काठमाडौँ – नेपालको सबैभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेसले पहिलो पटक यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका लागि छुट्टै नीतिगत उपसमिति गठन गर्दै समावेशी राजनीतिक अभ्यासतर्फ ऐतिहासिक कदम चालेको छ।
कांग्रेसले ‘यौनिक तथा लैङ्गिक अल्पसंख्यक नीति तथा कार्ययोजना उपसमिति’ गठन गरेको जनाएको छ। नेपाली कांग्रेसका उपसभापति एवं नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले उक्त उपसमितिको संयोजकमा प्रतीक्षा चापागाईँलाई तोक्ने निर्णय गरेको हो।
उनी नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानकी सदस्य हुन्। उनकै संयोजकत्वमा उपसमिति गठन भएको कांग्रेसले जनाएको छ।
कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकले यौनिक तथा लैङ्गिक अल्पसंख्यक नीति तथा कार्ययोजना उपसमितिसहित थप ६ वटा उपसमिति गठन तथा तिनका संयोजकको जिम्मेवारी पनि तय गरेको छ।
नेपाली कांग्रेसको नीतिगत संरचनाअन्तर्गत विभिन्न विषयगत उपसमितिहरू गठन गरिएकामध्ये यौनिक तथा लैङ्गिक अल्पसंख्यक नीति तथा कार्ययोजना उपसमिति गठन हुनु र त्यसको संयोजकमा प्रतीक्षा चापागाईँलाई नियुक्त गर्नु समावेशी राजनीतिक अभ्यासको महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यस निर्णयले राष्ट्रिय नीतिगत बहसभित्र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको आवाज, अधिकार र जीवनका वास्तविक भोगाइलाई संस्थागत गर्ने आधार तयार गरेको टिप्पणी गरिएको छ। साथै, उच्च राजनीतिक तहमा समावेशीकरण, समानता र न्यायप्रतिको प्रतिबद्धतालाई पनि यसले प्रतिबिम्बित गरेको जनाइएको छ।
मायाको पहिचान नेपाल र नेशनल फेडेरेसन अफ जीएसएम नेपालले संयुक्त रूपमा यस निर्णयको स्वागत गर्दै नेतृत्वप्रति आभार व्यक्त गरेका छन्। उनीहरूले यो केवल नेतृत्वको नियुक्ति नभई यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको आवाजलाई राष्ट्रिय नीतिगत संरचनाभित्र संस्थागत गर्ने ऐतिहासिक तथा प्रगतिशील कदम भएको बताएका छन्।
दुवै संस्थाले यस पहलले समावेशी नीति निर्माण, अधिकारका पक्षमा पैरवी सशक्त बनाउन तथा कोही पनि पछाडि नछुट्ने सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। साथै, नेपालभरका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको मर्यादा, अधिकार र राजनीतिक सहभागिता थप सुदृढ बनाउन कांग्रेससँग अर्थपूर्ण सहकार्य र प्रभावकारी नतिजाको अपेक्षा पनि गरेका छन्।
पहिलो संविधानसभा सदस्य सुनिल बाबु पन्तले नेपाली कांग्रेसले एक दृष्टिविहीन समलिङ्गी महिलालाई उनको योग्यता र क्षमताका आधारमा महत्त्वपूर्ण जिम्मेवारी दिएको विषयलाई सराहनीय बताएका छन्।
उनका अनुसार यो केवल देखावटी (टोकनिस्टिक) समावेशीकरण नभई वास्तविक अर्थमा योग्यता, क्षमता र समान अवसरलाई सम्मान गर्ने अभ्यास हो। उनले अन्य राजनीतिक दलहरूले पनि यस उदाहरणबाट सिक्दै लैङ्गिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति तथा अन्य सीमान्तकृत समुदायका सदस्यलाई उनीहरूको योग्यता र क्षमताका आधारमा नेतृत्व तथा निर्णय प्रक्रियामा स्थान दिन पहल गर्नुपर्ने बताएका छन्। उनका अनुसार यही नै समावेशी लोकतन्त्रको सही अभ्यास हो।
यसै बैठकले अन्य उपसमितिहरूको संयोजकसमेत तोकेको छ। अन्तर्राष्ट्रिय सम्बन्ध, समन्वय एवं सामयिक दृष्टि उपसमितिको संयोजकमा सुमित शर्मा ‘समीर’, उपभोक्ता अधिकार, अवस्था र न्याय समन्वय उपसमितिको संयोजकमा कैलाश के.सी., ज्येष्ठ नागरिक सेवा एवं गरिमा उत्थान उपसमितिको संयोजकमा अनुपा श्रेष्ठ, सिमान्तीकृत वर्ग र समुदाय संवाद तथा सशक्तीकरण उपसमितिको संयोजकमा नरेन्द्र पासवान तथा स्थानीय तह सुशासन अध्ययन, अनुगमन तथा नीतिगत सुधार उपसमितिको संयोजकमा डोलराज भुसाललाई जिम्मेवारी दिइएको छ।
प्रतिष्ठान प्रमुखले पार्टी सभापतिसँगको परामर्शमा हालसम्म गठन भएका उपसमितिहरूलाई आवश्यक सहजीकरण गर्न पार्टी केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यलाई समेत जिम्मेवारी प्रदान गरिएको छ।
नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गत हालसम्म ३१ वटा उपसमिति गठन भइसकेका छन्। यसमध्ये पहिलो पटक यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका लागि छुट्टै नीतिगत उपसमिति गठन हुनु नेपाली राजनीतिक इतिहासमा समावेशी प्रतिनिधित्व र नीतिगत सहभागिताका दृष्टिले महत्त्वपूर्ण निर्णयका रूपमा हेरिएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.