हिंसापछि शान्तिको खोजी : प्रधानमन्त्री सक्रिय, सबै पक्षबाट सद्भावको आह्वान

हिंसापछि शान्तिको खोजी : प्रधानमन्त्री सक्रिय, सबै पक्षबाट सद्भावको आह्वान

57
SHARES

काठमाडौँ – सुनसरीको देवानगञ्जमा भड्किएको हिंसापछि कोशी र मधेश प्रदेशका विभिन्न जिल्लामा तनाव फैलिएको छ। देवानगञ्जमा दुई जना र सिरहाको गोलबजारमा एक जना गरी तीन जनाको ज्यान गएको घटनापछि मुलुकभर सामाजिक सद्भाव कायम राख्ने र शान्ति पुनःस्थापना गर्ने प्रयास तीव्र बनेको छ।

घटनापछि प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न सबैलाई आग्रह गरेका छन्। गृहमन्त्री सुधन गुरुङ घटनास्थलमै पुगेर पीडित पक्षसँग संवादमा जुटे पनि मधेशका केही जिल्लामा देखिएको तनाव तत्काल पूर्ण रूपमा साम्य हुन सकेको छैन। जनकपुरमा कर्फ्युका बीच टायर बालेर प्रदर्शन भएको छ भने सुरक्षाकर्मीले प्रदर्शनकारीलाई तितरबितर पारेका छन्।

सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवको परिवार शोकमा डुबेको छ। उनको निधनपछि परिवारका सदस्यहरू गम्भीर पीडामा परेका छन्।

सरकार गठन भएको चार महिनासम्म सिंहदरबार र बालुवाटार केन्द्रित रहेको आरोप खेपिरहेका प्रधानमन्त्री वालेन्द्र शाह पछिल्ला दिनमा राजनीतिक रूपमा सक्रिय देखिएका छन्। सामाजिक सद्भाव खलबलिएको अवस्थालाई गम्भीर रूपमा लिँदै उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी सहयोग र समन्वयको आग्रह गरेका छन्।

राष्ट्रपति पौडेलले पनि शुक्रवार प्रथम राष्ट्रपति डा. रामवरण यादव र पूर्वउपराष्ट्रपति परमानन्द झासँग छलफल गर्दै सामाजिक सद्भाव कायम गर्न सबै पक्षले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्।

सामाजिक सद्भाव खलबल्याउने गतिविधिकाबीच नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको आलोचना भएपछि प्रधानमन्त्री शाहले सक्रियता बढाएका हुन्। उनले गृहमन्त्री सुधन गुरुङलाई तत्काल घटनास्थल पुगेर पीडित पक्षसँग वार्ता गर्न निर्देशन दिएका थिए। त्यसलगत्तै देवानगञ्ज पुगेका गुरुङले पीडित पक्षसँग सात बुँदे सहमति गरेका छन्।

सहमतिपछि सुनसरीको अवस्था क्रमशः सामान्य बन्दै गएको छ भने विराटनगरमा सामाजिक सद्भाव र्‍यालीसमेत निकालिएको छ। सुनसरी घटनापछि समग्र तराई–मधेश क्षेत्रमा तनाव बढेपछि गृहमन्त्री गुरुङसहित सुरक्षा निकायका उच्च अधिकारीहरू प्रभावित जिल्लामा परिचालित भएका छन्।

तनावपूर्ण अवस्था शान्त पार्न र सम्भावित घटना रोक्न उनीहरू फिल्डमा खटिएका हुन्। प्रहरीका विभिन्न विभाग तथा क्षेत्रमा कार्यरत जनशक्तिलाई पनि तत्कालीन सङ्कट व्यवस्थापनका लागि तराई–मधेश केन्द्रित गरिएको छ।

गृहमन्त्री गुरुङ बिहीबार नै सुनसरी पुगेका थिए। नेपाल प्रहरीले पनि तराई–मधेशका जिल्लामा उच्च प्रहरी अधिकृतहरू परिचालन गरेको छ। प्रहरी प्रधान कार्यालयका प्रवक्ता तथा डिआइजी अवि नारायण काफ्लेका अनुसार १५ जना उच्च प्रहरी अधिकृतलाई तराई–मधेश क्षेत्रमा खटाइएको छ।

प्रधानमन्त्री शाहले पनि राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले कोशी र मधेश प्रदेशमा पछिल्लो समय विकसित साम्प्रदायिक प्रकृतिका घटना, शान्ति–सुरक्षा र सङ्घीयताको कार्यान्वयनका विषयमा मधेश केन्द्रित दलका नेताहरूसँग छलफल गरेका छन्।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सुनसरी घटनासहित सङ्घीयताका विषयमा गम्भीर छलफल भएको बताए। उनले घटनाको सुरुवात सरकारकै कमजोरीबाट भएको दाबी गर्दै निष्पक्ष छानबिन हुनुपर्ने मागसमेत राखे।

प्रधानमन्त्रीसँगको संवाद सकारात्मक रहेको प्रतिक्रिया दिँदै पूर्वमन्त्री तथा मधेशवादी नेता शरदसिंह भण्डारीले प्रधानमन्त्री समस्या समाधानप्रति गम्भीर देखिएको र अब समाधानको आशा पलाएको बताए।

सुनसरीको देवानगञ्जमा आइतबार राति भएको घटनापछि मधेश प्रदेशका विभिन्न जिल्लामा देखिएको तनाव रोक्न हिन्दू र मुस्लिम समुदायका धार्मिक अगुवाले संयुक्त अपिल जारी गरेका छन्। उनीहरूले शान्ति, धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सबै समुदायलाई संयमता अपनाउन आग्रह गरेका छन्।

धार्मिक अगुवाले आफ्ना तर्फबाट पनि केही कमजोरी भएको स्वीकार गर्दै सामाजिक सञ्जालमा फैलाइने भ्रामक तथा उत्तेजक सामग्रीले अवस्था झन् जटिल बनाएको बताएका छन्।

नेपाली कांग्रेसले पनि नागरिक सुरक्षा, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेको छ। पार्टीले मधेश प्रदेश सरकार, स्थानीय तह तथा जनप्रतिनिधिलाई प्रभावित क्षेत्रमा सक्रिय भई नागरिकको सुरक्षा, पीडित परिवारलाई सहयोग तथा सामाजिक सद्भाव कायम गर्ने अभियान सञ्चालन गर्न निर्देशन दिएको छ।

पार्टी सभापति गगन थापाले कोशी र मधेश प्रदेशमा आगो जसले लगाएको भए पनि त्यसलाई निभाउने दायित्व कांग्रेस पार्टीको भएको बताएका छन्।

राष्ट्रिय सभामा पनि सांसदहरूले सुनसरी घटनालाई लिएर सरकारको आलोचना गरेका छन्। वर्तमान सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै सांसद रामकुमारी झाँक्रीले समाजमा माया, प्रेम र आपसी विश्वासको वातावरण निर्माण गर्न सरकार अग्रसर हुनुपर्ने बताइन्।

यतिबेला देशलाई सबैभन्दा बढी आवश्यक सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी विश्वास हो। हिंसा, घृणा र उत्तेजनाले कुनै पनि समस्याको समाधान गर्दैन। त्यसैले सबै समुदाय, राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज र आम नागरिकले संयमता अपनाउँदै शान्ति, भाइचारा र राष्ट्रिय एकता सुदृढ बनाउन भूमिका खेल्नु आजको प्रमुख आवश्यकता बनेको छ।

समाचार शेयर गर्नुहोस्
57
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.