काठमाडौँ – विभिन्न क्षेत्रका व्यक्तित्वहरूले देशका विभिन्न स्थान, विशेषतः सुनसरी र सिराहा हुँदै कोशी तथा मधेश प्रदेशमा विकसित हुँदै गएको तनावपूर्ण र हिंसात्मक परिस्थितिप्रति चिन्ता र दुःख व्यक्त गरेका छन्।
उनीहरूले शान्ति, संयम, संवाद र राष्ट्रिय एकताको पक्षमा उभिन संयुक्त सद्भावना अपिल जारी गरेका छन्। संयुक्त अपिलमार्फत सबैलाई शान्ति, संयम, संवाद र राष्ट्रिय एकताको पक्षमा उभिन आह्वान पनि गरिएको छ।
उनीहरूले जारी गरेको अपिलमा यस्तो संवेदनशील अवस्थालाई सरकारले समयमै दूरदर्शी, जिम्मेवार र संवादमुखी ढङ्गले सम्बोधन गर्न नसक्दा परिस्थिति थप जटिल बन्दै गएको देखिएको उल्लेख गरेका छन्। अब पनि ढिलाइ नगरी सबै पक्षसँग सम्मानजनक र अर्थपूर्ण संवाद प्रारम्भ गर्नु राज्यको पहिलो दायित्व भएको उनीहरू बताएका छन्।
संयुक्त सद्भावना अपिल मानवअधिकारकर्मी तथा पूर्व संविधानसभा सदस्य सुनिलबाबु पन्त, मानवअधिकारकर्मी नरेन खतिवडा, युवा नेता तथा उद्यमी रीता परियार, युवा उद्यमी सरीता सापकोटा, युवा अनुसन्धानकर्मी सुमित्रा खड्का, नेपाल युनाइट्सका संयोजक मोहम्मद अयातुल्लाह रेहमान, युवा तथा जेन्डर अभियन्ता सुनिता परियार, अर्बन प्लानर तथा युवा अभियन्ता किरण बिक, युवा नेता तथा युवा व्यवसायी किरण केसी र आइटी व्यवसायी ठकेन्द्र खड्काले निकालेका हुन्।
संयुक्त अपिलमा सरकार, राजनीतिक दल, आन्दोलनरत पक्ष, नागरिक समाज, धार्मिक तथा सामुदायिक नेतृत्व तथा सम्पूर्ण नागरिकलाई अधिकतम संयम अपनाउन हार्दिक आग्रह गरिएको छ। अपिलमा हिंसा, प्रतिशोध, घृणा, उत्तेजना र अफवाहले कुनै पनि समस्याको समाधान नगर्ने तथा यसले समाजलाई अझ विभाजित र असुरक्षित मात्र बनाउने उल्लेख गरिएको छ।
अपिलमा न्याय, समानता र सम्मानबिनाको शान्ति दिगो हुन नसक्ने उल्लेख गर्दै बल प्रयोग, दमन, कर्फ्यु र प्रशासनिक आदेश मात्रले जनअसन्तुष्टिको दीर्घकालीन समाधान सम्भव नहुने जनाइएको छ। असन्तुष्टिका कारणलाई सम्बोधन गर्दै संवाद, विश्वास र सहकार्यको मार्गबाट मात्र स्थायी समाधान खोज्न सकिने धारणा पनि व्यक्त गरिएको छ।
त्यसैगरी नेपालको विविधता नै देशको शक्ति भएको उल्लेख गर्दै त्यसलाई कमजोरीका रूपमा नहेर्न आग्रह गरिएको छ। विविधताको सम्मान गर्दै सामाजिक सद्भाव, कानुनी शासन, मानवअधिकार र लोकतान्त्रिक मूल्यमान्यताको संरक्षणका लागि सबैले आ–आफ्नो स्थानबाट जिम्मेवार भूमिका निर्वाह गर्न अपिलमा आग्रह गरिएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.