काठमाडौँ – मनसुन सक्रिय भएसँगै देशभर लगातारको वर्षाका कारण जनजीवन प्रभावित भएको छ। अविरल वर्षासँगै बाढी, पहिरो र डुबानको जोखिम बढेको छ भने वर्षायामसँगै संक्रामक रोग फैलिने सम्भावनासमेत बढेपछि सम्बन्धित निकायले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।
जल तथा मौसम पूर्वानुमान महाशाखाले विभिन्न प्रदेशमा अझै भारी वर्षाको सम्भावना रहेको जनाउँदै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। अविरल झरीकै कारण पोखराको रातोपैह्रोमा पहिरो खस्दा सेती नदी आंशिक रूपमा थुनिएको छ भने नदीको पानीको सतह करिब ५० मिटर माथिसम्म पुगेको छ।
सप्तरीमा कोसी नदीको बहाव दुई लाख क्यूसेक नाघेपछि ब्यारेजका २८ वटा ढोका खोलिएका छन्। सम्भावित जोखिमलाई मध्यनजर गर्दै आसपासका क्षेत्रमा रातो झन्डा गाडेर स्थानीयवासीलाई सतर्क गराइएको छ। आइतबार परेको भारी वर्षाका कारण काठमाडौँका विभिन्न स्थान डुबानमा परेका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौँस्थित बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा नदीको बहाव सतर्कता तहभन्दा माथि पुगेको छ। विभागले नदीको जलसतह सतर्कता तह पार गरेकाले नदी तटीय तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई सोमबार बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार गौरीघाटमा बागमती नदीको पानीको सतह २.४१ मिटर पुगेको छ, जबकि सतर्कता तह २.१ मिटर रहेको छ। नदीको बहाव अझै बढ्दो क्रममा रहेकाले नदी आसपासका डुबान भइरहने क्षेत्रमा विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।
निरन्तर वर्षा र पहिरोको जोखिम बढेपछि चितवन जिल्ला प्रशासन कार्यालयले नारायणगढ–मुग्लिङ सडक तथा चितवनतर्फको पृथ्वी राजमार्ग आइतबार राति १० बजेदेखि बन्द गरेको छ। चितवनका विभिन्न स्थानसहित धादिङलगायत जिल्लामा पहिरोको जोखिम रहेकाले नारायणगढ–मुग्लिङ–काठमाडौँ सडक राति १० बजेपछि बन्द रहने प्रशासनले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा रातिको समयमा सवारी सञ्चालन गर्दा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमन बन्द गरिएको उल्लेख छ।
खोटाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले अन्य स्थानमा मृत्युको घटना नभएको जनाएको छ।
मौसम बदलीसँगै देशभर संक्रामक रोगका बिरामीको संख्या पनि बढ्न थालेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो एक सातामा ७८५ जना झाडापखालाका बिरामी भेटिएका छन्, जसमा सबैभन्दा धेरै बिरामी बागमती प्रदेशमा रहेका छन्।
मेलम्चीको पानी आपूर्ति अवरुद्ध भएर ट्याङ्करको पानी प्रयोग भइरहेकाले काठमाडौँ उपत्यकामा हैजाको जोखिम बढ्न सक्ने भन्दै चिकित्सकहरूले पानी उमालेर मात्र पिउन, सुरक्षित खानेपानी प्रयोग गर्न र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन सुझाव दिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झाडापखाला र हैजासँगै देशभर टाइफाइड, डेंगु तथा श्वासप्रश्वाससम्बन्धी संक्रमणका बिरामीको संख्या पनि बढ्दो क्रममा छ। मन्त्रालयले वर्षायाममा सुरक्षित खानेपानी प्रयोग गर्न, सरसफाइमा विशेष ध्यान दिन र कुनै स्वास्थ्य समस्या देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ।
वर्षायाममा सडक खुले लगत्तै हतारमा सवारीसाधन ओभरटेक गर्ने प्रवृत्तिका कारण नारायणगढ–मुग्लिङ सडकमा दुर्घटना र सवारीजाम बढ्न थालेपछि चितवन प्रशासनले कडाइ गर्न थालेको छ। जलबिरेमा आइतबार बिहान मात्रै दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते भएका थिए।
लगातारको वर्षा अझै केही दिन जारी रहने पूर्वानुमान रहेकाले बाढी, पहिरो, डुबान तथा नदी कटानको जोखिम भएका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न, नदी–खोलाको किनारबाट टाढा रहन, सुरक्षित खानेपानी प्रयोग गर्न तथा सरकारी निकायबाट जारी गरिएका सूचना र चेतावनीको पालना गर्न सम्बन्धित निकायले सर्वसाधारणलाई पुनः आग्रह गरेका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.