काठमाडौँ – सुनसरीको देवानगञ्जबाट सुरु भएको धार्मिक आगोको झिल्को मधेश प्रदेशका विभिन्न जिल्लामा फैलिएको छ। हिन्दू र मुस्लिम समुदायबीच डिजे बजाउने विषयमा भएको विवादले तीन जनाको मृत्यु भएको छ।
कोशी र मधेश प्रदेशका विभिन्न जिल्ला अशान्त बनेका छन्। स्थानीयमा त्रास सिर्जना भएको छ। देवानगञ्जको बाछिटा धनुषा, सिरहा र पर्सासम्म पुगेको छ। यी जिल्लामा कर्फ्यु र निषेधाज्ञा आदेश जारी गरिएको छ। सरकारले दोषीलाई कारबाही गर्न ढिलाइ गर्दा यो तनाव देशभर फैलने खतरा देखिएको सिरहाका पत्रकार फिरोज शेखले बताएका छन्।
गृहमन्त्री सुधन गुरुङ विराटनगरबाट सिधै सुनसरीको देवानगञ्ज पुगेका छन्। प्रधानमन्त्री वालेन्द्र शाहले अशान्त मधेशलाई शान्त बनाउन राष्ट्रका नाममा १३ बुँदे सम्बोधन गरेका छन्। प्रधानमन्त्रीमा नियुक्त भएको चार महिना पुग्दा उनले पहिलोपटक देशवासीका नाममा सम्बोधन गरेका हुन्।
प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत स्थानमा भएका हिंसात्मक घटनापछि उत्पन्न अशान्त अवस्थाप्रति सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको बताएका छन्। राष्ट्रका नाममा सम्बोधन गर्दै उनले घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाहले घाइतेहरूको उपचारमा कुनै कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायलाई स्पष्ट निर्देशन दिइसकिएको जानकारी दिएका छन्। उनले सबै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनस्य बढाउने अभिव्यक्तिको प्रचारप्रसार नगर्न आग्रह गरेका छन्। सरकारी निकायबाट जारी भएका आधिकारिक तथ्य र सूचनामा मात्र विश्वास गर्न उनले विशेष अनुरोध गरेका छन्।
प्रधानमन्त्रीले नेपालको संविधानले प्रत्येक नागरिकलाई आ–आफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको उल्लेख गर्दै त्यसको संरक्षण र संवर्द्धनप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए। उनले धर्मले समाजलाई जोड्ने र प्रेम बाँड्ने शक्ति भएको उल्लेख गर्दै संसारको कुनै पनि धर्म वा संस्कृतिले हिंसा, घृणा र विभाजन नसिकाउने बताए। सबै धर्मको मूल सार करुणा, दया, प्रेम र शान्ति नै रहेको उनको भनाइ छ।
उनले नेपालको इतिहासले कठिन परिस्थितिमा पनि आपसी एकता, सहिष्णुता र विवेकलाई सबैभन्दा ठूलो शक्ति प्रमाणित गरेको उल्लेख गर्दै सबै नागरिकलाई जिम्मेवार भूमिका निर्वाह गरी अशान्तिको बादल हटाउन आह्वान गरेका छन्।
प्रधानमन्त्री शाहले नेपालीसँगै मैथिली भाषामा पनि आम नागरिक, नागरिक समाज, धार्मिक समुदाय, राजनीतिक दल तथा सञ्चारमाध्यमलाई धैर्यता र संयमता अपनाई शान्ति, सद्भाव, भाइचारा र राष्ट्रिय एकता कायम राख्न हार्दिक अपिल गरेका छन्।
सम्बोधन लगत्तै प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री शाहले राष्ट्रपति पौडेलसँग भेट गरी मुलुकको समसामयिक विषयवस्तुहरूमा छलफल गरेका छन्। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग टेलिफोन मार्फत संवाद गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्रीदेखि पूर्वराजा ज्ञानेन्द्र शाहसम्मले सामाजिक सद्भाव कायम गर्न अपिल गरेका छन्। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई बहुमतको घमन्ड त्यागेर अनुभवी नेतृत्वसँग संवादमा आउन आग्रह गरेका छन्।
प्रतिनिधिसभा बैठकमा प्रचण्डले प्रधानमन्त्री वालेन्द्र शाहलाई विज्ञहरूसँग सुझाव–सल्लाह लिन कसले रोकेको होला भनेर प्रश्न पनि गरे।
पहिलो संविधानसभा सदस्य सुनिल बाबु पन्तले सुनसरीबाट सुरु भएको दङ्गा, झडप, आगजनी र गोलीकाण्ड तराई–मधेशभर फैलिन थालेकोमा चिन्ता व्यक्त गरेका छन्। कर्फ्यु मात्र समाधान नभएको उल्लेख गर्दै उनले आफ्नो जिम्मेवारी निभाउन, तत्काल प्रभावकारी कदम चाल्न, कानुनको निष्पक्ष कार्यान्वयन गर्न र हिंसा फैलाउने जोसुकैलाई कारबाही गर्न सरकारसँग आग्रह गरेका छन्। “तिम्रो ढिलाइको मूल्य देशले चुकाउनु परेको छ,” पन्तले भनेका छन्।
सुनसरीबाट सल्किएको जातीय तथा सामाजिक तनाव मधेशका विभिन्न जिल्लामा फैलिएपछि सिरहा र धनुषामा कर्फ्यु आदेश जारी गर्दै नेपाली सेना परिचालन गरिएको छ। गोलबजारमा कर्फ्यु तोडेर भएको झडपमा गोली लागेर एक जनाको मृत्यु भएको छ भने सिरहा, धनुषा र सप्तरीमा प्रदर्शन तथा तोडफोडका घटना बढेका छन्।
सिरहाको गोलबजारमा दुई समूहबीचको हिंसात्मक झडपमा गोली लागेर गणेश यादवको मृत्यु भएको छ भने गम्भीर घाइते सुभाष ठाकुरलाई थप उपचारका लागि धरान लगिएको छ।
जनकपुरको पगलाबाबा धर्मशाला नजिक जम्मा भएका करिब ५ सय प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले ४१ सेल अश्रुग्याँस प्रहार गरेको छ। झडपमा दुई प्रदर्शनकारी र तीन प्रहरी घाइते भएका छन्। धनुषाका तीन पालिकामा अनिश्चितकालीन कर्फ्यु लगाइएको छ भने शुक्रवार जनकपुरका सबै निजी तथा संस्थागत विद्यालय बन्द रहनेछन्।
सप्तरीको राजविराज र बोदेबरसाइन बजार पनि प्रदर्शनका कारण पूर्ण रूपमा ठप्प बनेको छ। सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर घाइते भएका २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा विराटनगरमा मृत्यु भएपछि सुनसरी घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ। झडपमा घाइते भएका अन्य आठ जनाको उपचार भइरहेको छ।
सरकारको निष्क्रियताप्रति सत्तारुढ दलकै सांसदहरूले असन्तुष्टि जनाएका छन्। मधेशमा तनाव बढ्दा पनि सरकारले चासो नदेखाएको गुनासो उनीहरूले गरेका हुन्।
सुनसरीबाट सुरु भई मधेशका विभिन्न जिल्लामा फैलिएको तनावबारे सभापति रवि लामिछानेसँग छलफल गरेका सांसद मनिष झाले मधेशमा सुरक्षा संवेदनशीलता बढे पनि सङ्घीय सरकारले पर्याप्त ध्यान नदिएको बताए।
प्रतिनिधिसभाको बैठकमा भने प्रतिपक्षीको आरोपको सत्तापक्षका सांसदहरूले प्रतिवाद गरेका छन्। जेनजी आन्दोलनका बेलामा सरकारमाथि लगाइएका आरोप यतिबेला प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारमाथि दोहोरिएका छन्।
अवस्था सामान्य हुन नसकेपछि जेनजी आन्दोलनका बेला वालेन्द्र शाहले लगाएका आरोप यतिबेला स्वयं उनले नै खेप्नुपरेको छ, जसको सत्तारुढ दलका सांसदहरूले प्रतिवाद गरेका छन्।
आरोप लगाउने र रिस फेर्ने समय यो होइन। सुनसरीबाट सल्किएको धार्मिक विवादको आगो निभाउन सरकार एक्लैको प्रयास मात्र पर्याप्त हुने देखिँदैन। त्यसैले सबैले आ–आफ्नो ठाउँबाट संयमता अपनाउँदै परिस्थितिलाई सामान्य बनाउन लाग्नु अत्यावश्यक देखिएको छ। सामाजिक सद्भाव कायम राख्न सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न अब ढिलो गर्नु हुँदैन।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.