कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउने योजना

कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउने योजना

255
SHARES

काठमाडौँ – सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउने योजना सार्वजनिक गरेको छ। बजेटमा घोषणा गरिएको यो कार्यक्रम कार्यान्वयनका लागि सरकारले कार्यविधि जारी गरेको छ।

वस्तु तथा सेवा खरिद–बिक्रीमा बीजक लिने–दिने संस्कृतिको विकास गरी कर अनुपालन अभिवृद्धि गर्न, वास्तविक कारोबार अभिलेखीकरणलाई प्रोत्साहन गर्न तथा वस्तु तथा सेवा खरिद गर्दा उपभोक्तालाई अनिवार्य रूपमा बीजक लिन उत्प्रेरित गर्ने उद्देश्यले स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमअन्तर्गत ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ सञ्चालन गरिने कार्यविधिमा उल्लेख गरिएको छ।

कार्यविधिअनुसार व्यावसायिक प्रयोजनका लागि भएका खरिदका बीजक कार्यक्रममा सहभागी हुन योग्य हुने छैनन्। त्यसैगरी सरकारी निकाय वा सार्वजनिक संस्थाको नामबाट जारी भएका बीजक, टेलिफोन सेवा, इन्टरनेट सेवा, विद्युत, सवारी तथा ढुवानीका साधन, हवाई टिकट खरिदबापतका बीजक तथा स्थायी लेखा नम्बर (प्यान) नलिएका व्यक्तिबाट खरिद गरिएका बीजक पनि कार्यक्रममा सहभागी हुन योग्य नहुने उल्लेख छ।

त्यस्तै, एउटै बीजक वा विद्युतीय भुक्तानीबाट गरिएको खरिदलाई एक पटकभन्दा बढी कार्यक्रममा सहभागी गराउन नपाइने कार्यविधिमा स्पष्ट गरिएको छ।

सरकारले ‘सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्’ भन्ने नारासहित योजना अघि सारेको छ। यसअन्तर्गत हरेक दिन एक जना नेपाली लखपति बन्ने व्यवस्था गरिएको छ भने हरेक महिना दुई जनालाई बम्पर उपहारस्वरूप १०–१० लाख रुपैयाँ प्रदान गरिनेछ।

अर्थ मन्त्रालयका अनुसार मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध व्यवसायबाट एक सय रुपैयाँभन्दा बढीको कारोबार गरी नगद वा अनलाइन भुक्तानी गरेर सक्कली बिल लिने नागरिक यो योजनामा सहभागी हुन पाउनेछन्।

यो योजनामा सहभागी हुन अब उपभोक्ताले १०० रुपैयाँभन्दा बढीको सामान खरिद गर्दा वा होटल–रेस्टुरेन्टमा भुक्तानी गर्दा अनिवार्य रूपमा सक्कली बिल लिनुपर्नेछ। उक्त बिलमा रहेको बिल नम्बर नै लखपति योजनामा सहभागी हुने आधार नम्बर हुनेछ।

हालका लागि हरेक महिनाको १६ गते र महिनाको अन्तिम दिन (पाक्षिक रूपमा) लखपति योजनाअन्तर्गत विजेताको घोषणा गरिनेछ।

समाचार शेयर गर्नुहोस्
255
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.