उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानामा लगिएको थियो। त्यसपछि सवारी यातायात व्यवस्था ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव महानिरीक्षक गोविन्द थपलियाले निकालेको विज्ञप्तिमा उल्लेख छ।
उनले सवारी यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ उपदफा (१) (ख) अन्तर्गत कानुनबमोजिम कारबाही गरिएको जानकारी दिएका छन्। तर, कारबाहीमा परेका सवारीका धनी वा चालकको परिचय भने सार्वजनिक गरिएको छैन।
प्रहरीले सत्यतथ्य नबुझी सुरक्षा निकायको नाम जोडेर सामग्री सम्प्रेषण गर्दा आमनागरिकमा भ्रम सिर्जना हुन सक्ने भन्दै कपोलकल्पित समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ।
प्रहरीले उल्लेख गरेको सवारी यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ उपदफा (१)(ख) अनुसार सवारी अड्याउन निषेध गरिएको स्थान वा समयमा सवारी अड्याउने व्यक्तिलाई पहिलो पटक पाँच सय रुपैयाँ, दोस्रो पटक एक हजार रुपैयाँ र तेस्रो पटक वा सोभन्दा बढी पटक एक हजार पाँच सय रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था छ। यस्तो जरिवाना यातायात निरीक्षक वा कम्तीमा सहायक प्रहरी निरीक्षक दर्जासम्मका अधिकृतले तत्काल गर्न सक्ने कानुनी व्यवस्था छ।

यही कानुनबमोजिम कारबाही गरिएको जानकारी प्रहरीले सार्वजनिक गरे पनि कारबाहीमा परेका सवारीका धनी वा चालकको परिचय सार्वजनिक नगरेको विषयलाई लिएर विभिन्न कोणबाट प्रश्न उठ्न थालेका छन्। विपक्षी दलका नेताहरूले घटनाको निष्पक्ष छानबिन तथा संलग्न व्यक्तिको पहिचान सार्वजनिक गर्न माग गरेका छन्। सरकारले भने आफ्नो संलग्नता नरहेको अडान दोहोर्याएको छ।
आत्मदाह प्रयासपछि गणेश नेपालीको मृत्यु, सुकुम्वासी राखिएको होल्डिङ सेन्टरमा बाढी पसेको घटना लगायतका विषयमा सरकार आलोचित भइरहेका बेला सञ्चारमाध्यम र प्रमुख प्रतिपक्षी दलका नेताको निवास अगाडि शङ्कास्पद रूपमा गाडी पार्किङ गराइएको घटनालाई लिएर प्रतिपक्षी सांसदहरूले सरकारमाथि ध्यान अन्यत्र मोड्न खोजेको आरोप लगाएका छन्। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारमाथि उनीहरूले ‘गाडी आतङ्क’ सिर्जना गरेको आरोप समेत लगाएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्बु ओलीले प्रतिनिधिसभामा बोल्दै गर्दा प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रवेश गरेका थिए। उनले जलनका बिरामीलाई बचाउन नसकेको विषयबाट ध्यान मोड्न सरकारले सिर्जना गरेको ‘गाडी आतङ्क’लाई व्यंग्यात्मक रूपमा बधाई दिइन्।
विभिन्न सञ्चारमाध्यमका कार्यालय अगाडि गाडी पार्किङ गराउन ‘भिजिलान्ते’ परिचालन गरिएको आरोप पनि सरकारमाथि लागेको छ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो निवास अगाडि गाडी पार्किङ गर्ने व्यक्ति सरकारी गाडी चढेर गएको आरोप सार्वजनिक रूपमा लगाएका छन्।
सुकुम्वासी राखिएको होल्डिङ सेन्टरमा बाढी पस्नु, राहदानी विभाग अगाडि गणेश नेपालीले आत्मदाह प्रयास गर्नु र उपचारका क्रममा उनको मृत्यु हुनुले सरकार चौतर्फी आलोचनामा परेको बेला ती आलोचनाबाट ध्यान मोड्न सञ्चारमाध्यमका कार्यालय अगाडि गाडी पार्किङ गराइएको आशङ्का प्रतिपक्षी दलका सांसदहरूले व्यक्त गरेका छन्।
सांसदहरूले सार्वजनिक स्थान तथा सञ्चारमाध्यमका कार्यालय अगाडि सवारी साधन पार्किङ गरी मानसिक त्रास सिर्जना गर्ने शैलीलाई पञ्चायतकालीन मण्डलेतन्त्रको अभ्याससँग तुलना गरेका छन्। नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाहलाई ‘श्री ८’ को संज्ञा नै दिएका छन्।
२५ वर्षीय गणेश नेपालीको आत्मदाह प्रयासपछि भएको मृत्युको घटनाबाट ध्यान मोड्न राज्य संरक्षित व्यक्तिहरूले नै गाडी पार्किङ गराएको आरोप प्रतिपक्षी सांसदहरूले लगाए। संसदमा सरकारमाथि प्रश्न उठेपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले गृह मन्त्रालय र सरकारको ध्यानाकर्षण गराए।
महात्मा गान्धीको भनाइ उद्धृत गर्दै परियारले सञ्चारमाध्यममा पनि समस्या हुन सक्ने र अनियन्त्रित भीडले विनाश निम्त्याउने बताए। दुई–चारवटा गाडी पार्किङ गरेर सञ्चारमाध्यम नतर्सने र पूर्वराजा ज्ञानेन्द्र शाहको शासनकालमा समेत सञ्चारमाध्यम नडराएको उनले बताए।
शङ्कास्पद गाडी पार्किङको घटनाले सरकार थप आलोचित बनेको छ। राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले राज्य संरक्षित गाडी आतङ्कको घटना इतिहासमा कालो अक्षरले लेखिने टिप्पणी गरेका छन्।
प्रतिपक्षी सांसदहरूले सरकारमाथि लगातार आरोप लगाएपछि सत्तारुढ दलका सांसदहरूले सरकारको बचाउ गरेका छन्। रास्वपा सांसद टिका संग्रौलाले विभिन्न स्थानमा पार्किङ गरिएका गाडीको विषयलाई लिएर सिङ्गो राज्यको अपमान हुने गरी अभिव्यक्ति दिइएको भन्दै त्यसको प्रमाण माग गरेकी छन्।
प्रतिपक्षी सांसदका आरोपको जवाफ दिन सत्तारुढ सांसदहरूले नियमापत्तिको सहारा लिएको देखिएको छ। सुकुम्वासी राखिएको होल्डिङ सेन्टर डुबान, गणेश नेपालीको आत्मदाह प्रयासपछि मृत्यु, सञ्चारमाध्यमका कार्यालय र कांग्रेस सभापति गगन थापाको निवास अगाडि भएको शङ्कास्पद गाडी पार्किङको घटनाले सरकारसँगै सत्तारुढ रास्वपालाई समेत दबाबमा पारेको छ।
रास्वपाका महामन्त्री विपिन आचार्यले सोमबार नै विज्ञप्ति जारी गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति पार्टी प्रतिबद्ध रहेको बताएका थिए। सभापति रवि लामिछानेले पनि सबैभन्दा पहिले रास्वपाले नै विज्ञप्ति जारी गरेको उल्लेख गर्दै घटनामा आफ्नै पार्टीका कोही संलग्न भएको पुष्टि भए कानुनबमोजिम कारबाही हुने बताए।
सरकारले पनि आफूमाथि लागेका आरोपबारे स्पष्टीकरण दिएको छ। मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीको प्रश्नमा सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारले घटनामा कुनै संलग्नता नरहेको बताए।
उनले जुनसुकै व्यक्ति वा राजनीतिक दलका सदस्य संलग्न भएको पाइए पनि निष्पक्ष छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे।
एकपछि अर्को विवादका कारण आलोचनामा परेको सरकारमाथि शङ्कास्पद गाडी पार्किङको घटनाले थप प्रश्न जन्माएको छ। घटनामा संलग्न व्यक्तिको परिचय सार्वजनिक नभएको विषयलाई लिएर विभिन्न आशङ्का व्यक्त भइरहेका छन्। सरकारले भने आफ्नो संलग्नता नरहेको, कानुनबमोजिम कारबाही गरिएको र छानबिनबाट दोषी देखिए जोसुकै भए पनि कारबाही हुने अडान सार्वजनिक गरेको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.