काठमाडौँ – काठमाडौँ जिल्ला अदालतले म्याद तामेली प्रक्रियामा व्यापक सुधार भएको जनाएको छ। अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार हाल करिब ९९ प्रतिशत म्याद तामेल भएको छ।
उनका अनुसार अदालतमा प्राप्त ६० हजार ३३७ वटा म्यादमध्ये ५८ हजार ७९१ वटा म्याद तामेल भएको छ।
तामेल भएका म्यादमध्ये पत्ते म्याद ४६ प्रतिशत र बेपत्ते म्याद ५० प्रतिशत रहेको सूचना अधिकारी खतिवडाले जानकारी दिए।
उनका अनुसार बेपत्ते भएका अधिकांश म्याद बैङ्किङ कसुर, लेनदेन, सम्बन्ध विच्छेद, पुनरावेदन तथा लगततर्फका मुद्दासँग सम्बन्धित छन्।
धेरै म्याद बेपत्ते हुनुका कारण बैङ्किङ कसुर मुद्दामा प्रतिवादीको वतन यकिन नहुनु, सम्बन्ध विच्छेद तथा लेनदेनसम्बन्धी मुद्दामा अस्थायी सिफारिसका आधारमा मुद्दा चल्नु, तथा काठमाडौँमा भाडामा बस्ने व्यक्तिहरूले पटक–पटक ठेगाना परिवर्तन गरिरहनु रहेको खतिवडाले बताए।
फिरादपत्रमा वतनसँगै फोन नम्बर र इमेल अनिवार्य रूपमा उल्लेख गर्ने व्यवस्था भए पनि त्यसको प्रभावकारी प्रयोग नहुनु, साथै एकपटक म्याद तामेल भई फैसला भइसकेपछि पुनः म्याद जारी गर्ने परम्परा रहनु पनि म्याद बेपत्ते हुने प्रमुख कारणमध्ये रहेको उनले बताए।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.