कालीकोट – कालीकोटको पलाँता गाउँपालिका–९ थिर्पुस्थित पलाँता अस्पतालमा डाक्टर र नर्समाथि हातपात भएको छ। अस्पतालका मेडिकल अफिसर डा. अली हैदर रैन र स्टाफ नर्स शान्ता गिरीमाथि शुक्रवार दिउँसो अस्पताल परिसरमै कुटपिट भएको हो।
डा. अलीका अनुसार शुक्रवार दिउँसो करिब १:५० बजे अस्पतालमा इन्टरनेट चलाउन आएका स्थानीयहरूले आफूहरूमाथि हातपात गरे।
अस्पतालका प्रशासन प्रमुख सिनियर अहेब अधिकृत जन्म ऋषि न्यौपानेका अनुसार स्थानीय मैना बम, उनका दुई छोरा र अन्य स्थानीयले अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका हुन्।
न्यौपानेका अनुसार मैना बमका १४ र १५ वर्षका दुई छोरा अस्पतालको ओपिडी अगाडि बसेर मोबाइलमा भिडियो गेम खेलिरहेका थिए। अस्पताल नजिकै घर भएकाले उनीहरू यसअघि पनि वाइफाइ चलाउन नियमित अस्पताल आउने गरेका थिए।
शुक्रवार डा. अली र नर्स गिरीले उनीहरूलाई अस्पतालबाहिर गएर मोबाइल चलाउन आग्रह गरेका थिए। त्यस क्रममा उनीहरूले ‘यहीँ बसेर चलाउँछौँ, कसले के गर्छ?’ भन्दै विवाद गरेका थिए।
त्यसपछि सुरक्षा गार्डले उनीहरूलाई अस्पताल परिसरबाट बाहिर निकाल्न खोज्दा उनीहरूसहित आमा मैना बम र अन्यले आफूहरूमाथि आक्रमण गरेको डा. अलीले बताए।
डा. अलीले वाइफाइ चलाउने बहानामा आफूहरूमाथि नियोजित रूपमा आक्रमण गरिएको आरोप लगाएका छन्। स्थानीयले अस्पतालका कर्मचारीहरूलाई विभिन्न तरिकाले सताउने गरेको गुनासो अस्पताल प्रशासन प्रमुख न्यौपानेको छ।
अस्पतालभित्रै गाईबस्तु छाडिदिने र केही भने अस्पताल बाहिर निस्किनै दिँदैनौ, बाटो नै हिँड्न दिँदैनौँ भन्दै थर्काउने समेत गरेको उनले बताए।
यसअघि डा. अली मैना बमकै घरमा डेरा लिएर बस्दै आएका थिए। तर पछि अस्पतालमै आवासको व्यवस्था भएपछि उनी करिब १५ दिनअघि मात्रै अस्पतालभित्र बस्न थालेका थिए। महोत्तरी घर भएका डा. अली करिब १६ महिनादेखि करार सेवामा उक्त अस्पतालमा कार्यरत छन्।
अस्पताल प्रशासनका अनुसार अस्पतालबाहिरबाटै वाइफाइको सिग्नल टिप्ने भएकाले इन्टरनेट चलाउन अस्पतालभित्रै आउन आवश्यक छैन। दुर्गम क्षेत्र भएकाले सबैको इन्टरनेटमा पहुँच नभएको भन्दै अस्पतालले कसैलाई इन्टरनेट नचलाउन भनेको भने नरहेको न्यौपानेले स्पष्ट पारे।
‘हामीले इन्टरनेट नचलाऊ कसैलाई भनेका छैनौँ,’ उनले भने, ‘इन्टरनेट चलाउने बहानामा आएर उल्टै स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नु दुःखद कुरा हो।’
कुटपिटबाट स्टाफ नर्स गिरीको पिठ्युँ, निधार र अनुहारमा चोट लागेको तथा डा. अलीको आँखाको डिलमा चोट लागेको अस्पताल प्रशासनले जनाएको छ।
घटनामा संलग्नमाथि कारबाहीको माग गर्दै डा. अलीले इलाका प्रहरी कार्यालय थिर्पुमा निवेदन दिएका छन्।
डाक्टर र नर्स माथि आक्रमण भएपछि पलाँता गाउँपालिकाका प्रथम अध्यक्ष लक्ष्मणबहादुर बमले १२ बर्षे बच्चाले साँच्चै डक्टरलाई कुटेकै हो त भन्दै सामाजिक सञ्जालमा प्रश्न गरेका छन्? उनले लेखेका छन् ‘पलाँता अस्पतालमा खास के हो बुझ्न सकिएन गलत कसले गर्यो कारबाही होस् पलाँताको बदनाम कसैले नगरोस् अस्पताल सेवा दिने ठाउँ हो डनगिरि गर्ने ठाउँ हैन कसैलाई मनपरी गर्न मैले बनाइदिएको हैन।’
साथै अध्यक्ष बमले आक्रमण गर्ने जोसुकै भए पनि उनीहरूलाई कारबाही गरिनुपर्ने बताएका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.