काठमाडौँ – काठमाडौँ जिल्ला अदालतले आर्थिक वर्ष २०८२/०८३ मा १९ हजार ८३२ मुद्दा फर्छ्योट गरेको जनाएको छ। अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका २४ हजार ८७३ र नयाँ दर्ता भएका २१ हजार ४०४ मुद्दामध्ये २६ हजार ४४५ थान मुद्दा फर्छ्योट हुन बाँकी रहेको जानकारी अदालतले दिएको छ।
शुक्रवार आयोजित पत्रकार सम्मेलनमा अदालतले दुई वर्षभन्दा बढी समयदेखि बाँकी रहेका मुद्दाको संख्या ३ हजार ८५२ रहेको जानकारी दिएको छ। फैसला कार्यान्वयनतर्फ १० हजार ९३३ लगत रहेकोमा ३ हजार ८४७ फर्छ्योट भएका छन् भने ७ हजार ८६ थान अर्थात् ३५.१८ प्रतिशत बाँकी रहेको छ।
जिल्ला अदालतले वार्षिक फर्छ्योटको लक्ष्य ६५.५३ प्रतिशत हासिल गरेको जनाएको छ। कैदतर्फ जम्मा लगत ८ हजार ८२१ रहेकोमा ४ हजार २५३ फर्छ्योट भएको छ।
जरिवानातर्फ जम्मा लगत २९ अर्ब ४५ करोड ११ लाख ३ हजार ९५७ रुपैयाँ रहेकोमा ११ अर्ब १८ करोड १० लाख ९५९ रुपैयाँ फर्छ्योट भएको छ। सरकारी बिगोतर्फ २ अर्ब ४ करोड ९६ लाख १४ हजार ४९० रुपैयाँ जम्मा लगत रहेकोमा १ करोड ४ लाख ३८ हजार ३९९ रुपैयाँ फर्छ्योट भएको अदालतले जानकारी दिएको छ।
क्षतिपूर्तितर्फ ३३ करोड २२ लाख २२ हजार १४७ रुपैयाँ लगत रहेकोमा २८ लाख ७० रुपैयाँ फर्छ्योट भएको छ।
मेलमिलाप केन्द्रमा पेस भएका मुद्दाको संख्या २ हजार ४८९ रहेको छ। तीमध्ये २०८ मुद्दामा मेलमिलाप सफल भएको, १ हजार ६९० मुद्दा मेलमिलाप हुन नसकी फिर्ता भएका तथा ५९१ मुद्दा मेलमिलाप शाखामा चालु रहेको अदालतले जनाएको छ। अदालतका अनुसार ८.३५ प्रतिशत मुद्दामा मेलमिलाप गराउन सफलता प्राप्त भएको छ।
विशेष प्रकृतिका निवेदनअन्तर्गत अधिकृत वारेसतर्फ यस वर्ष २ हजार ३५४ निवेदन फर्छ्योट भएका छन्। यसै आर्थिक वर्षमा काठमाडौँ जिल्ला अदालतमा २ हजार ६२३ दर्ताद्वारा विवाह भएका छन्। त्यस्तै, १३ संरक्षक नियुक्ति तथा प्रमाणित भएका छन्। माथवर नियुक्ति २, मृत्युको न्यायिक घोषणा १० र धर्मपुत्र–धर्मपुत्री राख्न ७ जनालाई अनुमति दिइएको छ।
काठमाडौँ जिल्ला अदालतमा ४३ जना न्यायाधीशको दरबन्दी रहे पनि हाल ४२ जनाको मात्रै पदपूर्ति भएको छ। न्यायाधीश तथा न्यायाधीशका सुविधाअन्तर्गतका कर्मचारीबाहेक अदालतमा ३८२ जना कर्मचारी कार्यरत रहेका छन्।
अदालतका मुख्य न्यायाधीश चुरामन खड्काले २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनका कारण कार्तिक २३ गतेसम्म करिब दुई महिना अदालतको सेवा अवरुद्ध भएको जानकारी दिए। उनका अनुसार मंसिर १४ गतेदेखि मात्रै मुद्दाको नियमित सुनुवाइ सुरु भएको हो।
मुख्य न्यायाधीश खड्काका अनुसार जेनजी आन्दोलनका क्रममा जलेका ४ लाख मुद्दाका फाइलमध्ये हालसम्म १० हजार थान मात्रै प्राप्त भएका छन्। बाँकी ३ लाख ९० हजार थान मुद्दाको मिसिल पुनः तयार गर्न बाँकी रहेको उनले जानकारी दिए।
काठमाडौँ जिल्ला अदालतले दैनिक करिब ७ हजार सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको जनाएको छ। जेनजी आन्दोलनका क्रममा भएको आगजनीका कारण अदालतको सेवा सुचारु गर्न कठिनाइ भएको र छिटोछरितो रूपमा न्याय सम्पादन गर्न चुनौती रहेको पत्रकार सम्मेलनमा अदालतका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए।
अदालतका अनुसार आगजनीका कारण न्यायमा पहुँचमा अवरोध, मिसिल तथा अभिलेखको पुनःप्राप्ति, न्यायिक जनशक्तिको सुरक्षा, बक्यौता मुद्दाको व्यवस्थापन तथा बक्यौता कैद–जरिवाना असुलीमा चुनौती देखिएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.