कांग्रेसमा असन्तुष्ट समूहको खिर भोज, स्वाद लिनेमा शशाङ्क एक्लै

कांग्रेसमा असन्तुष्ट समूहको खिर भोज, स्वाद लिनेमा शशाङ्क एक्लै

245
SHARES

काठमाडौँ – नेपाली कांग्रेसको वर्तमान गगन थापा नेतृत्व स्वीकार गर्न दाँतबाट पसिना निकालेको समूहले चुनदेवीमा खिर भोज आयोजना गरेको छ।

साउन १५ को भोलिपल्ट भाडामा लिएको भवनमा चारतारे झन्डा फहराउँदै असन्तुष्ट समूहले खिर खानुअघि संस्थापन पक्षलाई पार्टी फुटाउनेसम्मको धम्की दिएको छ।

बिपी पुत्र शशाङ्क कोइरालाको संयोजकत्वमा ५ सय ५१ सदस्यीय जम्बो मूल आयोजक समिति गठन गरिएको छ। समितिको संयोजक कोइराला आफैँ रहेका छन्।

कांग्रेसको १५औँ महाधिवेशनको मिति पटक–पटक तोकिँदै सर्दै आएको छ। २०८२ मंसिरमा कार्यकाल सकिएको शेरबहादुर देउवा नेतृत्वको कांग्रेस विशेष महाधिवेशनपछि गगन थापाको नेतृत्वमा आएको हो।

निर्वाचन आयोग र सर्वोच्च अदालतले गगन नेतृत्वको कांग्रेसलाई आधिकारिक मान्यता दिएको छ। गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा गगन नेतृत्वको कांग्रेसबाट टिकट लिएर प्रतिस्पर्धा गरेकाहरूमाथि अहिले निहुँ खोजिरहेको आरोप लागेको छ।

पद गुमेकोमा छटपटाइरहेको आरोपसमेत उनीहरूमाथि लागेको छ। ढोकामा आएर साष्टाङ्ग दण्डवत् गर्ने झुन्ड गुमाउनु परेकोमा उनीहरू चिन्तित देखिएका छन्। नभएको जुँगा पनि मुसारिरहेका छन्।

चुनाव चिन्ह रुख र चारतारे झन्डा छोडेर जाने घुर्की लगाइरहेको समूहले रुख काट्ने बन्चरो शशाङ्क कोइरालाको हातमा थमाइदिएको टिप्पणी गरिएको छ। कोइरालाले पनि सम्झे जति सबैलाई निम्तो दिएका छन्।

चार महिना अघि मात्रै सम्पन्न चुनावमा मतदाताले तीन बल्ड्याङ गुल्टाइदिएका, बाँचेसम्म अरूलाई पदमा पुग्न नदिने र कन्जुसको उपाधि भिर्ने तरखरमा रहेकाहरूले अन्ततः चुनदेवीमा खिर खाने कार्यक्रम राखेर हिङ नभए पनि हिङ बाँधेको टालो प्रदर्शन गरेको टिप्पणी गरिएको छ।

रुख काट्ने बन्चरो लिएका शशाङ्क कोइरालाले खिर खाने कार्यक्रम सुनाएपछि मात्रै प्रश्न गरौँ भने। खिर खाएर मात्र बिदा हुन असन्तुष्ट समूहका नेता मीन विश्वकर्माले एनपी साउदको अनुरोध दोहोर्‍याए।

‘जहाँ गुलियो, त्यहाँ भुलियो’ भन्ने उखानसँग ठ्याक्कै मिल्ने गरी प्रश्न भने शशाङ्कले पाउन सकेनन्। कांग्रेस बिपीको विरासत बोकेको पार्टीका रूपमा परिचित छ। त्यसमाथि कोइराला विरासतको इतिहास पनि छ।

बिपी, गिरिजाप्रसाद र सुशील कोइरालापछि त्यो विरासत लिन शशाङ्क मात्रै होइन, शेखर र सुजाता पनि यसअघिदेखि नै कम्मर कसेर लागेका हुन्। पटक–पटक शशाङ्क, शेखर र सुजाताको संयुक्त तस्बिर सार्वजनिक गर्दै कोइराला परिवार एकै ठाउँमा रहेको सन्देश प्रवाह हुँदै आएको छ।

तर, देउवा पक्षका पनि संस्थापनमा पद नपाएका नेताहरूको खिर भोजमा भने शशाङ्क एक्लै परे। शेखर र सुजाता खिर चाख्न गएनन्। शशाङ्क आफैँले उनीहरू खिरको स्वाद लिन नआउनुको कारण खुलाउँदै शेखरको तर्फबाट क्षमासमेत मागे।

सत्ता र शक्तिका लागि मरिहत्ते गर्दा सिङ्गो नेपाली कांग्रेस गत फागुन २१ गतेको चुनावमा चिप्लिएको छ। तर, कांग्रेसका संस्थापकहरूले सत्ता र शक्ति सोचेका पनि थिएनन्। राजनीतिमा कांग्रेस नागरिक सेवा र मानव सेवाको जराबाट जन्मिएको थियो।

आज कांग्रेस नयाँ ठाउँमा पुगेको छ। संस्थापकहरूले देखाएको बाटो समात्ने प्रयास गरेको छ। खिर भोज आयोजना गर्ने असन्तुष्ट समूहलाई खुसी पार्न नसके पनि कांग्रेस नयाँ चरणमा उभिएको र नयाँ चुनौतीहरू देखिएको सभापति गगनकुमार थापाले बताएका छन्।

कांग्रेस केन्द्रीय सत्तामा अबको पाँच वर्ष पुग्ने कुनै सम्भावना नरहेको र प्रदेश सरकार गुमाउनुपर्ने पीडामा नेताहरू छटपटिएको विश्लेषण पनि गरिएको छ। मिलीजुली गठबन्धन नगरी कांग्रेस एक्लै जनतामाझ जाने अठोटका साथ उभिएको देखिएको छ।

पार्टीका पुराना भनिएका देउवा पक्षीय नेताहरू भने आपसमा विभाजनको बीउ रोपेर रुख काट्ने अभियानमा लागेको टिप्पणी गरिएको छ। सभापति गगन थापाले पनि देउवा शैलीकै बहुमतको घमन्ड नत्याग्ने र असन्तुष्ट पक्षले पनि घुर्की तथा धम्की दिइरहँदा कांग्रेसको नियमित १५औँ महाधिवेशन ओझेलमा परेको छ। परिणामतः नियमित महाधिवेशन अनिश्चित बनेको छ।

समाचार शेयर गर्नुहोस्
245
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.