नागरिक आन्दोलनका अग्रणी डा. पाण्डेप्रति राष्ट्रपतिको भावपूर्ण समवेदना

नागरिक आन्दोलनका अग्रणी डा. पाण्डेप्रति राष्ट्रपतिको भावपूर्ण समवेदना

210
SHARES

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै समवेदना सन्देश पठाएका छन्।

समवेदना सन्देशमा राष्ट्रपति पौडेलले डा. पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा रहेको उल्लेख गरेका छन्। नेपालमा लोकतन्त्र स्थापना र पुनर्स्थापना तथा विभिन्न सङ्घर्ष र आन्दोलनहरूमा नागरिक अगुवाका रूपमा उनले निर्वाह गरेको नेतृत्वदायी भूमिका सधैँ स्मरणीय रहने राष्ट्रपति पौडेलले पठाएको समवेदना सन्देशमा उल्लेख छ।

राष्ट्रपति पौडेलले २०३६ सालको जनमतसंग्रहभन्दा केही महिनाअघि सरकारको सचिव पदबाट राजीनामा दिएर डा. पाण्डेले नेपालको लोकतान्त्रिक आन्दोलनका नागरिक अगुवाका रूपमा २०४६ सालदेखि २०६२/६३ सालको आन्दोलनसम्म दिएको नेतृत्वदायी भूमिका आफ्नो मानसपटलमा अझै ताजा रहेको उल्लेख गरेका छन्।

समवेदना सन्देशमा राष्ट्रपति पौडेलले भनेका छन्, ‘२०३६ साल यताको करिब साँढे चार दशक अवधिमा उहाँको जुन भूमिका र योगदान रह्यो, त्यसले आफ्नो क्षेत्र र धारबाट राष्ट्र निर्माणमा योगदानकर्ता मानक व्यक्तित्वका रूपमा भावी पुस्ताले स्मरण गरिरहनेछन् भन्ने मलाई लागेको छ। उहाँको निष्ठा, आचरण र नैतिक जीवनले नेपाली समाजलाई सधैँ आलोकित गरिरहनेछ भन्ने मैले विश्वास लिएको छु।’

राष्ट्रपति पौडेलले डा. पाण्डेको निधनले नेपालको लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुगेको तथा मुलुकले निर्भीक, सत्यको पक्षपाती र निष्ठावान् लोकतन्त्रवादी नागरिक अगुवा गुमाएको बताएका छन्।

राष्ट्रपति पौडेलको समवेदना सन्देश उनका प्रेस सल्लाहकार किरण पोखरेल तथा प्रमुख स्वकीय सचिव अवज्ञा पौडेलले डा. पाण्डेको विशालनगरस्थित निवास पुगेर हस्तान्तरण गरेका थिए।

क्यान्सरबाट पीडित डा. पाण्डेको साउन १ गते शुक्रवार आफ्नै निवास विशालनगरमा निधन भएको थियो।

समाचार शेयर गर्नुहोस्
210
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.