गोठाटारमा भीषण आगलागी : १४ वटा व्यवसायिक सटरमा क्षति, एक जना घाइते

गोठाटारमा भीषण आगलागी : १४ वटा व्यवसायिक सटरमा क्षति, एक जना घाइते

219
SHARES

काठमाडौँ – काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५, गोठाटार पहेलोपुल नजिक रहेको काठको गोदाम तथा व्यवसायिक सटरहरूमा सोमबार राति भीषण आगलागी भएको छ। करेन्ट सर्टका कारण आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका–५, गोठाटार पहेलोपुल नजिक रबिन्द्र भट्टराईले सञ्चालन गरेको काठको गोदाम र सटरमा करेन्ट सर्ट भई आगलागी भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँ, भद्रकालीबाट प्रहरी उपरीक्षक दानबहादुर थापाको कमान्डमा १०० जना, विपद् व्यवस्थापन सामाखुसीबाट प्रहरी निरीक्षक हिरा थापा मगरको कमान्डमा २५ जना तथा काठमाडौँ जिल्ला सिनामंगलबाट नेपाल सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी निरीक्षक हेराम कुँवरको कमान्डमा ५० जना गरी जम्मा १७५ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो।

नेपाली सेना, प्रहरी, ९ वटा दमकल, ३ वटा पानी ट्याङ्कर तथा स्थानीय बासिन्दाको सहयोगमा राति अन्दाजी ११ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

आगो निभाउने क्रममा काठमाडौँ जिल्ला कागेश्वरी मनोहरा नगरपालिका–९, गोठाटार घर भई बस्ने ३७ वर्षीय नरेश थापा टहराको जस्ताबाट खस्दा घाइते भएका छन्। उनलाई उपचारका लागि नगर अस्पताल मुलपानी लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ। उनको शरीरमा बाहिरी चोट नदेखिएको, बोल्न सक्ने तथा अवस्था मध्यम रहेको प्रहरीले उल्लेख गरेको छ।

प्रहरीका अनुसार आगलागीबाट विभिन्न व्यवसाय सञ्चालनमा रहेका १४ वटा सटरमा क्षति पुगेको छ। क्षतिको विस्तृत विवरण मुचुल्का प्रक्रिया सम्पन्न भएपछि आउने प्रहरीले जनाएको छ।

आगलागीबाट क्षति पुगेका व्यवसायहरूमा ओम काष्ठ मिल उद्योग, रिकन्डिसन एन्ड हेल्मेट पसल, बासु फर्निचर पसल, घिसिङ अटो रिकन्डिसन, रङ पसल, प्रेम गौतम रिकन्डिसन, मोबाइल पसल, हार्डवेयर पसल, मिठाई पसल, चिया पसल, हिमेस गौतमको फर्निचर पसल, चटपटे एन्ड किराना पसल, कस्मेटिक पसल तथा स्टेशनरी पसल रहेका छन्।

घटनास्थल प्रहरी वृत्त बौद्धबाट करिब २.५ किलोमिटर पूर्वतर्फ पर्ने प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
219
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.