काठमाडौँ – ग्लोबल आइएमई बैङ्क लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैङ्क खाता खोल्न सकिने सुविधा सार्वजनिक गरेको छ। नागरिक एपमा आबद्ध नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको आधारमा एपमार्फत बैङ्कको वेबसाइटमा रहेको क्युआर कोड स्क्यान गरी व्यक्तिगत बचत खातामा खोल्न सक्नेछन्।
नागरिक एप प्रयोगकर्ताहरूले ग्लोबल आइएमई बैङ्कमा खाता खोल्नको लागि आवश्यक पर्ने क्युआर कोड उल्लेखित लिङ्कमा क्लिक गरी पाउनेछन्। लिङ्क: https://nagarik.gibl.com.np
नेपालमै पहिलो पटक सुरु गरिएको यस सेवाले आम नागरिकलाई बैङ्क खाता खोल्न थप सहज बनाएको ग्लोबल आइएमई बैङ्क लिमिटेडले जनाएको छ। यस अन्तर्गत १८ वर्ष वा सोभन्दा माथिका राष्ट्रिय परिचयपत्र बनाई नागरिक एपमा आबद्ध भएका नागरिकहरूले अनलाइनबाटै ग्लोबल आइएमई बैङ्कमा खाता खोल्न सक्नेछन्।
यसका लागि बैङ्कले नागरिक एपमा आबद्ध व्यक्तिको पूर्व सहमति लिई खाताको लागि आवश्यक व्यक्तिगत विवरण नागरिक एपबाट सुरक्षित रूपमा प्राप्त गर्नेछ। यसबाट व्यक्तिगत विवरण पुनः प्रविष्ट गर्नुपर्ने झन्झट हट्नुका साथै ग्राहकको गोपनीयता तथा सूचनाको सुरक्षासमेत सुनिश्चित हुनेछ।
नागरिक एपमार्फत खोलिएको खाता सञ्चालनको लागि ग्राहकले आफ्नो नजिक रहेको शाखा कार्यालयमा गई वा भिडियो केवाईसी मार्फत प्रमाणीकरण गर्नुपर्नेछ। यस सेवाको सुरुवातसँगै ग्लोबल आइएमई बैङ्कले सरकारी डिजिटल पूर्वाधारको उपयोग गर्दै सुरक्षित, सरल तथा भरपर्दो डिजिटल बैङ्किङ सेवाको विस्तार गरेको छ।
नागरिक एपसँगको सहकार्यले खाता खोल्ने प्रक्रियालाई थप सहज, पारदर्शी तथा प्रविधिमैत्री बनाउनुका साथै आधुनिक बैङ्किङ अनुभव प्रदान गर्ने विश्वास बैङ्कले लिएको छ।
विगत लामो समयदेखि आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधामा सम्मानित हुँदै आएको ग्लोबल आइएमई बैङ्कले ‘बैङ्क अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैङ्क २०१६’, तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैङ्क नेपाल’ को उपाधि प्राप्त गरिसकेको छ। यस्तै बैङ्कले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैङ्क ईएसजी नेपाल २०२४ र बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित पुरस्कारहरू समेत हात पारेको छ।
ग्लोबल आइएमई बैङ्क मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो। हाल बैङ्कले ३४२ शाखा कार्यालय, ३६८ एटिएम, १४७ शाखारहित बैङ्किङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित कुल १ हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ।
यसका साथै बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई र भारतलगायतका विभिन्न मुलुकहरूबाट औपचारिक माध्यममार्फत देशभित्र विप्रेषण (रेमिट्यान्स) भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.