हिमालबाट उदाए, हिमालमै अस्ताए…

हिमालबाट उदाए, हिमालमै अस्ताए…

71
SHARES

काठमाडौँ -आरोहण केवल शिखर चुम्ने यात्रा होइन। यो साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति हो। हिमालले धेरैलाई शिखरको गौरव दिन्छ, कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर पनि राख्छ। तर, हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहन्छन्।

विश्वको १२औँ अग्लो हिमाल, पाकिस्तानको काराकोरम पर्वत–शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’मा विश्व कीर्तिमानधारी निर्मल पुर्जा (निम्स दाइ) सहित छ जना नेपाली तथा अन्य चार विदेशी आरोहीहरूको दुःखद निधनले स्तब्ध बनाएको प्रधानमन्त्री वालेन्द्र शाहले श्रद्धाञ्जली दिँदै उल्लेख गरेका छन्।

प्रधानमन्त्री शाहले श्रद्धाञ्जली व्यक्त गर्दै लेखेका छन्, “निर्मल पुर्जा लगायत सम्पूर्ण दिवङ्गत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ। सम्पूर्ण दिवङ्गत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली। शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना।”

हिमालबाट उदाएका निर्मल पुर्जा सहित ६ जना नेपाली आरोही हिमालमै अस्ताए। पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रोड पिक’ हिमालमा बिहीबार गएको हिमपहिरोमा परेका प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि भएको छ।

हिमपहिरोमा परी बेपत्ता भएका उनीहरूमध्ये चारजनाको शव शुक्रवार फेला परेको थियो। बाँकी छ जना भने बेपत्ता नै रहेको बताइएको थियो।

शनिवार मात्रै सबै आरोहीको मृत्यु भएको आधिकारिक जानकारी ‘निम्सदाइ फाउन्डेसन’ र ‘एलिट एक्सपिडिसन’ले सामाजिक सञ्जालमार्फत गराएका हुन्।

दुवै कम्पनी निर्मल पुर्जाकै हुन्। हिमपहिरो घटनामा म्याग्दीको दानामा जन्मिएका पूर्वबेलायती गोर्खा निर्मल पुर्जा ‘निम्सदाइ’सँगै छ जना नेपालीले ज्यान गुमाएका छन्।

ज्यान गुमाउने अन्य नेपाली आरोहीमा पुरबहादुर गुरुङ, निमा शेर्पा, किलीपेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्डु शेर्पा रहेका छन्।

विदेशी आरोहीहरू पाकिस्तानका सोहेल शाखी, चीनका वाङ झोङ, ओमानका नादिरा अहमद र अमेरिकाका म्यालोरी गेइस छन्।

सन् २०१९ मा निर्मल पुर्जाले संसारका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल छ महिना छ दिनभित्र आरोहण गरी विश्व कीर्तिमान कायम गरेसँगै विश्वभर चर्चामा आएका थिए। उनका हिमाल आरोहणसम्बन्धी अन्य धेरै कीर्तिमान पनि छन्।

हिमपहिराले उनीहरूलाई छ हजार मिटरभन्दा माथिबाट करिब ८०० मिटर तलसम्म बगाएको थियो। खराब मौसमका कारण घटनालगत्तै उद्धार गर्न कठिनाइ भएको थियो।

पुर्जाका व्यावसायिक सहकर्मीसमेत रहेका प्रतिनिधिसभा सदस्य मिङ्मा ग्याबु (डेभिड) शेर्पा शुक्रवार नै पाकिस्तानतर्फ प्रस्थान गरेका थिए।

मृत्यु भएका नेपाली आरोहीहरूमा पुरबहादुर गुरुङ गोरखाका हुन् भने किलीपेम्बा शेर्पा दोलखा, ग्यालु शेर्पा ओखलढुङ्गा, नवाङ थिन्डु शेर्पा र निमा शेर्पा सङ्खुवासभाका हुन्।

पुर्जाकै नेतृत्वमा नेपाली पर्वतारोहीहरूको टोलीले विश्वकै दोस्रो अग्लो हिमाल के–टु को इतिहासमै पहिलो सफल शीतकालीन आरोहण सम्पन्न गर्दै नेपालको पर्वतारोहण इतिहासमा स्वर्णिम अध्याय थपेको थियो।

नेपाली कांग्रेसले प्रेस विज्ञप्ति जारी गर्दै व्यवसायी, उद्धारकर्मी तथा सामाजिक अभियन्ताका रूपमा समेत पुर्जाले नेपालको पर्यटन प्रवर्द्धन, हिमाली समुदायको उत्थान, वातावरण संरक्षण तथा मानवीय सेवामा पुर्‍याएको योगदान अत्यन्त प्रशंसनीय रहेको उल्लेख गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “निर्मल पुर्जा कुनै एक व्यक्तिको मात्र नाम होइन, नेपालको साहस, आत्मविश्वास, अदम्य इच्छाशक्ति, अनुशासन, नेतृत्व क्षमता र राष्ट्रिय गौरवको सशक्त प्रतीक हुन्। असम्भव देखिने लक्ष्यलाई सम्भव बनाउने उहाँको दृढ सङ्कल्प र जोखिमपूर्ण परिस्थितिमा पनि मानव जीवनको संरक्षणलाई प्राथमिकता दिने उहाँको मानवीय दृष्टिकोणले उहाँलाई विश्व पर्वतारोहण समुदायमा विशिष्ट स्थान दिलाएको छ। उहाँले प्राप्त गर्नुभएको सफलता सम्पूर्ण नेपालीका लागि गर्व, प्रेरणा र राष्ट्रिय आत्मविश्वासको स्रोत बनेको छ।”

समाचार शेयर गर्नुहोस्
71
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.